रसुवा – रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।
जिल्लामा यो वर्ष एक हजार आठ मेट्रिक टन गोलभेंडा उत्पादन भएको छ । गत वर्ष चार सय मेट्रिक टनमात्र गोलभेंडा उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार जिल्लामा गोलभेंडा खेती गर्ने कृषक बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि भएको हो ।
जिल्लामा अहिले ६० हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती हुन थालेको छ । कार्यालयले गरेको सर्वेक्षण अनुसार जिल्लामा अहिले एक हजार ६ सय ८० वटा प्लास्टिक घरमा गोलभेंडा उत्पादन भएको छ । प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार आठ मेट्रिक टन गोलभेंडा उत्पादन भएको कार्यालयका बागवानी अधिकृत सन्न्तोष पाठकले बताए ।
उनले भने, ‘जिल्लामा टमाटरको लागि पर्याप्त बजार रहेको र राम्रो मूल्य पाउने भएकाले कृषकले उत्पादन बढाउँदै लगेका छन् ।’ गोलभेंडा खेतीबाट कृषकले वार्षिक तीन करोड ५२ लाख ८० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए ।जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा उत्पादन वृद्धि भएको देखिन्छ । गोलभेंडा उत्पादनका लागि सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाले पाँच सय २० वटा टनेल सहयोग गरेको थियो ।
२०६८ मा व्यावसायिक गोलभेंडा खेतीको थालनी हुँदा जिल्लामा साढे एक हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती गरिएको थियो । जिल्लाको उच्च हिमाली भागमा गोलभेंडा उत्पादन गर्नका लागि तापक्रम वृद्धि गरी गुमोज आकारका घरसमेत निर्माण गरिएको छ ।
जिल्लामा प्लास्टिक घरमा गोलभेंडा कार्यक्रममार्फत २०६८ मा पहिलोपटक २० वटा प्लास्टिक घरमा गोलभेंडा खेतीको सुरुवात गरिएको थियो । जिल्लामा उत्पादित गोलभेंडा करिब ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्दछ ।बेमौसममा काठमाडौं र त्रिसुलीबाट जिल्ला भित्रने र मौसमी सिजनमा जिल्लाबाट त्रिसुली तथा काठमाडौं लैजाने गरिएको छ ।
प्रकाशित: १६ माघ २०७४ ०३:४७ मंगलबार