२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्ष: जम्मा सातवटा उडान, नियमित उडानको अझै टुंगो छैन

एकवर्षमा २१५ जना यात्रु पोखरा आए, ८१ जना बाहिरिए

आन्तरिक उडानतर्फ भने सुधार

गत असार पहिलो साता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिचुआन एयरलाइन्सको जहाज। फाइल तस्बिरः उमेश पुन/नागरिक

–असार ६ गते चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। विमानस्थल संचालनमा आएपछिको यात्रु सहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण (डेमो उडानबाहेक) सिचुआनको थियो।  

फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागि हुन आउने ८४ जना चिनियाँ पाहुनालाई लिएर सिचुआनको जहाज पोखरा ओर्लिएको थियो। फर्किने बेला भने काठमाडौं हुँदै गएको जहाजमा पोखराबाट उड्ने कोहि थिएनन्।

–भदौ २२ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण ग¥यो। सिचुआनपछिको दोश्रो अन्तर्राष्ट्रिय अवतरण ड्रुकको थियो। ड्रुकले पोखरा आउँदा ३ जना यात्रु ल्याएको थियो भने फर्किँदा ४२ विदेशी यात्रु लिएर उड्यो। संख्यात्मक रुपमा कम भएपनि दोहोरो उडानमै यात्रु थिए। ड्रुकको अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको छ।  

– कात्तिक २२ मा जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज पोखरा ओर्लिए। त्यस्तै मंसिर ७ मा चिनियाँ खेलाडीको टोली लिएर हिमालयन एयरलाइन्सको जहाज चीनबाट पोखरा आएको थियो। यो उडानमा खेलाडी र खेलप्राविधिक सहित ९५ जना थिए। तीबाहेक हिमालयन एयरलाइन्सले विमानस्थल संचालनको पहिलो दिन पनि डेमो उडान गरेको थियो।  

त्यस्तै हिमालयन एयरलाइन्सले नै कात्तिक २४ मा पोखरा आउँदा ३३ जना आन्तरिक यात्रु लिएर आएको थियो भने भोलिपल्ट ३९ जना आन्तरिक नै यात्रु लिएर फर्केको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजको सातवटा वटा मात्र उडान भएका छन्। विमानस्थलबाट एकवर्ष अवधिमा अन्तर्राष्ट्रियतर्फ २१५ जना यात्रु पोखरा ओर्लेका छन् भने ८१ जना फर्केका छन्। सबैगरि २ सय ९६ जना यात्रु आउजाउ गरेको प्राधिकरणले बताएको छ। एकवर्ष अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानको सूँची हो यो।

‘अंग्रेजी नयाँवर्ष २०२३’ को पहिलो दिन पारेर पोखराले पोहोर ‘उपहार’ स्वरुप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेश नै खुसी भएको थियो। विदेशी पाहुना सिधै पोखरा ओर्लिन पाउने र पोखराबाट उड्न पाउने भनेर पर्यटन क्षेत्र त झनै बढी आशावादी थियो।  

तर, अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एकवर्ष पुग्दा पर्यटन क्षेत्र र सिंगो गण्डकी प्रदेशले आशा गरे अनुरुप विमानस्थलबाट उचित लाभ लिन नसकेको गुनासो सर्वत्र छ। निकै नै आशा गरिएको अन्तर्राष्ट्रिय उडानतर्फ एकवर्ष अवधिमा जम्मा सातवटा (दुइ कार्गाे सहित) उडान भए। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि आन्तरिक उडानमा सुधार भएपनि अन्तर्राष्ट्रिय उडानतर्फ भने विमानस्थलले गति लिन सकेको छैन।  

‘हामीले एकवर्ष अवधिमा जम्मा सातवटा अन्तर्राष्ट्रिय जहाज मात्र पोखरामा अवतरण गर्लान भन्न् सोचेका थिएनौ। यो संख्या निकै नै ठूलो हुने अपेक्षा थियो। तर, कार्गाे सहित सातवटा उडानमा विमानस्थल सीमित भयो,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘दिनमा कम्तिमा पनि २–३ वटा अन्तर्राष्ट्रिय उडान हुनेमा हामी आशावादी थियौ। तर, एकवर्षसम्म ठूलो संख्यामा उडान हुनु त परैको कुरा नियमित अन्तर्राष्ट्रिय उडानको समेत टुंगो लागेन।’  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात भएपनि यो पर्याप्त नभएको उनले बताए। प्राधिकरणका अनुसार सातवटामध्ये पनि हिमालयको एउटा उडान डेमो थियो, जुन विमानस्थल उद्घाटनका दिन अवतरण गरेको थियो। त्यस्तै कात्तिक २४ गते आएर भोलिपल्ट फर्केको हिमालयनकै उडानमा आन्तरिक यात्रु मात्र थिए।  

‘यी जहाज पनि पोखरामा भएका विशेष इभेन्टका कारण आएका हुन्। नत्र दोहोरो यात्रु नै आउजाउ हुनेगरि अहिलेसम्म एउटा पनि उडान भएनन,’ श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि आन्तरिक उडानतर्फ प्रगति भएकै हो। तर, अन्तर्राष्ट्रियतर्फको गति निकै नै कमजोर रह्यो।’ पोखरामा भएको बोटरेस, साइकल दौड लगायतका खेलकुद प्रतियोगिताले गर्दा दुइवटा उडान भएको र बाँकी एउटा मात्र विदेशी पाहुना लैजानेगरि भुटानबाट आएको उनले बताए। आन्तरिक उडानतर्फ भने राती अबेरसम्म पोखरा–काठमाडौं रुटमा उडान भईरहेका छन् भने आन्तरिक उडानको संख्या पनि थपिएको छ। सिजनको बेला दिनकै चारहजार हाराहारीमा आन्तरिक यात्रु ओहोरदोहोर गरिरहेका छन्।  

