१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय पुरस्कार विजेताहरू भन्छन्- ‘पर्यटनमा अनन्त सम्भावना’

पछिल्लो समय नेपालमा पर्यटनक्षेत्रको विकास र सम्भावना एकदमै राम्रो भएको बेलायती पुरस्कार वन्डरलस्ट वल्र्ड गाइड अवार्ड विजेता फुर्वा शेर्पाले बताए।

नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकोमा दुई मत नरहेको बताउँदै उनले भने, ‘अहिले हामीसँग पर्यटनका धेरै पूर्वाधारहरू बनिसकेका छन्, प्रविधिको उन्नत विकास भएको छ, नयाँ गन्तव्यहरूको पहिचान भइरहेको छ।’

उनी थप्छन्, ‘मैले काम सुरू गर्दा उच्च हिमाली क्षेत्र ट्रेकिङका लागि मात्र सीमित थियो, अहिले टुर, साइक्लिङ, म्याराथुन, होमस्टे जस्ता विविध पक्षहरूमा पर्यटनको आकार फैलिएको छ। यसले पर्यटनको दायरा विकसित भएको प्रमाणित गर्छ।’

गत असारमा फुर्वा शेर्पाले वन्डरलस्ट वल्र्ड गाइड अवार्ड–२०२३ जिते। वकिङ एन्ड आउटडोर विधामा संसारभरिका तीन हजार प्रतिस्पर्धीलाई उछिन्दै शेर्पाले प्रतिष्ठित पुरस्कार हासिल गरेका थिए।

पुरस्कार जितेसँगै सोलुखुम्बुका ३० वर्षीय शेर्पाले नेपालको पर्यटन क्षेत्र र यसका सम्भावनालाई संसारमा चिनाएका छन्। शेर्पाले काम गरेको आठ वर्षपछि अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्।

उनले मुलुकको पर्यटन बिस्तारको क्रममा स्काई डाइभिङ, र्‍याफ्टिङ, बन्जिजम्प, हट एयर बेलुन, पाराग्लाइडिङ जस्ता साहसिक खेलहरूले पनि पछिल्लो समय नेपालको पर्यटनको दायरा फराकिलो बनाएको बताए।

हिमालै हिमालको देश नेपालमा हाई अल्टिच्युड ट्रेक अन्तर्राष्ट्रिय पर्यटकको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ। हाई अल्टिच्युड भेगहरू प्रशस्त भएसँगै सम्बन्धित निकायले त्यससँग जोडिएका विकास, वातावरण, सुरक्षा र संवेदनशीलताका पक्षलाई उत्तिकै महत्वका साथ हेरिनुपर्ने उनको तर्क छ।

पर्यटक घुम्ने/घुमाउने मात्र नभएर उनीहरू घुम्ने समुदाय, संस्कृति, सामाजिक मूल्यमान्यता, रहनसहन, भाषाशैलीबारे पनि उत्तिकै सचेत भएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा उनी राख्छन्।

शेर्पा भन्छन्, ‘प्रकृति र वातावरणसँग रहेर काम गर्दा सामाजिक पक्षका साथै वातावरणीय पक्ष, जलवायु परिवर्तनका कुरा पनि उत्तिकै ख्याल राख्नुपर्छ।’

पर्यटकहरूले ग्रहण गर्ने सन्देशले देशको पर्यटन उद्योग निर्धारण गर्ने उनको तर्क छ। उनले भने, ‘भूगोल सानो भए पनि नेपालको जस्तो हाई अल्टिच्युड ट्रेक संसारका अन्य देशमा सायदै छन्।’

यससँगै उनले पर्यटकले गर्न इच्छुक क्रियाकलापलाई भने सरकारले सहजीकरण गरिदिनुपर्ने धारणा राखे। उनले कतिपय पर्यटकले नेपालमा ड्रोनबाट तस्बिर तथा भिडियो खिच्न चाहे पनि विविध कारणले गर्दा सहज नभएको बताए।

