२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगा–मदन भण्डारी सभा भवन निर्माण कार्य सुस्त

गाईघाटमा निर्माणाधीन त्रियुगा मदन भण्डारी सभा भवन। तस्बिर : महेश्वर

सदरमुकाम गाईघाटको ‘आइकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘त्रियुगा–मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह भवन’ निर्माण सुस्ताएको छ। कोभिड कहरले पहिलो फेजको काम सकिएको दुई वर्षपछि ०७९ मंसिरमा ठेक्का सम्झौता गरी सुरु भएको दोस्रो फेजको काम विभिन्न कारणले ढिलाइ भइरहेको हो।

त्रियुगा नगरपालिका १३ हवाई फिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा बन्दै गरेको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतकाे यो सभा भवन बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणाधीन छ। ०७४ वैशाख १० मा २३ करोडको लागतमा सम्झौता गरी रविना-जोशी-पवित्र जेवीले ०७६ मै पहिलो फेजको काम सकेको थियो, तर बजेट अभावले दुई वर्ष बाँकी काम रोकिन पुग्दा भवन अलपत्र परेको थियो। दोस्रो फेजको काम ०७९ पुसदेखि नियमित भए पनि छिटो हुन नसकेको स्थानीयको गुनासो छ।

तीन वर्षभित्रै भवन निर्माण सकेर ठूला कार्यक्रम गर्ने भनिएको तर अहिलेसम्म भवन नबनेकोमा स्थानीयले गुनासो गरेका छन्। ‘काम सुरु गर्दा तीन वर्षमै ठूलो सभाहल बनाइसकेर सञ्चालनमा आउँछ भन्थे’, स्थानीय पर्शुराम चौधरीले भने, ‘तर सात वर्ष हुन लाग्यो अहिलेसम्म भवन निर्माण कार्य सक्ने छेकछन्दै छैन।’

भवन निर्माण कार्य चाँडो सक्न जनप्रतिनिधि, प्रशासन, नागरिक समाज र निर्माण व्यवसायी सबैले तदारुकता देखाइरहेका छन्। त्रियुगा नगर प्रमुख वसन्तकुमार बस्नेत, जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वडाध्यक्ष र नागरिक अगुवा सबैले छिटै काम सकेर भवन सञ्चालन गर्न पहल गरिरहेको जनाएका छन्।

आयोजना प्रमुख (डिई) प्रदिपकुमार सिंहले दसैं, तिहार र छठजस्ता चाडपर्वले केही समय काम रोकिएको बताए। २०८१ जेठ १४ भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौताअनुसार तोकिएको म्यादभित्रै काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको डिई सिंहले बताए। ‘पहिलो फेजमा जस्तो छिटोछिटो नभए पनि काम त भइरहेकै छ’, डिई सिंहले भने, ‘दसैं, तिहार र छठले एक–डेढ महिना काम रोकिएको हो, अहिले नियमित काम भइरहेको छ।’

डिई सिंहले पर्याप्त जनशक्ति परिचालन गरेर काम गर्न निर्देशन दिएको पनि बताएका छन्। १५-२० जनाले मात्र काम गरेर नपुग्ने भन्दै उनले कम्तीमा ४०-५० जना कामदार खटाएर काम गर्न ठेकेदारलाई ताकेता गरेको उनको भनाइ छ।

अहिले काम भइरहेको तर सानो टोली परिचालन गर्दा ढिलाइ हुने भएकाले पर्याप्त जनशक्ति खटाउन उनले निर्देशन दिएका छन्। ३०-४० जना कामदार १०-१२ जना मिस्त्री परिचालन गरे तोकिएको समयअगावै काम सकिने उनको विश्वास छ।

भूमिगत एक तलासहित पाँचतले भवनको सबै तला ढलान भइसकेको छ भने कोठा पार्टिसन पनि सकिइसकेको छ। सभाकक्षको छानो हाल्ने काम मात्र बाँकी छ। ठूला ट्रसले जोडेर जस्ताको छानो हाल्नुपर्ने सभाहलको मुख्य कामका लागि आवश्यक सामग्री पनि तयार भइसकेको निर्माण कम्पनी प्रतिनिधि नवराज थापामगरले बताए।

पर्यप्त जनशक्ति खटाएर सम्झौता अवधिअगावै भवन निर्माण कार्य सक्ने योजना निर्माण कम्पनीले बनाएको मगरले बताए। त्यसका लागि हाल दुई दर्जन जनशक्ति खटाइरहेको र छिटै थप कामदार र मिस्त्री खटाउने तयारी गरिरहेको उनले बताए।

सभा भवनवरिपरि कम्पाउन्ड वाल लगाउने काम पनि सुरु भइसकेको र ट्रस जडान र छानो हालिसक्दासम्म घेराबेरा पनि सकिने उनको योजना छ। त्यसपछि प्लास्टर, झ्याल ढोका, वायरिङ, रङरोगन सम्पन्न गरेर सम्झौता अवधिअगावै योजना हस्तान्तरण गर्ने लक्ष्य लिइएको मगरको भनाइ छ।

कन्स्ट्रक्सन सञ्चालक नारायण भट्टराईले हालसम्म ५० प्रतिशत काम सकिइसकेको दाबी गरेका छन्। राज्यको झन्डै आधा अर्ब लगानी परेको यो आयोजनामा एक हजार पाँच सय व्यक्ति अट्ने ठूलो र पाँच सय अट्ने अर्को सानो गरी दुईवटा सभाहल बन्दै छ। भूमिगतदेखि चौथो तलासम्म पाँचतले विशाल भवन अपांगमैत्री, वातानुकुलित र सुविधासम्पन्न हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजले जनाएको छ।

उदयपुर १ की प्रतिनिधिसभा सदस्य तथा तत्कालीन सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीको पहलमा निर्माणाधीन यो भवन बनेपछि जिल्ला, प्रदेश र राष्ट्रियस्तरका सभा सेमिनार गर्न सहज हुने छ।

उदयपुर–थरुहट रंगशाला पनि सँगै जोडिएकाले प्रदेश र राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता हुँदा पनि आवास र खानपिनका लागि यो भवन सदुपयोग गर्न सकिने छ। ३-४ वर्षयता सञ्चालनमा आएको मदन भण्डारी लोकमार्गले सदरमुकाम गाईघाटलगायत उदयपुरका बेलका, चौदण्डीगढी, त्रियुगा, रौतामाई, उदयपुरगढी र कटारी नगरपालिकालाई छोएकाले पनि यो भवनले स्थानीय व्यापार व्यवसाय र पर्यटनमा ठूलो मद्दत गर्ने अपेक्षा गरिएको हो। त्रियुगा मदन भण्डारी स्मृति सभा भवनसँगै उदयपुर थरुहट रंगशाला र मदन भण्डारी लोकमार्गलाई उदयपुरका ‘तीन आईकन प्रोजेक्ट’ का रूपमा अथ्र्याइएको हो।

प्रकाशित: २८ मंसिर २०८० ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App