२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।

इफाप्काको अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। यही मंसिर ५ गतेदेखि सुरु हुने सम्मलेन ९ गतेसम्म चल्नेछ।

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते गर्ने भएका छन्। त्यसैगरी इफाप्का फोरमको उद्घाटन मंसिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ।

सम्मेलनमा  विदेशका दुई सय ४२ सहित पाँच सयभन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले जानकारी दिए। सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको पनि उनले जानकारी दिए।

हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो।

जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको बिस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने जानकारी उनले दिए।

सम्मेलनका कार्यक्रमहरू सार्वजनिक गर्दै अध्यक्ष सिंहले काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिने बताए। सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रजिष्ट्रेसन मंसिर ४, ५ र ६ गते तोकिएको छ। ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्युटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ। मंसिर ६ गते जनरल एसेम्बलीसहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ।

यसै दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्युटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिडर्स् कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ।

मंसिर ७ गते गोकर्ण गल्फ मैदानमा एफक्यान-इफाप्का गल्फ प्रतियोगिता गरिने र  मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्युटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ।

गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइयो।

सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहनुभएका विरेन्द्रराज पाण्डेले महासचिव र कार्य समिति  सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गर्नु भएको थियो।

४६ औं इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र मूल आयोजक समिति मातहतका ९ वटा उपसमितिहरू गठन गरिएको महासंघले जनाएको छ।

महासंघका सल्लाहकार एवं इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले मुलुकको प्रतिष्ठासँग जोडिएको ४६ औं इफाप्का सम्मेलनलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: ३ मंसिर २०८० ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App