८ वैशाख २०८१ शनिबार
अर्थ

६ महिनामा १४ अर्ब राजस्व

विराटनगर भन्सार कार्यालयको यार्ड । तस्बिर - नागरिक

विराटनगर – बाढीले भाँसिएको भारतीय पुलले विराटनगर भन्सार कार्यालयको प्रभावित भएको राजस्व असुली पछिल्लो चार महिनामा लय समातेको छ । साउनको अन्तिम साताको बाढीले सीमावर्ती जोगबनी–बथनाहाको मध्यभागमा रहेको मीरगञ्ज पुल भाँसिदा साउन र भदौमा राजस्व असुली प्रभावित भएको थियो ।

भारत र तेस्रो मुलुकबाट आयात हुने वस्तु रि–रूट हुँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको थियो । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालयले १४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य  थियो ।

लक्ष्यको तुलनामा ९६ प्रतिशतमात्र राजस्व संकलन हुनुमा क्षतिग्रस्त मीरगञ्ज पुल नै कारण रहेको भन्सारको भनाइ छ ।‘मीरगञ्ज पुल भाँसिएपछि असोज र भदौमा भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन,’ विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले भने, ‘तर, पछिल्लो चार महिनामा लक्ष्यअनुसार कै राजस्व संकलन भइरहेको छ ।’ उनका अनुसार बाढीले साउन र भदौ महिनामा लक्ष्य हासिल नभएपछि त्यसको असर अद्र्धवार्षिक लक्ष्यमा परेको हो ।

साउनमा दुई अर्ब १८ करोड ७१ लाखको लक्ष्यमा एक अर्ब ७० करोड ६९ लाख र भदौमा दुई अर्ब ४९ करोड ९५ लाखको लक्ष्यमा एक अर्ब ८७ करोड ७८ लाख रुपैयाँ मात्र संकलन भएको थियो । बाढीले वीरगञ्ज पुल क्षतिग्रस्त भएपछि आयात÷निर्यातकर्ताले रि–रूट गर्दै भीमनगर–भण्टाबारी नाकाबाट वस्तु निकासी–पैठारी गरिरहेका छन् ।

बाढीले क्षतिग्रस्त भएको मीरगञ्ज पुलको मर्मतपछि जोगबनी नाकाबाट २० मेट्रिक टनसम्मको समानमात्र ढुवानी भइरहेको छ । लोकल पैठारीका मालसामान र पेट्रोलियम पदार्थमात्र जोगबनी नाकाबाट आयात भइरहेको भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।

असोज, कात्तिक, मंसिर र पुस महिनामा भने विराटनगर भन्सार कार्यालयले मासिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । असोजमा दुई अर्ब १८ करोड ७१ लाखको लक्ष्यमा दुई अर्ब ५२ करोड ६३ लाख तथा कात्तिक–मंसिर र पुसमा प्रत्येक महिना दुई अर्ब ४९ करोड ९५ लाखको लक्ष्यमा क्रमशः दुई अर्ब ७० करोड १८ लाख, दुई अर्ब ५० करोड ९५ लाख र दुई अर्ब ५१ करोड २८ लाख रुपैयाँ असुली गरेको भन्सारले जनाएको छ ।


 

प्रकाशित: ४ माघ २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App