७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरामा तीन प्रकारको ‘अटो भिलेज’ बनाउने महानगरको तयारी

शनिबार पोखरामा आयोजित कार्यक्रममा सहभागी अतिथिहरू। तस्बिर: सन्देश/नागरिक

पोखरामा तीन प्रकारको ‘अटो भिलेज’ बनाउने तयारी भएको छ।

पोखरा महानगरपालिकाले पोखरामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेको साना सवारी र चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको गरेर तीन प्रकारको अटो भिलेज बनाउने योजना बनाएको हो।

यी अटो भिलेज छुट्टाछुट्टै ठाउँमा बनाउने महानगरको योजना रहेको अटोमेकानिकल वर्क एसोसिएसन कास्की र पोखरा टेलिभिजनको संयुक्त आयोजनामा आइतबार पोखरामा भएको ‘पोखरामा अटोल्याण्डः आवश्यकता, सम्भावना र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए।

पोखरामा हाल बजारमा अस्तव्यस्त तरिकाले अटो वर्कसपहरु सञ्चालनमा छन्। व्यस्त बजारमा असरल्ल वर्कसप हुँदा पोखराको सौन्दर्यताकमा ह्रास आएको, धुवाँ, धुलो र पानीका कारण पोखरा फोहोर र दुर्गन्धित बनेको तथा यसका कारण डेंगी संक्रमणपनि बढेको जनगुनासो छ। 

त्यतिमात्र होइन पछिल्लो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश र वहिर्गमनद्वार अगाडिदेखि पोखराको कोर सिटी छिर्नेसम्मको क्षेत्रमा जथाभाबी वर्कसपहरु सञ्चालनमा हुँदा पोखरा कुरुप देखिँदै आएको छ। महानगरले यीनै अस्तव्यस्त वर्कसपहरुलाई एकत्रित गरेर अटो भिलेज निर्माण गर्ने योजना अगाडि सारेको हो।

महानगरले दुई पाङ्ग्रे अटो भिलेजपनि पोखराका फरक/फरक तीन ठाउँमा बनाउने योजना बनाएको छ। पोखराको कोर सिटी क्षेत्रलाई केन्द्रित गरेर महानगरले पोखरा र लेखनाथका विभिन्न क्षेत्रमा ८ भन्दा बढी फरक/फरक ठाउँमा दुई पाङ्ग्रे अटो भिलेज बनाउने तयारी गरेको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले जानकारी दिए। यस अटो भिलेजमा मोटरसाइकल, स्कुटर र साइकलको मर्मत सम्भार गरिनेछ।

चार पाङ्ग्रे तर साना तथा मझौला सवारी साधनका लागि तीन वटा छुट्टै अटो भिलेज निर्माण गर्ने महानगरको तयारी छ। जहाँ मिनी ट्रक, ट्याक्सी, कार, टोयोटा, अटोलगायतका सवारी साधनको मर्मत सम्भार गरिनेछ।

पोखरा भित्रिने तीन मुख्य नाकाहरु उत्तर पश्चिममा याम्दी, पूर्वमा अमरसिंह र दक्षिणमा छोरेपाटन क्षेत्रलाई केन्द्रित गरेर तीन फरक ठाउँमा अटोभिलेज निर्माण गरिने मेयर आचार्यले बताए। उनले कोर बजार क्षेत्रलाई लक्षित गरेर हाललाई चाइना पुल माथिको क्षेत्रमा छुट्टै अटो भिलेज बनाउने प्रयास भइरहेको उल्लेख गरे।

चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको अटो भिलेज भने एउटा निर्माण गरिनेछ। जुन नयाँ निर्माण गर्ने भनिएको प्रदेश स्तरीय पोखरा बसपार्क नजिकै निर्माण गर्ने महानगरको योजना छ।

