२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सधैंकाे गुनासाे अचाक्ली मूल्य

डिसेम्बरको तेस्रो साता सुरु भएपछि पोखराको लेकसाइड क्षेत्रमा चहलपहल सुरु हुन्छ। सुरु नहोस् पनि किन? पाँचदिने पोखरा सडक महोत्सवको संघारमा रहँदा फेवा किनारमा छुट्टै रौनक आउँछ। सडक सिँगारपटार हुन्छ। रंगीन ध्वजापताकाले सजिन्छ। विजुली चम्किँदा विदेशको झल्को दिलाउँछ।

त्यही चहलपहलको सडक महोत्सवमा बर्सेनि गुनासोले भने छोड्दैन्। गुनासोरहित बन्नै सक्दैन्। गुनासो उही हुन्छ सडक महोत्सवमा होटल व्यवसायी तथा रेस्टुरेन्ट व्यवसायीले ठगी गरेको छ।

मूल्य सूची भन्दा बढी शुल्क लिएको गुनासो बर्सेनि आउँछ। आएको गुनासोलाई सम्बोधन गरेको पाइँदैन्। गुनासो अनुसार कारबाही गरेको खुलासा पनि कहिल्यै भएको पाइँदैन्।

सडक महोत्सवको पाँचदिने अवधिमा होटल तथा रेष्टुरेन्ट व्यवसायीले छुट्टै शुल्क तय गर्ने गरेका छन्। छुट्टै शुल्क बनाए पनि नयाँ वर्षको पूर्वसन्ध्यामा दोब्बर शुल्क लिएर ठगी गरेको गुनासो आउँछ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले संस्थामा आवद्ध व्यवसायीले ठगी गरेको गुनासो नआएको तर्क छ। ‘हाम्रो रेबान पोखरामा आवद्ध भएका रेष्टुरेन्ट व्यवसायीले ठगी गरेको गुनासो अहिलेसम्म आएको छैन्,’ रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले भने, ‘दर्ता भएका कुनै पनि होटल तथा रेष्टुरेण्टले तोकिएको मूल्य सूँची भन्दा धेरै लिएका छैनन्।’

महोत्सवका सांगीतिक गतिविधि कोमागाने पार्कभित्र हुने गरेको छ। पार्कभित्र राखिने स्टलले पनि मूल्य सूचीभन्दा बढी लिएको पाइए कारबाही गर्ने उनको भनाइ थियो।

‘महोत्सव सुरु हुनअघि नै हामीले स्टल बुकिङ गर्ने व्यवसायीसँग मूल्य सूची मागिसकेका छौं,’ उनले भने, ‘हामीलाई दिएको सूची अनुसार नै उपभोक्तालाई उपलब्ध गराउनुपर्छ। अन्यथा हामीले कारबाही गर्छौ।’

अध्यक्ष भट्टराईका अनुसार ठगीको गुनासो आउँछ तर दर्ता नभएकाहरूले ठगी गर्ने गरेका छन्। उनले दर्ता नभएका व्यवसायीले गरेको ठगीको दोष रेबानमा आवद्ध व्यवसायीले खेप्नु परेको सुनाए।

‘मूल्य सूची नराख्ने र दर्ता नभएका व्यवसायीले ठगी गर्ने गरेको गुनासोको असर दर्ता भएका व्यवसायीलाई पर्दै आएको छ,’ उनले भने, ‘हामीले प्रशासन, महानगरपालिका, वडा कार्यालयलाई दर्ताको लागि पहल गर्न आग्रह गर्दै आएका छौं। उनीहरू करको दायरामा आएपछि ठगी गरेको गुनासो आए प्रशासन तथा महानगरले कारबाही गर्ने थियो।’

दर्ता नभएकाहरूलाई कानूनी दायरामा ल्याउन नसक्दा ठगीको दोष रेबानमाथि आउने गरेको उनी स्वीकार्छन्। उनका अनुसार महोत्सवलाई देखाएर आवद्ध व्यवसायीले कोठामा ठगी गरे कारबाही गर्छौं।

उनले आफ्ना व्यवसायीको सबैको मूल्य सूची वेबसाइटमै उल्लेख गरेको जिकिर गरेका छन्। व्यवसायीले पाँचदिनलाई लक्षित गर्दै स्पेशल मेन्यु बनाउने गरेको रेबानको दाबी छ। 

प्रकाशित: १२ पुस २०८० ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App