९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

किसान आकर्षित नहुँदा मासिँदै जौ खेती

जुम्लाको फाइल तस्बिर

रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौ खेती हराउँदै गएको छ। कुनै समय जिल्लाको प्रमुख बालीमा पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय  बिरलै मात्रामा देखिने गरेको छ। अहिले पूजाआजामा आवश्यक पर्ने जौसमेत जिल्लामा उत्पादन हुन छाडेको छ।

पाँच÷छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा सबैका बारीमा जौ उम्रिएर हरियाली देखिन्थ्यो। अहिले ती सबै खेतबारी खाली छन्। स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा÷खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताए। मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए।

उनले भने, ‘पहिले सबैले बारीमा जौ खेती हुने गर्दथ्यो। पछि विस्तारै मानिसले जौ खेती गर्न छाड्दै गए।’ मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन्।

जौ खेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौ खेती नगरेको जानकारी दिए। ‘पहिले जौ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो’, उनले भने, ‘जौबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो।’ वस्तुभाउलाई दानाका रूपमा पनि जौ प्रयोग गरिन्थ्यो। अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ।

मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौ भित्र्याउने बेलामा स्थानीय यार्सा संकलन गर्न जाने हुँदा पछिल्लो समयमा जौ खेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए। यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौ खेती गरिँदै आइएको छ। सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौ खेती हुने गरेको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौबाट बनेका परिकार मन नपराउने हुँदा जौ खेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए। उनले भने, ‘विगतका तुलनामा जौ खेती मात्र नभई रैथाने बाली लोप हुँदै गएका छन्।’ –रासस

प्रकाशित: १ पुस २०८० ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App