‘नियमित उडानको अहिलेसम्म टुंगो नै लागेन, अझै पनि त्यस्तो संकेत देखिएको छैन,’ अध्यक्ष श्रेष्ठले भने। सरकारी ध्वजाबाहक नेपाल वायुसेवाको कुनै एउटा जहाजलाई पोखराबाटै सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडानका लागि सरकारले पहल गर्नेमा आफुहरु आशावादी भएपनि त्यो हुन नसकेको उनले बताए। ‘नेपाल एयरलाइन्सबाटै पोखरालाई जोड्नेगरि सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान सुरुवात होस भन्ने पोखरेलीको चाहना भएपनि त्यो हुन सकेन,’ उनले भने, ‘सरकारले कुटनीतिक रुपमा जुन  प्रयास र पहल गर्नुपर्ने थियो, त्यो भएन।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पोखरा ल्याउनका लागि पहल नपुगेको उनको ठहर छ। ‘हामीले एकवर्षमा यो रिजल्ट खोजेका होइनौ। धेरै उडान हुनेमा आशावादी थियौ, तर, आशा अनुरुप हुन सकेन। पूर्वाधार न तयार भए,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, आन्तरिकमा मात्र सीमित रहनुप¥यो। आन्तरिकमा सीमित हुनुभएन भन्ने हो।’

पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी पोखरामा आन्तरिक उडानका लागि ठूलो विमानस्थल आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलले त्यो पूरा गरेको बताए। तर, अन्तर्राष्ट्रिय उडाननर्फ भने सरकारी कदम कमजोर भएको त्रिपाठीले बताए। ‘आन्तरिक उडानतर्फको समस्या समाधान भएको छ। किनकी पूर्ण क्षमतामा आन्तरिक उडान संचालन भएका छन्। रात्रीकालिन उडानको लाभ पनि मिलेको छ। तर, अन्तर्राष्ट्रिय उडान गर्न नसक्नु सरकारी कमजोरी हो,’ उनले भने।  सरकारले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने हो भने जनताले साथ दिने उनले बताए। 

‘सरकारले अन्तर्राष्ट्रिय उडानको बाटो खोलिदिनुपर्छ। व्यावसाय दिएर उडान नियमित गर्न हामी साथ दिन्छौ,’ उनले भने। सरकार पर्यटन क्षेत्रप्रति गम्भिर नहुँदा समस्या रहेको उनले बताए। ‘उडान नियमित हुन व्यापार चाहिन्छ। अन्तर्राष्ट्रिय उडानले भारत, चीन, बंगलादेश र थाइल्याण्ड जोडे पुग्छ, धेरैतिर उड्नुपर्देन,’ उनले भने। 

चीनले पोखरामा उडान भर्न तयार भएपनि सरकारले सहजीकरण नगरेको उनले बताए। ‘पोखराबाट भारतीय सहरसम्म सिधा उडान गरौं भन्ने चाहना होला, तर, भारतले सुनेन भनेर पर्खिनुभएन,’ उनले भने। छिमेकी मुलुकसम्म सिधा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म पोखरा विमानस्थल सफल नहुने उनले बताए।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेन भनेर एकवर्षमै दुख मनाउ गर्न नहुने बताउँछन्। ‘अहिले नै विमानस्थल चलेन भनेर हतार नगरौं। दशवर्ष पनि चलेन भने बल्ल कुरा गरौंला,’ भूलले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म शिशु अवस्थामै छ। आम्दानी गर्न अझै केहीवर्ष लाग्छ।’ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भईरहेको उनले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने काम भईरहेको छ। तर, पोखराको बजार साँघुरो भएकोले केही समय लागेकै हो,’ उनले भने, ‘पर्यटकीय दृष्टिले पोखरा आफैमा पूर्ण प्याकेज बन्न सकेन। प्याकेजको एउटा भाग मात्र भयो, जसले गर्दा काठमाडौं नै हवाई उडानका लागि नियमित गन्तव्य रहिरह्यो।’ भैरहवाको गौतमबुद्धलाई धार्मिक र पोखरालाई पर्यटकीय दृष्टिले चल्ने अपेक्षा भएपनि त्यो अनुसार हुन नसकेको उनले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति अन्तर्राष्ट्रिय समूदायले हेरिरहेको छ। त्यसैले अहिले नै हतार गर्नुपर्दैन। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण आकारमा संचालन हुन पनि ७५ वर्ष लागेकै हो,’ भूले भने, ‘विमानस्थल पूर्ण क्षमतामा चलाउन सबै निकायबीच समन्वय आवश्यक पनि छ। विमानस्थल बनाउँदैमा प्राधिकरणले सबै जिम्मा लिने होईन। अरु सरकारी निकाय पनि उत्तिकै सक्रिय हुनुपर्छ।’

प्रकाशित: १५ पुस २०८० ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App