प्रदेश स्तरीय बसपार्क पोखरा–३२ लामेआहालमा निर्माण गर्ने तयारी छ। सोही क्षेत्र नजिक चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको अटो भिलेज निर्माण गरिने मेयर आचार्यको भनाई छ। जहाँ बस, ट्रक, ट्याङ्कर र ठूला हेभी ईक्यूपमेन्टहरु डोजर, रोलरलगायतका ठूला (हेभी) गाडीहरुको मर्मत सम्भार हुनेछन्।

महानगरले दुई पाङ्ग्रे अटो भिलेजका लागि कम्तीमा चार रोपनी तथा चार पाङ्ग्रे तर साना सवारी साधनको अटो भिलेजका लागि १० रोपनी भन्दा बढी जग्गा चाहिने मापदण्ड तोकेको छ।

तर त्यो ठाउँ पर्खालले घेरिएको हुनुपर्ने मापदण्ड बनाइएको मेयर आचार्यले बताए। उनले भने, ‘तपाईंहरुले आफैले खोजे पनि हुन्छ त्यस्तो ठाउँ। त्यसका लागि हामी सिफारिस र आवश्यक सहयोग गर्छौं।’

उनले वर्कसप व्यवसाय भएकाले व्यवसायीहरु नै मिलेर पनि अटो भिलेज निर्माण गर्न सक्ने बताए। अन्यथा महानगर आफैले पनि बनाएर दिने भन्दै उनले भने, ‘तपाईंहरुले बनाउने हो भने पानी, वत्ती के चाहिन्छ हामी सहयोग गर्छौं, होइन हामीले बनाएर दिने हो भने लागतचाहिँ तपाईंहरुले बेहोर्नुपर्छ।’

अटो भिलेज निर्माण गर्नका लागि महानगरले अहिले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ। अटो भिलेज निर्माण गर्ने ठाउँको पहिचान भएपनि अहिल्यै सार्वजनिक गर्दा स्थानीयको विरोधको सामना गर्नुपर्ने भयले महानगरले यसलाई गोप्य राखेको बताएको छ।

मेयर आचार्य भन्छन्, ‘अहिल्यै भन्दा कुरा बिग्रिन्छ। तर अटो भिलेजको स्थान लगभग टुंगिएर जग्गा प्राप्तिको प्रक्रियामा छ।’

वर्कसप बनाउने जमिन खरिद गर्न सक्ने अवस्था नरहेकाले सार्वजनिक जग्गा नै खोज्नुपर्ने बाध्यतामा महानगर रहेको उनले प्रष्ट्याए। ‘पहिला जग्गा प्राप्ति होस् त्यसपछि कुन मोडलमा निर्माण गर्ने हो त्यसबारे छलफल गरौंला’ उनले भने।

महानगरले अटो मेकानिकल वर्कसपहरुलाई हालको ठाउँमा नवीकरण नगर्न आग्रह गरेको छ। अटो भिलेज बनाएर वक्र्स सपहरु सार्ने तयारी भएकाले हालको ठाउँमा सञ्चालन गर्न दिन नसकिने भएकाले अबदेखि भाडा अवधि सकिएको अवस्थामा नवीकरण नगर्न आग्रह गरेको हो। ‘हामीले वर्कसप सञ्चालक र घरधनी दुबैलाई भाडा सम्झौता नलम्ब्याउन वा नवीकरण नगर्न आग्रह गरिसकेका छौं’ मेयर आचार्यले भने।

अटो मेकानिकल वक्र्स एशोसियसनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपालीले महानगरकै ढिलासुस्तीका कारण अटो भिलेज निर्माणमा ढिलाइ भएको बताए। उनले भने, ‘अटो भिलेज बनाउन केले रोक्यो ? किन रोकिएको हो ? अब ढिला नगरी निर्माण गरौं।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले अटो भिलेज बनाउन सबै क्षेत्र सहमत भएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको टिप्पणी गरे। हामी नगरे कसले गर्ने ? उनले भने, ‘गर्ने हामीले नै हो। त्यसैले सबैले सहकार्य गरौं तर अब ढिला नगरौं।’

प्रकाशित: १ पुस २०८० ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App