२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनकाे क्षमता १ हजार मेगावाट पुर्‍याउन जेटिटिमार्फत अध्ययन

फाइल तस्बिर

नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले  ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको क्षमता वृद्धि गर्नका लागि अध्ययन गर्ने सहमति भएको छ।

समितिको चितवनको मेघौसीमा बसेको  बैठकले अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पु¥याउने सम्बन्धमा जेटिटि मार्फत अध्ययन गराउने  सहमति भएको छ। बैठकमा  ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतको ऊर्जा सचिव पंकज अग्रवालको उपस्थितिमा सो बैठक भएको थियो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता नविन राज सिंहले दुवै मुलुकको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले ८ बुँदे सहमति गरेको बताए।

उनले बैठकले ढल्केबर मुजफ्फरपुर र एसजेभिएन अरुण तेस्रो डेभलपमेन्ट कम्पनी लिमिटेड द्वारा निर्माण भइरहेको ढल्केवर–सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट आदानप्रदान गर्न सकिने विद्युतको क्षमता निर्धारण सम्बन्धमा जेटिटि मार्फत अध्ययन गराउने निर्णय भएको छ।

त्यसैगरी टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भाव्य विकल्पहरूबारे जेटिटि मार्फत अध्ययन गराउने  निर्णय भएको छ। बैठकले १३२ किलोभोल्ट तथा सो भन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको छिमेकी राज्यहरूको प्रसारण प्रणाली उपयोग गरी दुई देशबिच विद्युत आयात–निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरण र भारतका अन्य निकायहरुको समन्वयमा तयार गरेको विद्युत आयात(निर्यात गर्ने सम्बन्धी विधि प्रक्रिया स्वीकृत गरियो।

नेपाल–भारत बीच इनरवा – पुर्निया र न्यू लुम्की –दोदोधरा बरेली ४०० किलोभोल्ट क्षमताका थप दुई वटा अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण कार्य क्रमशः सन् २०२७–२८ र २०२८-२९ सम्ममा सम्पन्न गर्न लगानीको मोडालिटी टुङ्ग्याउन जेडब्लुजीलाई निर्देशन दिएको छ।  बैठकले भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको विद्युत आयात–निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षहरूमा छलफल भएको थियो। त्यसैगरी बैठकमा नेपाल र भारतबिच विद्युत आयात–निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनहरूको अध्ययन गर्न जेटिटि लाई निर्देशन दिएको छ। बैठकले नेपालबाट भारतको डे अहेड मार्केटमा विद्युत निर्यात भइरहेकोमा आगामी दिनमा टर्म अहेड मार्केट तथा ग्रिन डे अहेड मार्केटमा विद्युत निर्यात गर्न क्रमशः स्वीकृत दिने निर्णय भएको छ।

प्रकाशित: २२ पुस २०८० ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App