१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिबी उन्मुलन गर्न स्वच्छ ऊर्जा पहुँच अत्यावश्यक

 

काठमाडौं –देशको आर्थिक विकास गर्न सम्पूर्ण जनतामा ऊर्जा पहुँच हुन आवश्यक रहेको सम्बन्धित विज्ञहरूले बताएका छन् । मुलुकको हरेक पक्षको विकास गर्न सबैभन्दा पहिला स्वच्छ ऊर्जा पहुँचलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

बुधबार प्राक्टिकल एक्सनले राजधानीमा आयोजना गरेको ‘पुअर पिपुल इनर्जी आउटलुक २०१७’ (पिपिइओ २०१७) को विमोचन कार्यक्रममा बोल्दै सम्बन्धित विज्ञहरूले गरिबी उन्मुलन गर्न  ऊर्जा अभाव (इनर्जी पोभर्टी) हटाउन आवश्यक रहेको बताए । ‘स्वच्छ ऊर्जाको अभाव हुँदा गरिबी हटाउन सकिँदैन,’ राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले भने, ‘विकासको मेरुदण्ड भनेको ऊर्जा अभाव घटाउनु हो।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा प्राध्यापक गोविन्द नेपालले उपभोक्ताले माग र चाहना अनुसारको कार्यक्रम तय गर्नुपर्ने बताउ । साथै, उनले मुलुकमा वैकल्पिक तथा नविकरणीय ऊर्जामा अध्ययन तथा सत्यतथ्य तथ्यांक पाउन नभएको टिप्पणी गरे । कार्यक्रममा प्राध्यापक नेपाल, योजना आयोगका पूर्वसदस्य राममनोहर श्रेष्ठ, ऊर्जाविज्ञ इन्दिरा शाक्य लगायतले पिपिइओ २०१७ ले उठाएका विषयबारे टिप्पणी गरेका थिए ।

कार्यक्रममा ऊर्जा विज्ञ शाक्यले सामाजिक, आर्थिक र प्राविधिक दृष्टिकोणबाट हेरिनु पर्नेमा जोड दिइन् । उनले ऊर्जा भनेको मुलुकको समृद्धि, रोजगारी, युवा पलायन लगायत विषयसँग जोडिएकाले सरकार तथा सरोकार निकायले विशेष ध्यान दिनु पर्ने बताइन् । ‘स्वच्छ ऊर्जाको अभावले मुख्यगरी महिला तथा बालबालिका पीडित भएका छन्,’ उनले भनिन् ।एसियन इन्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक श्रेष्ठले ऊर्जा पहुँचको कार्यक्रम बनाउँदा गरिबी जनतालाई ध्यान दिन र केन्द्रितभन्दा विकेन्द्रीत नीति अवलम्बन गर्नुपर्ने बताए ।

कार्यक्रममा वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सरकारले माग अनुसारको कार्यक्रम बनाएर लागू गरिरहेको बताए । उनले ८५ प्रतिशत जनताले बिजुली पाएको र खाना पकाउन भने अझै पनि परम्परागत ऊर्जा प्रयोग हुँदै आएको तथ्यांक प्रस्तुत गरे । उनले नविकरणीय ऊर्जामा निजी क्षेत्रबाट अझै पनि व्यावसायिक रुपमा आउन नसकेको भन्दै यसमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा प्राक्टिकल एक्सनका प्रमुख कार्यकारी अधिकृत पौल स्मिथ लोमसले ‘बटम अप एप्रोच’ नै भविष्यको ऊर्जा विकासको मुख्य आधार भएको बताए ।मुलुकमा हाल २२ प्रतिशत जनतामा विद्युत पुग्न सकेको छैन । विश्व स्वास्थ्य संगठनको तथ्यांक नेपालमा प्रत्येक वर्ष घरभित्रको धुवाका कारण २२ हजार आठ सय ४१ जना व्यक्तीको मुत्यु हुने गरेको छ । त्यस्तै तथ्यांकअनुसार बर्सेनि सात लाख ४६ हजार तीन सय ८१ जना बिरामी पर्छन् ।

आर्थिक सर्वेक्षण ०७३÷७४ को तथ्यांकले पनि मुलुकभर झन्डै ७४ लाख १० हजार नेपाली उज्यालोका लागि टुकी बत्तीमा निर्भर रहेको देखाउँछ । राष्ट्रिय जनगणना ०६८ को तथ्यांक अनुसार ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा अझै खाना पकाउने इन्धनका रुपमा दाउरा, गैठा लगायत परम्परागत जैविक ऊर्जाको प्रयोग हुँदै आएको छ । आव ०७३÷७४ को आर्थिक सर्वेक्षणअनुसार ७८.४ प्रतिशतले परम्परागत ऊर्जाको प्रयोग गर्छन् जसमध्ये दाउराको प्रयोग गर्ने ७१.२ प्रतिशत, कृषि (छ्वाली, पराल जस्ता) ३.५ प्रतिशत र गुइँठा प्रयोग गर्ने ३.७ प्रतिशत रहेका छन् । जुन बाल्दा निस्कने धुवा मानव स्वास्थ्यका लागि अत्याधिक हानिकारक हुन्छ ।

प्राक्टिकल एक्सनले हरेक वर्ष विभिन्न देशमा ऊर्जाको अवस्थाबारे अध्ययन तथा अनुसन्धान गरेर ‘पिपिइओ’ प्रकाशित गर्दै आएको छ । बेलायतमा मुख्य कार्यालय रहेको प्राक्टिकल एक्सनले उपयुक्त प्रविधि प्रयोग गर्दै अल्प तथा विकासशिल देशबाट गरिबी उन्मुलन गर्ने उद्देश्यका साथ हाल विश्वका ४५ देशमा काम गर्दै आएको छ ।
 

प्रकाशित: १२ माघ २०७४ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App