१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग । बालकुमारी गोलीकाण्डका दोषीलाई कारबाहीको माग गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंगलबार विभागअगाडि प्रदर्शन गरेको थियो । तस्बिरः राजिव खत्री-नागरिक

स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब तीन लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

यसरी बिदेसिएको जनशक्तिमा १ लाख ९५ हजार ४६५ दक्ष, ५७ हजार ६८९ अदक्ष र २३ हजार ६८३ अर्धदक्ष छ। यसै अवधिमा उच्च दक्षता भएका २३८ र व्यावसायिक कामका लागि ५१७ युवा वैदेशिक रोजगारीमा गएका छन्।  

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने युवा जनशक्तिमा अधिकत्तर दक्ष छ।  

मुलुकमा अवसर नपाएपछि सुन्दर भविष्यको सपना बोकेर युवा जनशक्ति बिदेसिने क्रम जारी छ। वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली महिलामध्ये अधिकत्तर खाडी मुलुक जाने गरेको विभागका अधिकारी बताउँछन्।

गत मंसिरमा ७१ हजार २७६ युवा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिएका छन्। रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी दैनिक औसत २५ सयभन्दा बढी युवा बिदेसिएका छन्।

वैदेशिक रोजगारीलाई नियमन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको विकल्प खोजिने बताउँदै आए पनि त्यस्तो हुन सकेको छैन। श्रम मन्त्रालयले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमै युवालाई रोजगारीको अवसर निर्माण गरिने बताए पनि तत्काल यो सम्भव नरहेको श्रमविज्ञ बताउँछन्।

पुनर्निर्माणलगायत क्षेत्रमा युवा परिचालन गर्न नसक्दा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा सरकार चुकेको श्रम तथा आप्रवासनविज्ञ गणेश गुरुङ बताउँछन्। ‘भारत र बंलादेशका युवाले नेपालमा आएर काम गरेर आफ्नो देशमा पैसा लैजान्छन्। त्यस्तो हुनु देशलाई घाटा हो। नेपालको पैसा अन्य देशमा गएको छ। तर सरकारको यस विषयप्रति ध्यानाकर्षण पनि भएको छैन,’ उनले भने, ‘यति धेरै दक्ष जनशाक्ति बाहिरिँदा पनि उनीहरूलाई रोक्नेतर्फ सरकारले ध्यान दिएको छैन। सरकार दक्ष युवालाई स्वदेशमै अवसर दिनुको साटो बिदेसिएकाको संख्या लेखाजोखा मात्र गर्छ।’

सरकारले वैदेशिक रोजगारीको विकल्पका रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याए पनि त्यो प्रभावकारी बन्न सकेको छैनन्। विदेश जाने युवाको संख्या निरन्तर बढ्नुले यो कार्यक्रम फलदायी नभएको पुष्टि हुन्छ। ‘युवा स्वदेशका काम नपाएपछि बिदेसिन बाध्य भएका हुन्। दक्ष कामदार बिदेसिँदा मुलुकलाई घाटा हुन्छ,’ गुरुङले भने, ‘स्वदेशमा काम गर्दा पेट पाल्न गाह्रो हुन्छ, विदेशमा गएर काम गर्ने युवाले पूरै परिवार धानेर पनि पैसा बचत गर्छन्।’  

सरकारले श्रम बजारको आवश्यकता अनुकूल आवश्यक सिप विकास तालिम कार्यक्रम सञ्चालन गर्ने, रोजगारी सिर्जना र निर्यातजन्य उद्योग स्थापनालाई उत्प्रेरित गर्ने, सूचना प्रणालीको माध्यमबाट रोजगारीमा पहुँच सुदृढ गर्ने, स्वरोजगार तथा आयआर्जनका काम गर्न स्रोत उपलब्ध गराउने र वेदेशि रोजगारीबाट फर्किएका युवालाई पुरस्कार र सम्मान दिएर स्वदेशमै उद्यमी बनाउने भन्दै आए पनि तत्काल युवा जनशक्ति बिदेसिनबाट रोकिने अवस्था नभएको गुरुङ बताउँछन्।  

‘रोजगारीको खोजीमा बिदेसिने दक्ष युवालाई रोक्न सरकारले अहिलेसम्म कुनै योजना बनाउन सफल भएको छैन,’ उनले भने, ‘सरकारले दक्ष कामदारलाई त रोक्न सकेको छैन्, भने अदक्ष युवालाई झन् कसरी रोक्न सकोस्।’

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार प्रत्येक घरधुरीका दक्ष कामदार वैदेशिक रोजगारीमा जानु राम्रो हो।

‘स्वदेशमा भन्दा बढी आम्दानी विदेशमा हुन्छ। त्यसै भएर युवा दिनप्रतिदिन कामका लागि विदेश जाने गरेका हुन्। जहाँ सेवासुविधा हुन्छ, त्यहाँ जोकोही पनि जानु स्वाभाभिकै हो। अहिले बिदेसिने जनशक्तिमा शिक्षित युवा बढी छन्,’ उनले भने। आर्थिक वर्ष २०७९-८० मा ७ लाख ७१ हजार ३२७ जना युवा विभागबाट श्रम स्वीकृति लिएर रोजगारीको खोजीमा बाहिरिएका छन्। जसमध्ये ५ लाख ६ हजार ७४६ दक्ष, २ लाख २ हजार ६१६ अदक्ष र ६० हजार ५५५ जना अर्धदक्ष रहेको विभागको तथ्यांक छ।

प्रकाशित: १८ पुस २०८० ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App