२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास

शिलान्यास गर्दै प्रदेशमन्त्री प्रकाश देउवा। तस्बिर: नागरिक

अन्तरजिल्ला र पालिका जोड्ने सडक जेनतेन बनेका छन्। बर्खामा बाहेक ती सडकमा गाडी पनि गुडिरहेकै हुन्छन्। जब पानी पर्न सुरु हुन्छ, बर्खा लाग्छ अनि सबै सडक पुरानै अवस्थामा आइपुग्छन्। अर्थात् सडक नै बन्द हुन्छन्। त्यो बन्द हुनुको प्रमुख कारण नदी वा खोलामा पुल नहुनु नै हो।

सडक निर्माण भएर पनि पुल नबनेसम्म अवस्था उही र उस्तै देखिने गरेको छ। त्रिवेणी नगरपालिका बुढीगंगा पारी पर्छ। वर्षका पाँच महिना सडक सञ्जालबाट सिंगो पालिका सम्पर्क विच्छेद हुन्छ। त्यो प्रमुख कारण बुढीगंगा र मालागाड नदीमा पुल नहुनु नै हो।

त्यस्तै समस्या मार्तडी थामलेक सडकअन्तर्गत पनि हो। मार्तडीदेखि खप्तड छेडेदह गाउँपालिका हुँदै बझाग जोडिन भौनेरा खोलामा अनिवार्य पुल आवश्यक छ, तर पुल निर्माण नभएकै कारण सडक सम्पर्क जोडिन पाएको छैन। प्रदेश गौरवको आयोजना मार्तडी सिंगडा दुईलेनको सडकका लागि पनि भौनेरामा पुल आवश्यक छ।

अब त्यो समस्या केही समयपछि हट्ने देखिन्छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीप्रकाश देउवाले पुल निर्माणको शिलान्यास गरेका छन्।

 त्रिवेणी नगरपालिका जोड्न मालागाड र खप्तड छेडेदह गाउँपालिका, बडीमालिका नगरपालिकाको १ र २ नम्बर वडा र सिंगो अन्तरजिल्ला बझाग जोड्निे गरी भौनेरामा पुल निर्माणको थालनी गरिएको छ।

मन्त्री देउवा बाजुरा पुगेरै दुईवटै पुलको शिलान्यास गरेका छन्। यी पुलको शिलान्यासलाई महत्वका साथ हेरिएको छ। बाजुरावासीले वर्षौंदेखि पुलको माग गर्दै आएका थिए। सबै दलका नेता आआफ्नो दलको सरकार हुँदा पुल निर्माणकै लागि पहलमा थिए।

यीसँगै बाउली, अनाइ, दानसाँघु, कर्णाली र बुढीगंगाको पुल निर्माण पनि बाजुरालाई सडकसँग जोडिराख्न नभइनहुने पुल हुुन्। ती पुलको पनि निर्माण प्रक्रिया अघि बढिसकेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन्।

प्रदेश मन्त्रालयको  सहयोगमा त्रिवेणी नगरपालिका वडा नं ८ र ४ जोड्ने मालागाड  र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेरा खोलामा पुल निर्माणको शिलान्यास एकै दिन गरिएपछि बाजुरावासी उत्साहित देखिएका छन्।

दुईवटै पुल निर्माण अवधि दुई वर्ष दिइएको छ भने निर्माण कार्यको जिम्मेवारी एमके विल्डर्स कन्स्ट्रक्सनले पाएको छ। मन्त्रालयले कन्स्ट्रक्सनसँग मालागाड खोलाको पुलका लागि नौ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ।

दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी मन्त्रालयसँग सम्झौता गरेर शिलान्यास कार्यसमेत गरिसकिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिएका छन्।

पुलको शिलान्यास गर्दै भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश देउवाले समयसीमाभित्रै निर्माण गरिनुपर्ने र गुणस्तरमा कुनै सम्झौता नगरिने बताएका छन्। मन्त्रालयबाट कुनै वाधा–अड्चन हुने छैन, जनताले सेवा पाउने समय लम्बिने कुनै बाहना हामीलाई चाहिएको छैन, त्यसैले काम समयमै बन्नुपर्छ र गुणस्तरीय हुनुपर्छ, मन्त्री देउवाले भने।

पूर्वाधार विकासका कामलाई दुर्गमका गाउँमा प्राथमिकता दिन प्रदेश सरकार प्रतिबद्ध रहेकाले कामप्रतिको जिम्मेवारी र अपनत्व पनि स्थानीयको हुनुपर्ने धारणा मन्त्री देउवाले राखेका हुन्।

शिलान्यास कार्यक्रम बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको हो।

कार्यक्रममा काँग्रेस नेता मानबहादुर रावल, प्रदेशसभा सदस्य मेघराज खड्का, बडीमालिका २ का वडाध्यक्ष डम्बर महत, भौतिक पूर्वाधार विकास कार्यालय अछामका नायब सुब्बा यज्ञराज भट्टसहित सहभागी थिए। शिलान्यासको कामसँगै बाजुरावासीले पुल निर्माण हुने आशा गरेका छन्। निर्माण कम्पनीको लापरबाही हुनेमा भने यसअघिको काम देखेर अधिकांशको आशंका नै छ।

प्रकाशित: १४ पुस २०८० ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App