१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कफी आयात ह्वात्तै बढ्याे

मुलुकमा कफी उत्पादन वृद्धि नहुँदा आयात ह्वात्तै बढेको छ। सरकारले कफी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि एक वर्षकै अवधिमा ३२ करोड ५८ लाख रूपैयाँको कफी आयात भएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२ करोड ५८ लाख ६६ हजार रूपैयाँको कफी आयात भएको छ। आव २०७८/७९ भन्दा गत आवमा १९ करोड ८३ लाख रूपैयाँ धेरै कफी आयात भएको छ।

आव २०७८/७९ मा दुई सय ७९ मेट्रिक टन आयात भएकोमा गत आवमा चार सय ५० मेट्रिक टन आयात भएको छ। आव २०७८/७९मा १२ करोड ७५ लाख रूपैयाँको कफी आयात भएको थियो।

नेपालमा कफी आयात हुनुका साथै निर्यात पनि हुन्छ। निर्यात भने सामान्य बढेको छ। आर्थिक वर्ष २०७९/८० मा १३ करोड चार लाखको ७७ मेट्रिक टन निर्यात भएको छ। आव २०७८/७९ मा ११ करोड ७० लाखको कफी निर्यात भएको छ।

सरकारले हरेक वर्ष कफी दिवस मनाउँदै आएको छ। ‘कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने नाराका साथ शुक्रबार १९ औं राष्ट्रिय कफी दिवस बनाउँदै गर्दा तथ्यांक भने निराशाजनक रहेको छ।

मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीको स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग समतुल्य स्थान बनाउन सफल रहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए।

‘स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग उच्च भए पनि उत्पादन बढ्न सकेको छैन,’ उनले भने।

पेय पदार्थको रूपमा लिइने कफी हरेक भान्सामा प्रयोग भए पनि उत्पादन बढ्न सकेको छ। शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको भट्टराईले बताए।

नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलरमा बिक्री हुँदै आएको छ। आयात मूल्यको तुलनामा झण्डै २–३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ। उचित मूल्य पाए पनि कफी उत्पादन बढ्न सकेको छैन। नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी फलेको छैन।

आर्थिक वर्ष २०७१ /७२ मा २३ सय ८१ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा चार सय ६३ मेट्रिक टन ग्रीनविन कफी उत्पादन भएको थियो।

आव ०७५/७६ मा आइपुग्दा उत्पादन बढेर पाँच सय ३० मेट्रिक टन पुगेको थियो। त्यसपछि खस्किएको उत्पादन अहिलेसम्म पनि लयमा फर्किएको छैन।

आव २०७९/८० मा तीन सय ९४ मेट्रिक टन मात्र कफी उत्पादन भएको छ। आव २०७८/७९ मा तीन सय ५४ मेट्रिक टन उत्पादन भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ। तीन हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमा कफी खेती भएको छ। स्वाद र गुणस्तरका हिसाबले नेपालको कफी उत्कृष्ट रहेको छ। नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित छ।

नेपाली कफी निर्यात हुँदा सरदर प्रति किलो १६ अमेरिकी डलर रहेको छ। कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने सरकारी योजना छ। सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई ‘कफी स्टेट’ मा रूपान्तरण गर्न प्रयास भैरहेको बोर्डले जनाएको छ।

मुलुकमा कफी खेतीको प्रचुर सम्भावना भएर पनि उत्पादन वृद्धि हुन सकेको छैन। स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा यहाँ उत्पादन भएको कफीको उच्च माग छ।

नेपालको कफी युरोप, कोरिया, जापान, अमेरिकालगायत मुलुकमा निर्यात हुन्छ। बजारको माग अनुसार कफीको उत्पादन वृद्धि हुन सकेको छैन।

उत्पादन वृद्धि नहुँदा आन्तरिक बजारमा विदेशबाट पनि कफी आयात भइरहेको छ। छहारी मुनि कफी रोपण गरेर उत्पादन लिने भएकाले पाखो क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ। कम मेहनतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिने भए पनि अपेक्षित रूपमा कफी खेती बिस्तार हुन सकेको छैन।

मध्य पहाडका जिल्लामा व्यावसायिक बनाउँदै पूर्वी पहाडका जिल्लामा पनि खेती बिस्तार गरिरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत र बागलुङ लगायत करिब ३२ जिल्लामा व्यावसायिक खेती हुँदै आएको छ। 

प्रकाशित: १ मंसिर २०८० ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App