१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न अध्ययन समिति

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दुईपटक सिफारिस गरेको गण्डकी सरकारले बल्ल आएर अध्ययन समिति बनाएको हो। यसअघि पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा गरेर दुईपटक संघ सरकारलाई सिफारिस गरिएको थियो।

पहिलोपटक सिफारिस पठाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रोपटक पठाउँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए। तर दुवै सरकारले प्रदेशको सिफारिसअनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेन। पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दबाब दिँदै आएको छ। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी घोषणाका लागि आग्रह गरिसकेका छन्।

 तर संघ सरकारले प्रदेश र महानगरको सिफारिस र आग्रहलाई बेवास्ता गर्दै आएको छ। पटक÷पटकको सिफारिस कार्यान्वयनमा नआएपछि गण्डकी प्रदेश सरकार सिफारिस समिति बनाउन बाध्य भएको हो। समितिले पोखरालाई पर्यटकीय राजधानी बनाउन आवश्यक मापदण्ड पूरा गर्नेबारे अध्ययन गर्ने जनाइएको छ।  

मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्नेसम्बन्धी संक्षिप्त अवधारणापत्र तयार पारिसकेको छ। सोही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ।

पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मक वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए। गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले गण्डकी सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन समिति बनाएको उनको भनाइ छ।

अध्ययन समितिमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्य छन्। समितिको सदस्यहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रहेका छन्। त्यस्तै, पर्यटन विज्ञका रूपमा डा.रामजी शर्मा, वासुदेव त्रिपाठी सदस्यका रूपमा राखिएका छन् भने जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधि, पर्यटक प्रहरी कास्की प्रमुख र नेपाल पत्रकार महासंघ, कास्कीका प्रतिनिधि सदस्य रहने जनाइएको छ। समितिको सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुख रहने जनाइएको छ।

समितिलाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पूर्वाधार पहिचान गर्ने, पर्यटकीय राजधानीको रूपमा विकासका लागि सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रियाहरू पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्नेलगायतका कार्यादेश तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। ‘पोखराको नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरूको विकास तथा विविधीकरण गरी पोखरालाई पर्यटकीय राजधानी कसरी बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन प्रतिवेदन तयार पार्नू’ प्रतिवेदनमा भनिएको छ।समितिलाई ३० दिनको समयसीमा तोकिएको छ।

प्रकाशित: १३ मंसिर २०८० ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App