८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घन्टामा

फाइल तस्वीर

डेढ दशकअगाडि रोल्पा र रुकुमपूर्वको सिमानासँग जोडिएका बागलुङको निसी खोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो।

सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन्, तर राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ। सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज यहाँका गाउँबाट बागलुङ बजार चार घन्टामै आउजाउ गर्न सकिन्छ। जिल्लाको सबैभन्दा टाढाका मानिने निसी खोला गाउँपालिका ५ र ६ का बस्तीलाई सडकले नजिक बनाएको छ।

पहिले निकै दुर्गम मानिने यस क्षेत्रको रूपै स्वरूप बदलिएको छ। स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौं गाडी गुड्न थालेका छन्।

लोकमार्ग बागलुङ हुँदै पूर्वीरुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसी खोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन्।

लोकमार्ग वरपरका खाली जग्गामा धमाधम भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ। हजारौं नागरिकले बजारको सुविधा यही पाउन थालेका छन्। पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दंग छन्।

स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्षअगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे ६ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताए।

घरजग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झन्डै एक महिना बिताउनुपरेको स्मरण गर्दै हिजोआज सबै काम बुर्तिबाङमा हुन थालेको उनले सुनाए।

लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै उनले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताए।

‘विकास हुन धेरै समय लाग्दो रहेनछ। यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन् ‘विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो। यस्तो मोटरबाटो थिएन’, पुन मगरले भने, ‘उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घन्टामै पुगिन्छ। म छक्क परेको छु। हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा पाएनन्। हामीले बुढेसकालमा भए पनि हामीले पायौं।’

स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताए। पहिलेपहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै उनले धमाधम पक्की भवन, सडक र विद्यालय बन्न थालेको सुनाए।

पाँच वर्ष अगाडिसम्म आफ्नो ठाउँमा कच्ची घर रहेकामा अहिले बजारबाट सिमेन्ट छडलगायत सामग्री सहज रूपमा ढुवानी गरेर पक्की भवन बन्न थालेको उनले बताए। उनले भने, ‘लोकमार्गले यात्राका लाग समय कम लाग्ने मात्रै भएन, यसले हामीजस्ता विकट ठाउँका मान्छेको जीवनशैली नै बदलियो र सरसफाइदेखि लिएर स्वास्थ्य शिक्षामा हामी धेरै पछाडि थियौं, तर अहिले धेरै सुधार भएको छ। बाहिरबाट मान्छे पनि आउँछन्। उनीहरूबाट नयाँ कुरा सिक्ने अवसर पनि मिलेको छ। गाउँका उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ।’

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुंगादेखि रोल्पा र पूर्वीरुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ। करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौं गाउँ जोडेको छ। यो मार्ग कालोपत्र भएपछि निसी खोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ।

–रासस

प्रकाशित: २१ मंसिर २०८० ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App