यस्तै पर्यटकसँग सम्बन्धित सरकारी कामहरू चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए। उनी भन्छन्, ‘नियमनकारी निकायहरूले चुस्तदुरूस्त काम गर्नुपर्‍यो तर पर्यटकले नियम प्रक्रिया पुर्‍याएर गर्न चाहेको कुरामा रोकछेक हुनु भएन। अनि हाम्रो सरकारी काम प्रक्रिया पनि लामो र झन्झटिला छन्, यसमा पनि ध्यान जानुपर्‍यो।’

चर्चित प्रकृति र वन्यजन्तु फोटोग्राफर तासी राप्ते घलेले नेपालमा अहिले दुई प्रकारले पर्यटकको गतिविधि बढिरहेको बताउँछन्। आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरू दुई फरक धारका भएको जनाउँदै उनले भने, ‘नेपाली पर्यटकहरू साना र छोटा ट्रेक गर्ने र अन्तर्राष्ट्रिय पर्यटकले उच्च हिमाली क्षेत्रमा लामो यात्रा गरिरहेका छन्।’

नेपालमा सार्वजनिक बिदाको अवधि छोटो भएर पनि यस्तो भएको उनको धारणा छ। ‘सबैभन्दा धेरै बिदा दशैंको समयमा हुन्छ, त्यो पनि ५–६ दिन, यसले लामो ट्रेक जान सम्भव छैन्।’

उनले थपे, ‘आर्थिक पाटोबाट नेपालीलाई खासै समस्या छैन, विद्यार्थीहरू आउँदा मात्र निश्चित बजेटमा घुम्छन्, नत्र समय अभावले गर्दा नै नेपाली पर्यटकले आफ्नो ट्रेक लम्ब्याउन सक्दैनन्।’

सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार तीन सय ६ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिए। पर्यटन बोर्डका अनुसार यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या इतिहासमै सबैभन्दा धेरै हो। सन् २०१९ अक्टोबरमा रेकर्डलाई गएको अक्टोबरमा मुलुक भित्रिएका पर्यटकको संख्याले तोडेको हो।

सडक, खानेपानी, सञ्चार जस्ता भौतिक पूर्वाधारमा मात्र ध्यान दिएको बताउँदै उनले पर्यटक आगमनको संख्या बढिरहेको अवस्थामा सरकारले प्राथमिकताका साथ मुलुकको पर्यटनको प्रचारप्रसार र ब्रान्डिङ गर्नुपर्ने घलेले बताए।

उनले भने, ‘पर्यटनको लागि पूर्वाधारहरूको विकास केही हदसम्म राम्रो अवस्थामा पुगिसकेको अवस्था छ, तत्कालको लागि सरकारको पहिलो प्राथमिकता प्रचार–प्रसार र ब्रन्डिङ हुनुपर्छ।’

मनाङका फोटोग्राफर घले हिउँ चितुवाको फोटो खिचेर संसारभरि चर्चा कमाएका छन्। उनी मुख्यतया हिमालय, वन्यजन्तु, मनाङको सामाजिक, संस्कृति र धार्मिक जीवनसँग सम्बन्धित छन्।

यस्तै उनी हिउँ चितुवा संरक्षणका लागि अमेरिकास्थित एउटा समूहले उनको दुर्गम बासस्थानमा मायालु हिउँ चितुवाका तस्बिर खिच्ने पहिलो नेपाली फोटोग्राफरको रूपमा टिप्पणी गरेको छ। उनी सन् २०१८ मा ‘डिज्ने कन्जरभेसन हिरो अवार्ड’ सम्मानित भइसकेका छन्। यस्तै उनले अब्राहम कन्जरभेसन अवार्ड, काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म अवार्ड लगायत थुप्रै पुरस्कार  पाएका छन्।  

प्रकाशित: १० मंसिर २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App