८ वैशाख २०८१ शनिबार
अर्थ

दियालो बंगला क्षेत्रको जग्गा भाडामा

दियालो बंगला क्षेत्र र जग्गा लिजमा लिएपछि कसरा नारायणी सिटी सेन्टरले निर्माण कार्य सुरु गर्दै । तस्बिर : नागरिक

चितवन – नेपाल ट्रस्टले व्यापारिक प्रयोजनका लागि भरतपुरको दियालो बंगला क्षेत्रको जग्गा भाडामा लगाएको लामो समय भएपनि विवादका कारण कुनै संरचना बन्न सकेको छैन । ट्रस्टले दरबार क्षेत्रभन्दा अलग रहेको ६ बिघा जग्गा लिजमा दिन टेन्डर आह्वान गरेको थियो । ०७३ को वैशाखमा टेन्डर सूचना निस्केपछि बढी रकम कबोल गर्ने जंगल रिसोर्ट प्रालिले जग्गा पाएको थियो ।

टेन्डर सूचना निस्केपछि जग्गा उपयोग गर्नका लागि तत्कालीन भरतपुर उपमहानगरपालिका कार्यालयले पनि निवेदन दिएको थियो । तर कबोल रकम कम भएपछि भरतपुरले जग्गा पाएन । टेन्डरमार्फत अरुलाई जग्गा दिनु उचित नहुने भन्दै तत्कालीन उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले बोलपत्र स्वीकृत रद्द गरी दीर्घकालीन रुपमा आफूहरुलाई लिजमा दिन ट्रस्टको कार्यालयलाई ०७३ को पुस १ मा पत्र लेखेका थिए ।

सार्वजनिक निजी साझेदारी योजनाअन्तर्गत उपमहानगरले विभिन्न कामका लागि आवश्यक संरचना प्राथमिकताका आधारमा निर्माण गर्ने ट्रस्टलाई लेखेको पत्रमा उल्लेख थियो । तर ट्रस्टबाट भाडामा लिएको जग्गा कसरा जंगल रिसोर्टले फेरि कसरा नारायणी सिटी सेन्टर प्रालिलाई सो जग्गा दिएको थियो । सिटी सेन्टर प्रालिले निर्माण सुरु गर्न नक्सापासको निवेदन दिए पनि स्वीकृत भएको थिएन ।

नक्सा पास नै नभइरहेका बेला ट्रस्टले गएको वैशाखमा कुनै अर्को कम्पनीले नभएर कसरा रिसोर्टले नै सो क्षेत्रमा काम गर्नुपर्ने निर्णय गरेको थियो । अहिले पुस १४ गते नेपाल ट्रस्टले अर्को पत्र लेखेर नक्सा पासका लागि निवेदन दिँदा केही प्राविधिक त्रुटी भएर रोकिएको र सो त्रुटी सच्याइ महानगरमा निवेदन दिइसकेको हुँदा जग्गा उपयोग कार्यमा आवश्यक सहयोग गर्न महानगरलाई अनुरोध गरेको छ ।नेपाल ट्रस्टका शाखा अधिकृत ऋषिकेश तिम्सिनाले महानगरलाई पत्र लेखेका हुन् । कसरा जंगल रिसोर्टबाट अनुरोध भइ आएका कारण महानगरलाई आफूहरुले अनुरोध गरेको तिम्सिनाले लेखेको पत्रमा उल्लेख छ । नक्सा पास गरेर निर्माण कसरा रिसोर्टले नै गर्ने हो वा नारायणी सिटी सेन्टर प्रालिले गर्ने हो भन्ने विषय पत्रमा खुल्दैन ।

‘अब अरुले हैन निर्माणको काम हामीले नै गर्ने हो,’ कसरा रिसोर्ट प्रालिका दोजेन्द्र गौचनले भने । ट्रस्टको पत्र महानगरमा गएको हँुदा महानगरले चाँडै यसबारे निर्णय गर्ने आशा राखेको उनले बताए । तर पुस २१ मा सम्पन्न भरतपुर महानगरको पहिलो नगरसभाले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगलालाई पर्यटकीय महŒवको स्थलको रुपमा विकास गर्ने निर्णय गरेको छ ।‘दियालो बंगला रहेको स्थानमा आकर्षक संग्रहालय स्थापना गर्ने लगायत सम्भावनाको अध्ययन गरिने छ । त्यसलाई यसै आर्थिक वर्षभित्र महानगरको व्यवस्थापनमा ल्याई तत्काल आवश्यक संरक्षण र मर्मतसम्भार कार्य गरिने छ,’ भरतपुर महानगरका मेयर रेनु दाहालले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

दियालो बंगला क्षेत्रमा राजा महेन्द्र दिवंगत भएको पुरानो दरबार छ । ट्रस्टले दरबार र त्यस वरपर नभएर त्योभन्दा अलग्गै राजमार्गभन्दा दक्षिणमा रहेको ६ बिघा जग्गा लिजमा लगाउन बोलपत्र आह्वान गरेकोे थियो । सो सूचनापछि तत्कालीन भरतपुर उपमहानगरपालिकासहित १३ वटा निवेदन परेको थियो । तर सबैभन्दा बढी भाडा बुझाउन तयार कसरा जंगल रिसोर्टलाई टेन्डर पर्यो ।कसरा जंगल रिसोर्ट प्रालिले वर्षको २५ लाख रुपैयाँ भाडा तिर्ने गरेर जग्गा प्राप्त गरेको हो । तर सो रिसोर्टले थप दुई लाख रुपैयाँ लिने गरेर कसरा नारायणी सिटी सेन्टर प्रालिसँग पूर्वाधार निर्माण र जग्गा उपयोगको सम्झौता गरेको थियो । कसरा नारायणी सिटी सेन्टर प्रालिले सो क्षेत्रमा सटर निर्माण कार्य सुरु गर्न लागेपछि तत्कालीन भरतपुर उपमहानगरपालिका विरोधमा उत्रेको थियो ।

सिटी सेन्टरले व्यावसायिक प्रयोजनका लागि चार सय सटर बनाउने योजनासाथ काम सुरु गरेको सञ्चालक दिनेश चुकेले बताए । त्यस्तै चारवटा रेस्टुरेन्ट, बाल उद्यान र दुई हजार दुई सयजना अट्ने सभा हलसमेत बनाउने चुकेको भनाइ थियो । नक्सा पास गरेर काम सुरु गर्न लाग्दा नगरपालिका कार्यालयबाट रोकावट आउन थालेको थियो ।

०६२-६३ को जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधानले स्वर्गीय राजा विरेन्द्रको निजी सम्पति नेपाल ट्रस्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो । सो व्यवस्था बमोजिम हाल नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ५७ बिघा जमिनमध्ये ६ बिघा जमिन निजी क्षेत्रले भाडामा लिएको हो ।   

सरकारले नेपाल ट्रस्ट ऐन नै जारी गरेको छ । ०६४ मा जारी सो ऐनको दफा १३ मा ट्रस्टको जग्गा बिक्री वितरण र भोगाधिकार प्रदान गर्न प्रतिवन्ध लगाएको छ । तर ०६५ मा आएको ट्रस्टको निर्देशिकाको नियम ६ को उपनियम क र ख मा आयआर्जनका लागि व्यापारिक वा अन्य प्रयोजनका लागि जग्गा भाडामा लगाउन वा लिजमा दिन पाउने व्यवस्था छ ।


 

प्रकाशित: १८ माघ २०७४ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App