coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साइबर क्राइमले विश्वभरिका बैंक त्रस्त

काठमाडौं – साइबर क्राइमले विश्वभरिकै बैंकहरुमा ठूलो त्रास सिर्जना गरेको विज्ञहरुले बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले बिहीबार आयोजना गरेको राष्ट्रिय स्तरको साइबर एन्ड स्विफ्ट सेक्युरिटी कन्फरेन्समा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन्। 

बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने उद्देश्यले एनबिआईले उक्त कार्यक्रम आयोजना गरेको हो । एकदिने सम्मेलनको उद्घाटन एनबिआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले गरेका थिए । उनले कर्जा जोखिमको अलावा अब साइबर जोखिम पनि वित्तीय क्षेत्रमा हाबी हुँदै गएको र बैकिङ सिस्टमलाई उक्त जोखिमबाट बचाउनुपर्ने बताए।

बैंकको आइटी सेक्युरिटी सिस्टम कस्तो छ भन्ने कुराको जाँच नियमित रुपमा गराउनुपर्नेमा पनि उनले जोड दिए । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले बैंकहरुले नहिच्किचाइकन आइटी सेक्युरिटीमा लगानी गर्नुपर्ने र यदि नगरे त्यसको परिणाम अझै बढी जोखिमयुक्त हुन सक्ने बताए। 

एनबिआईका कार्यकारी अधिकृत संजिव सुब्बाले साइबर क्राइम र जालसाजी आज विश्वभरिकै बैंकहरुको लागि ठुलो त्रासको रुपमा रहेको र यस विषयमा सजग नरहे ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने बताए।

बंगलादेशमा हालै भएको साइबरको अनुसन्धान कार्यमा भाग लिएका अनुसन्धानकर्ता देबप्रोशाद देबनाथ र देबदुलाल रोय लगायत भारतका साइबर क्राइम तथा जालसाजी सम्बन्धी विज्ञ संदिप मेहरा र अनिकेत बास्लेले आ–आफनो प्रस्तुति दिएका थिए । प्यानल डिस्कसन कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी पी पुष्कर कार्की, बैंक अफ काठमाण्डूका प्रमुख सञ्चालन अधिकृत प्रबिन क्षेत्रीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा साइबर क्षेत्रका वस्तुगत यथार्थबारे वक्ताहरुले धारणा राखेका थिए । सम्मेलनमा विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतबाट दुई सयभन्दा बढी उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो।

प्रकाशित: १५ मंसिर २०७४ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App