१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रथम चौमासिकमा भरतपुर महानगरको वित्तीय प्रगति १५ प्रतिशत

भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ। शुक्रबार भरतपुर महानगरपालिका २२ स्थित अम्रेला स्ट्रिटमा भएको आव २०८०/८१ को प्रथम चौमासिक सुनुवाइ कार्यक्रममा सो कुरा जानकारी गराइएको हो।

चालु आवको ६ अर्ब ३९ करोड ७९ लाख रुपैयाँमध्ये ९१ करोड ७५ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए।प्रथम चौमासिकमा चालु बजेटतर्फ २२ प्रतिशत र पुँजीगत बजेटतर्फ नौ प्रतिशत खर्च भएको छ।यद्यपि पुँजीगततर्फ काम भए पनि वित्तीय प्रगति नदेखिएको उनले बताए। उनका अनुसार भुक्तानी काम सकिएपछि हुने भएकाले वित्तीय प्रगति नदेखिएको हो।

भरतपुर महानगरमा चालु आव पुँजीगततर्फ तीन अर्ब ७२ करोड ६५ लाख र चालुतर्फ दुई अर्ब ५२ रुपैयाँ बजेट रहेको छ। रानाका अनुसार महानगरले लक्ष्यको १९ प्रतिशत आन्तरिक राजस्व संकलन गरेको छ। महानगरले ३३ करोड १९  लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।आन्तरिक राजस्वको लक्ष्य एक अर्ब ७५ करोड रहेको छ।

प्रथम चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशाला, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडकलगायतका गौरवका आयोजनामा भरतपुर महानगरले काम गरेको जानकारी दिएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सडक, बत्ती, विद्युत्, ढल निर्माण, कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्यलगायतका सुशासनका विषयमा महानगर प्रमुख रेनु दाहालप्रति प्रश्न राखेका थिए।उनीहरूले महानगरको रातो किताबमा भएभन्दा बढी बजेटका योजना फाइल सदरबाट हुने गरेकोमा प्रश्नसमेत उठाएका थिए।उनीहरूले सबै वडामा वैज्ञानिक तवरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तअगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन्।

दाहालले आर्थिक पारदर्शितामा भरतपुर महानगर उत्कृष्ट रहेको बताइन्। ‘कोष तथा लेखा महाशाखाको प्रतिवेदनमा पनि हामी हामी अगाडि छौं। आज भ्रष्टाचारविरुद्ध अभियानले सार्वजनिक गरेको प्रतिवेदनले पनि यो तथ्य प्रस्ट देखाएको छ’, उनले भनिन्, ‘हामी भ्रष्टाचार शून्य सहनशीलतामा छौं।’

दाहालले महानगरले जनउत्तरदायी भएर काम गरेको बताइन्। उनले संघ, प्रदेशबाट नै आर्थिक वर्षको अन्तिमतिर विकास निर्माणका लागि अख्तियारी प्राप्त हुँदा असारमा बढी काम हुने गरेको बताइन्। उनले कृषि बजारीकरणमा महानगर लागिपरेको बताएकी छन्। मागको आवश्यकता हेरेर कृषिउपज उत्पादन गर्न दाहालले आग्रह गरिन्।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले स्थानीय तहले नागरिकका असन्तुष्टिको सम्बोधन गर्दै जानुपर्ने बताए।उनले महानगरमा आर्थिक सुशासनमा महानगर उत्कृष्ट देखिएकोमा खुसीसमेत व्यक्त गरे।

प्रकाशित: १६ मंसिर २०८० ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App