५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

रामपुरमा व्यावसायिक कालिजपालन

रामपुर क्षेत्रमा नयाँ व्यवसायका रूपमा कालिजपालन सुरु भएको छ। रामपुर नगरपालिका ४ स्थित बरडाँडा आरूमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ। चारैतिर व्यवस्थित तारजालीले घेरिएको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो। व्यवसायी लोकमाया रानाले कालिजपालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताए। गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका हुन्।

‘छोराले रहरले सुरु गरेको व्यवसाय अहिले म रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ। बल्ल बिक्री गर्नलायकको हुन थालेको छ’, लोकमायाले भनिन्। उनको फार्ममा हाल एक सय ५० कालिज छन्।

गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन्। नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ छ। जंगलका बीचमा व्यवसाय भएकाले वन बिराला र सर्पले पसेर चल्लामाथि झम्टने र मार्ने गरेको उनले बताए।

एउटा चल्ला चार सय रुपैयाँमा खरिद गरेर पाल्न थालिएको हो। करिब चार रोपनी जग्गा भाडामा लिएर आफूसँगै एकजना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन्। पहिलोपटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्कोपटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ।  

रामपुरलाई चिनाउन, गाउँका जग्गा छाडेर सहरबजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रूपमा कालिजपालन सुरु गरिएको उनको भनाइ छ। करिब ३० लाखको लागतको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ। अहिले यस क्षेत्रमा प्रति कालिजको मूल्य भाले तीन हजार, पोथी दुई हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ।  

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ। कालिज विशेषतः ६ देखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ। कलिलो तथा नरम घाँस, खस्रो पिसेको गहुँ र मकैका दाना कालिजका आहार हुन्।

कालिजको मासुको माग पछिल्लो समय बढ्दो छ। कालिजपालन व्यवसायमा पछिल्लो समय युवा आकर्षण बढिरहेको देखिन्छ। बजारमा कालिजको माग बढ्दो छ। बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हो। – रासस

प्रकाशित: १८ मंसिर २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App