१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

२२ जनालाई हिमालबाट स्की गर्ने अनुमति

हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधि अन्तर्गत पर्ने साहसिक खेल हो। यस सिजनमा २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन्। विभिन्न ६ मुलुकका २२ जनाले यस पटक स्की गर्न पर्यटन विभागबाट अनुमति लिएका हुन्।

विभागको तथ्याङ्क अनुसार यस याममा सबैभन्दा धेरै फ्रान्सका नागरिकले स्कीको लागि अनुमति लिएका छन्। फ्रान्सका १५ जनाले स्कीका लागि अनुमति लिएका छन्। फ्रान्सपछि फिनल्यान्डका चार जना र नेपालका तीन जनाले स्कीका लागि विभागबाट अनुमति लिएका छन्।

यस्तै अमेरिकाबाट दुई जना रहेका छन् भने नर्वे र फिनल्यान्डबाट १÷१ जनाले स्की गर्न विभागबाट अनुमति लिएका छन्। अनुमति लिएकामध्ये चार जना महिला रहेका छन्। जसमा फ्रान्सका तीन र फिनल्यान्डका एक जना रहेका छन्।

स्की पर्वतारोहण गतिविधि अन्तर्गत पर्छ। हिमाल आरोहणको सिजनमै स्की पनि गर्ने गरिएको छ। स्की मात्र गर्ने भनेर नै मानिसहरू जानेभन्दा पनि हिमाल आरोहण गर्ने टोलीले नै स्की पनि गर्ने गरेको विभागका निर्देशक राकेश गुरूङले बताए।

उनले भने, ‘हिमालमा स्कीको लागि मात्र जाँदैनन्, हिमाल आरोहण गर्ने टोलीले नै स्की पनि गर्छन्।’ उनले थपे, ‘आरोहण गरेपछि बेस क्याम्प क्षेत्रमा स्की पनि गर्छन्।’

यसबाहेक यदि स्की खेलाडीले सरकारले तोकेको क्षेत्रबाहेकका हिमालको शिखरबाट स्किी गर्न चाहन्छन् भने हिमाल अनुसारको आरोहण अनुमति लिनुपर्ने हुन्छ। स्की खेलका लागि हिमालको क्षेत्र अनुसार अनुमति दिइँदै आएको निर्देशक गुरूङले बताए। यदि कुनै पनि व्यक्तिले हिमालको चुचुराबाटै स्की गर्छ भने उक्त आरोहीले हिमाल आरोहण र स्की आरोहण दुबैको अनुमति लिनुपर्ने उनले बताए।

विभागले विभिन्न हिमालमा स्की गर्न अनुमति दिँदै आएको छ। हिमलुङ, धवलागिरि, मनास्लु, रत्नचुली, पुथा हिउँचुली, एभरेष्ट लगायतका क्षेत्रमा स्किी अनुमति दिँदै आएको छ।

विभागले तोकिएको हिमाल क्षेत्रमा स्किी खेल्न फोहरमैला व्यवस्थापन डिपोजिटको लागि पाँच सय डलर र स्की खेलको लागि एक समूहले हजार डलर रोयल्टी तिर्नुपर्छ। हजार डलर रोयल्टी तिरेपछि सो समूहमा १० जनासम्मको लागि सोही रकमले पुग्छ।

यदि सो समूहमा १० जना भन्दा बढी आरोही भए भने प्रतिव्यक्ति सय डलर थप्दै जानु पर्छ। विभागका अनुसार एक समूहमा २० जनाभन्दा बढीलाई स्की गर्ने अनुमति हुँदैन।

स्की खेल अन्तर्राष्ट्रिय रूपमा निकै लोकप्रिय खेल हो। साहसिक खेलको रूपमा हेरिने स्की हिउँ नै हिउँमा खेलिने गरिन्छ। यस्तै नेपाल पनि स्की खेलका लागि राम्रो सम्भावना भएको मुलुक हो। हिमालको देशका रूपले परिचित नेपालमा हिमालबाट मात्र नभएर उच्च पहाडी क्षेत्रका डाडाँकाँडामा पर्ने हिँउमा पनि स्की गर्न सकिन्छ।

मुलुकमा भएको हिमाल र हिमाली क्षेत्रमा हिउँ पर्ने समयमा सरकारले स्कीलाई पनि प्राथमिकतामा राखेर प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्‍याउनुका साथै आर्थिक उपार्जन पनि गर्न सके पर्यटन क्षेत्रलाई थप राहत हुनेछ।

प्रकाशित: १७ कार्तिक २०८० ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App