धादिङ - तीनतले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखेजस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा लहरै मिलाएर काठको बक्साभरी मौरीका घार राखिएका छन् ।
नेपाली सेनाको जागिरबाट अवकाश लिएर घर फर्किएका घिमिरेले अहिले मौरी पालेर मनग्य आम्दानी लिन थालेका छन् । १५ वर्ष यता मौरीपालनलाई नै मुख्या पेसा बनाउँदै आएको नारायण बताउँछन् । ‘थोरै लगानी र कम मेहनतमा धेरै फाइदा लिँदै आइरहेको छु,’ नारायणले भने, ‘आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको छ ।’ उनले वर्षाैदेखि सदरमुकाम धादिङबेसीस्थित शान्तबजारको आफ्नै घरमा यसरी नै मौरी पाल्दै आएका छन् ।
तीनतले पक्की घरको हरेक बरण्डा र छतमा एक सय ५० मौरीका घार छन् । उनले वर्षौ अघिदेखि सदरमुकाम धादिङबेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन् । सुरुमा ५, ६ वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घरभरी नै छपक्कै मौरीका घार राखेका छन् । उनले नारायणसँग हाल एक सय १० वटा आधुनिक घार छन् । एक मानो मह ६ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताइन् । मासिक दुई लाख रुपैयाँ बराबरको मह बिक्री हुने गरेको उनले बताए ।
मौरीपालन सुरु गर्छु भन्ने किसानलाई घारै समेत बेच्ने गरेका छन् । ‘मह बिक्रीबाट भएको आम्दानीले दुई छोरा र दुई छोरीको पढाइ खर्च र परिवारको खर्च धानेको छ । ‘मह बक्रीका लागि लागि कनै समस्या छैन,’ नारायणले भने, ‘मह बेच्न कतै जानु पर्दैन, किन्ने मान्छे घरमै आउँछन् ।’ ग्राहकले मह किन्न पहिले नै अर्डर गरेर घरमै लिन आउछन् । खेर जाने फूलको रसको सदुपयोग गर्न, वरिपरिका बोटबिरुवामा परागसेसन गराएर राम्रो र रसिलो फल फलाउन सकिने भएकाले यस्तो पेसा रोजेको उनले बताए।
पैसा कमाउन कि त जागिर नै खानुपर्छ कि ठूलै लगानी देखाउनुपर्छ नत्र विदेशिनु पर्छ भन्ने कुरालाई चिर्दै नारायण घिमिरे उदाहरणीय मौरीपालक बनेका छन् । सुरुमा मौरीपालन सम्बन्धी तालिम र कार्यक्रममा सहभागी भएका थिए । त्यसले आफूलाई मौरीपालन गर्ने ऊर्जा थपिएको उनले बताए । नारायणसँगै उनका श्रीमती अम्बिका घिमिरेले पनि मौरीपालन व्यवसायमा साथ दिएकी छन् । घरभरी रहेका मौरीका घार हेर्न भनेर मानिसहरु झुम्मिने गरेकोे अम्बिका बताउँछिन् । अहिलेका मानिस यस्तो पेसा गर्न रुचाउँदैनन्,’ अम्बिकाले भनिन्, ‘स्वदेशमै सुन फल्छ ।’
युवालाई विदेश जानुभन्दा स्वदेशमै यस्तो व्यवसायबाट आयआर्जन गर्न उनी सुझाव दिन्छिन् । जिल्ला कृषि विकास कार्यालय धादिङले प्रदान गरेको युवा लक्षित अनुदान कार्यक्रमले पनि थप हौसला प्रदान गरेको अम्बिका बताउँछिन् । मौरीबाट निर्माण भएको महबाट बढी पोषण तत्व पाइने भएपछि मानिसले चोटपटक लागेर कमजोर भएका बेला मह खाने गर्छन् ।
ज्वालामुखी गाउँपालिकाको चैनपुरकी तेजकुमारीले आफ्नै घरको कौसीमा मौरी पालेकी छन् । विद्यालयको कार्यालय सहयोगीको जागिर गर्दै आएकी तेजकुमारीले जागिर छाडेर कौसीमा आधुनिक घारमा मौरीपालन सुरु गरेकी हुन् । श्रीमानको सहयोगमा सुरु गरेको यो व्यवसाय अहिले उनी आफैंले सम्हाली रहेकी छन् । ‘विदेशमा खर्चने श्रमले स्वदेशमा नै सुन फल्छ,’ तेजकुमारीले भनिन्, ‘थोरै लगानी र कम मेहनतमा पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’ तीन वर्षअघि दुई लाख लगानीमा सुरु भएको मौरीपालनबाट उनले वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन् । उनी प्रतिमाना महको ६ सय, मौरीघारको ६ हजार पाँच सयदेखि आठ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेकी छन् ।
नारायण र तेजकुमारी त उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्ता मौरीपालक कृषक धेरै छन् । धादिङको नलाङ, जोगिमारा, नौबिसे, मैदी, ढोला, नीलकण्ठ जस्ता गाउँ विकास समितिका किसानले मौरीपालनबाट प्रशस्त लाभ लिइरहेका छन् । सुरुमा आफैंले मौरीपालन सुरु गरेको भएपनि कृषि कार्यालयले पछि भनेको बेलामा घार उपलब्ध गराएर, युवालक्षित अनुदान दिएर सहयोग गर्दै आइरहेको छ । बेलाबेलामा तालिम तथा कार्यक्रममा सहभागी भएर पनि मौरीको हेरचाहबारे राम्रो जानकारी पाएको किसान बताउँछन् ।
धादिङमा खासगरी एपिबी र सेरेना जातको मौरीपालन गर्ने गरिन्छ । कृषि कार्यालयले किसानको आवश्यकतालाई मध्यनजर गर्दै न्युटन बी मौरीको घार वितरण गरिरहेको छ । कृषि विकास कार्यालय धादिङले आर्थिक वर्ष ०५४- ७५देखि जिल्लामा पहिलो पटक २५ वटा उन्नत जातको मौरीको घार वितरण गरी आधुनिक तरिकाले मौरीपालन सुरु गरेको थियो । अहिले किसानले सोचेभन्दा राम्रो आम्दानी गर्न थालेपछि उन्नत जातको घारको माग बढेको कार्यालयले जनाएको छ ।
प्रकाशित: ४ फाल्गुन २०७४ ०१:५६ शुक्रबार