२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अढाई अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ। पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।

झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ। पछिल्लो समय नेपालको जैविक चियाको भारत लगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्।

पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ। प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोजमा एक अर्ब २० करोड ८० लाख रुपैयाँ मूल्य बराबरको एक हजार पाँच सय १० मेट्रिक टन अलैंची भारत निर्यात भएको थियो।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम,धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ लगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैंचीको खेती हुँदै आएको छ। औषधि र मसालाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ।

आव २०८०/८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार रुपैयाँ मूल्य बराबरको एक हजार सात सय ९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ।

निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ। किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन्। उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्‍याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ।

अम्रिसो कुचो बनाउन प्रयोग गरिन्छ। नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ। तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ। चालू आवको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रुपैयाँ मूल्य बराबरको दुई हजार चार सय १७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले बताए।

अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ। फूललाई छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन्। अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ। मसालाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ।

प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६ सय ७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ। सोही अवधिमा १७ लाख ९२ हजार रूपैयाँमूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ।

नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दाल समेत रहेको छ। सोही अवधिमा आठ करोड चार लाख १९ हजार रूपैयाँ मूल्य बराबरको पाँच सय ८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App