९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

आजियाटा नेपालबाट बाहिरिँदा वैदेशिक लगानीमा असर पर्ने

विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरे यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा पर्ने संकेत देखिएको छ। आजियाटाको सेयर विदेशी लगानीकर्ताले नकिनेमा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा नकरात्मक असर पर्ने यस क्षेत्रका जानकारले बताएका छन्।

आजियाटा समूहको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको सार्वजनिक गरे पछि निजी क्षेत्र चिन्तित भएको छ।

एनसेलको सेयर अर्को विदेशी लगानीकर्ताले किनेन भने नेगेटिभ सन्देश जाने नेपाल उद्योग परिषंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताए। ‘अपेक्षित रुपमा विदेशी लगानीकर्ता आएका छैनन्,’ अग्रवालले भने। एनसेल कति मूल्यमा बिक्री गर्ने भन्ने बारेमा भने खुलाइएको छैन।

एनसेलको आम्दानी निरन्तर खुम्चिएपछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। घाटामा गएपछि आफ्नो व्यवसाय बिस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ। सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो। सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमशः घट्दै गएपछि लगानीकर्ता सेयर बेच्ने निर्णयमा पुगेको हो।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालको स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ। सुनिभेरामा सतिशलाल आचार्य र उनका भाइ सचिनलाल आचार्यको लगानी रहेको छ। स्रोतका अनुसार  सुनिभेरा क्यापिटल भेन्चरले सेयर किन्ने विषयमा छलफल भएको छ।

प्रकाशित: १४ मंसिर २०८० ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App