२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक

यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।  

सिस्नोको पाउडर, जंगली बाँकोको गुन्द्रुक, भाँगो, सिल्टिमुर, आलु, मुलाको धजरा, मकैको आँटो, नेपाली कागज, अल्लोका कपडा, आलुलगायतका स्थानीय उत्पादन राखिएका प्रदर्शनी कक्षमा अवलोकनकर्ताको भीड लागेको छ। आयोजक बागलुङ उद्योग वाणिज्य संघले स्थानीय उत्पादनका लागि प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराएको छ।

महोत्सवमा आउने अधिकांशका लागि विशेषगरी सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक रोजाइमा परेको छ। यस्ता प्रदर्शनी कक्षमा पुग्ने अधिकांशले एकदुई पोका सिस्नोको पाउडर र गुन्द्रुक किनेर लैजाने गरेको देखिन्छ। स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव सुरु हुनुपूर्व नै संघले जिल्लाका १० वटै पालिकामा उत्पादन हुने स्थानीय वस्तु ल्याउन भनेको थियो। सोहीअनुसार ताराखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकालगायतका स्थानबाट स्थानीय उत्पादन ल्याइएको थियो।  

गाउँमा वर्षौंदेखि महिलाले सिस्नोको पाउडर, गुन्द्रुक, अचारलगायतका सामग्री उत्पादन गरे पनि प्रचार–प्रसार र बजारीकरण हुन नसकेको भन्दै महोत्सवमार्फत यसको प्रवद्र्धनमा सहयोग पुगेको ताराखोला गाउँपालिका ५ की निरु घर्तीका भनाइ छ। ताराखोलामा धेरै समय अघिदेखि ‘सहनशीला सिस्नो पाउडर उत्पादन लघुउद्यमी समूह’ ले सिस्नोको पाउडर उत्पादन गर्दै आएको थियो। तर समूहले उत्पादन गरेको सिस्नोको पाउडरको बजारीकरणमा समस्या देखिएको थियो। महोत्सवमा प्रदर्शन गरेपछि यसको माग बढेको उनले सुनाए।

‘महोत्सवमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसारमा सहयोग पुगेको छ। बजारीकरणमा पनि सहज हुने अपेक्षा गरेका छौँ‘, घर्तीले भने, ‘पहिले प्रचारप्रसार पुगेको थिएन। आगामी दिनमा माग बढ्ने र गाउँबाटै बिक्री बढ्ने आशा गरेका छौँ।‘  

बडिगाड गाउँपालिका १ की बिनु सलामीले महोत्सवले स्थानीय उत्पादनको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। प्रदर्शनी कक्षसमेत निःशुल्क पाएपछि व्यापार गर्न र उत्पादन बारेमा धेरैलाई जानकारी दिन सहज भएको उनको भनाइ छ।  

महोत्सवमा आएका धेरैले बाँसबाट बनेको काँगियो, खुर्पेटो, कोदोको पिठो, बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, सिमी र भाँगो बढी किनेर लैजाने गरेको सलामी बताउँछन्। महोत्सवले गाउँमा उद्यम गरेर अर्गानिक उत्पादन गर्ने उद्यमी उत्साहित बनाएको उनको भनाइ छ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकता दिएको बताए। अधिकांश स्थानीय उत्पादन नै प्रयोग गरेको भन्दै प्रदर्शन कक्षमा धेरै प्रकारका सामान राखिएको उनको भनाइ छ। जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई विश्वभर चिनाउन आवश्यक रहेको भन्दै यसबेला धेरै प्रचार भएको अध्यक्ष कँडेल बताउँछन्। कला, संस्कृति र स्थानीय उत्पादन नै महोत्सवको मुख्य आकर्षण हुने गरी व्यवस्थापन गरिएको उनले बताए।  

अध्यक्ष कँडेलले भने, ‘बागलुङ छुट्टै पहिचान बोकेको जिल्ला हो, पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएका छन्, यसलाई संरक्षण गर्न, व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय उत्पादनलाई बजारीकरणका लागि बढी ध्यान दिएका छौँ, महोत्सव अवधिमा राम्रो प्रचार भएको र व्यापार भएको बुझेका छौँ।‘ महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। –रासस

प्रकाशित: २१ पुस २०८० १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App