८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

चितवनमा सयपत्री फूल खेतीमा किसान आर्कषित

आयात नगरे स्वदेशी उत्पादनले पुग्दैनः फ्लोरिकल्चर एशोसियस

चितवनमा सयपत्री फूल खेतीतर्फ किसान आर्कषित भएका छन्। तिहारलाई लक्षित गरी फूलखेती गर्ने क्रम बढ्दो छ। जिल्लामा अधिकांशले समुहमा सयपत्री फूल लगाएका छन्।

भरतपुर महानगरपालिका –२३ जगतपुरमा महिलाहरु मिलेर मनकामना सयपत्री समूह गठन गरी खेती सुरु गरेका छन्। १० कट्टठामा फूलखेती गरेका छन्। समूहकी रेनुका पौडेलले फूल खेतीले उत्साह थपेको बताउँछिन्। 'समूहमा सयपत्री खेती गर्न थालेको पाँच वर्ष भयो। अहिले उत्पादन राम्रै छ, उनले भनिन्,'यसलाई विस्तार गर्दै लैजाने योजनामा छौँ।’

उनीहरुलाई बजारको त्यति समस्या छैन। स्थानीय स्तरमा बिक्रि हुने गरेको उनले बताइन्। भारतबाट फूल आयात नगर्ने हो भने अहिले हामीलाई बजारको समस्या हुँदैन, उनले भनिन्, 'अहिले हाम्रो स्थानीय स्तरमा नै बिक्रि हुँदै भइरहेको छ।’ उनीहरु समूहमा १० जना छन्। खर्च कटाएर सवा दुई लाख रुपैयाँ आम्दानी हुँदै आएको समुहकी कोषाध्यक्ष भिमकुमारी फुयालले जानकारी दिइन्। उनीहरुले भाडामा लिएर फूल खेती सुरु गरेका हुन्। चुलोचौकामा व्यस्त हुने महिला दिदीबहिनीहरुलाई घर खर्च चलाउन समेत सहज भएको उनले बताइन्। 'फूल खेतीबाट राम्रो आम्दानी छ,’ उनले भनिन् 'यस वर्ष राम्रो भयो भने विस्तार गर्दै लैजाने सोच बनाएका छौँ।’  उनीहरुले एउटा मालालाई ५० रुपैयाँमा बेच्दै आएका छन्। आठ क्वीन्टल उत्पादन हुने उनीहरुले अनुमान गरेका छन्।

भरतपुर महानगरपालिका –२३ जगतपुरकै महिला उत्थान कृषक समूहले पनि चाडपर्वलाई लक्षित गरी आठ कठ्ठा क्षेत्रफलमा व्यवसायीक फूलखेती सुरु गरेका छन्। 'पहिलो वर्ष फूल खेती गरेका हौँ। अहिले अल्लि पहिला फुल्यो,’ उनले भनिन्, 'बजार व्यवस्थापनमा केही समस्या भएको छ।’

भरतपुर–७ उज्जवल टोलमा एक दर्जन बढीले एक्लाएक्लै खेती थालेका छन्। सात वर्ष पहिले सयपत्री समूह बनाएर डेढ विघामा खेती भएको थियो। यतिखेर दश हजार माला बिक्रि भएका थिए। सो हाल सो समूह छैन। तर, टोलमा व्यक्तिगत रुपमा खेती गर्ने बढेका छन्। 'घरघरमा फूल खेती सुरु भएको छ', उज्जवल टोलका पूर्व अध्यक्ष ईश्वरकुमार श्रेष्ठ भन्छन्, 'यो वर्ष पनि २० हजार माला यही टोलबाट बिक्री हुने अवस्था छ।' उनी उज्ज्वल नर्सरीका सञ्चालक हुन्। उनले डेड विगाहामा खेती गरेका छन्। तीन लाख बेर्ना समेत बेचेको उनले बताए। यो तिहारमा उज्ज्वल टोललाई संकलन केन्द्र तथा बिक्री केन्द्रका रुपमा परिचित छ। उनले यही वर्ष फूलखेती सुरु गरेकाहरुबाट समेत फूल संकलन गरी बेच्ने गरेको उनले बताए।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२ विगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरेको जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी दिए। चितवनमा यसबर्ष अत्याधिक रुपमा सयपत्री फूल खेती गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार यहाँ गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा खेती भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार ३५ विगाहा क्षेत्रफलमा व्यवसायीक रुपमा खेती गरिएको छ। 'अघिल्लो वर्ष जिल्लामा १७ बिगाहामा सयपत्री फूल खेती गरिएको थियो। अहिले बढेर ३५ विगाहा क्षेत्रफलमा खेती गरिएको हामीले प्रारम्भिक तथ्यांक संकलन गरेका छौँ,’ बागबानि विकास अधिकृत स्वतिका चौहानले भनिन्, 'स्थानीय तहबाट पुरा विवरण माग गर्दै गरिरहेका छौँ अझ बढ्ने विश्वास लिएका छौँ।’

सयपत्री फूल आयात नगरे स्वदेशी उत्पादनले पुग्दै 

फ्लोरिकल्चर एशोसियसन नेपालले तिहारमा सयपत्री फूलका माला आयात नगरे स्वदेशी उत्पादनले नपुग्ने जनाएको छ। तिहारमा पाँच लाखको हाराहारीमा सयपत्री फूलको माला बाहिरी मुलुकबाट आयात गर्नुपर्ने एशाशियसन नेपालका अध्यक्ष मिनबहादुर तामाबले जानकारी दिए। उनका अनुसार नेपालमा पैतीस लाख माला आवश्यक पर्छ। तर, नेपालमा तीस लाख मात्रै माला उत्पादन हुने उनले बताए। सयपत्री फूलको आयात पूर्ण रुपमा बन्द भए बजारमा कालोबजारी सुरु हुने उनले बताए।

भारतबाट सयपत्री फूल नआए उपभोक्ता ठगिने फ्लोरिकल्चर एशोसियसन चितवनका अध्यक्ष दिपेन्द्र सापकोटा बताउँछन्। 'माला प्रसस्त भयो भने उपभोक्ताले प्रसस्त माला पाउँछन्। सटेज भयो भने व्यापारीले बढी कमाउँछन्। उपभोक्ता ठगिन्छन्,’–उनले भने। चितवनमा दुई लाख ५० हजार माला उत्पादन हुने उनले बताए। यहाँ चार लाखको हाराहारीमा खपत हुने उनको भनाइ छ। नेपालमा दुई सय विगाहाभन्दा बढी क्षेत्रफलमा व्यवसायीक रुपमा सयपत्री फूलको खेती गरिएको छ। सबैभन्दा धेरै चितवन, रुपन्देही, धनगढी, पाल्पा, मकवानपुर लगायतका जिल्लामा गरिएको एशोसियनको दावि छ। अहिले एशोसियनले प्रति मालाको मुख्य एक सय २५ रुपैयाँ तोक्ने तयारी गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८० १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App