२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल अण्डामा आत्मनिर्भर

काठमाडौँ – सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो। 

सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ। 

गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो। हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो। आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ। 

गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ। आव ०७०÷७१ मा हाँसको अण्डा एक करोड ३४ लाख तीन हजार ०७१÷७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२÷७३ मा एक करोड ३९ लाख ६ हजार अण्डा उत्पादन भएको थियो। 

त्यसैगरी कुखुराको अण्डा ०७०÷७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१÷७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२÷७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भई नेपाल अण्डामा आत्मनिर्भर भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए। 

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ। गत तीन वर्षपहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो। हाल बजारमा अण्डाको अभाव छैन। यद्यपि भारतको खुल्ला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अण्डाको आयात रोकिएको छैन। नेपालमा अण्डा दिने कुखुराको सङ्ख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको सङ्ख्या एक लाख ८० हजार ९२७ रहेको छ। 

प्रकाशित: ६ पुस २०७४ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App