१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

काठमाडौं(रासस)– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण सेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कुल पुँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दाले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ ।यस्तै, आयोजनाले आमनेपालीलाई कुल पुँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ । सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्ट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण सेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरिने छ ।
कम्पनीले सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

सेयरमा आवेदन दिन अनिवार्य रूपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम तीन सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने छन् ।दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार तीन सय १० र तीन सय ७० मिटर लामो दुईवटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’को काम सुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ ।यस्तै, गाेंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । दुई सय १७ टावरमध्ये अहिलेसम्म एक सय ३० टावर निर्माण भइसकेको र अरूको पनि ‘फाउन्डेसन’को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण सेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण सेयर हालसम्म पनि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरेको छैन ।कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।

तीन मेगावाट राष्ट्रिय प्रसारणमा थपियो
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको हो ।युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।आयोजनाको सुरुको लागत ५४ करोड रुपैयाँ रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर ६५ करोड रुपैयाँ पुगेको जनाइएको छ ।

 


 

प्रकाशित: २२ माघ २०७४ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App