२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीमा ४ लाख १२ हजार कृषक

गण्डकी प्रदेशमा ४ लाख १२ हजार कृषक परिवार रहेको तथ्यांक कार्यालयले जनाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणनामा गण्डकी प्रदेशमा १ लाख ७३ हजार हेक्टर जमिनमा कृषि हुने गरेको छ।

तथ्यांक कार्यालयका अनुसार कास्की जिल्लामा ५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन्। कास्कीमा ५३ हजार २ सय २८ कृषक परिवार छन् भने १९ हजार १ सय ६४ हेक्टर जमिनमा कृषि कार्य हुने गरेको छ।

कृषिमा महिलाको नेतृत्व पनि बढेको तथ्यांकले देखाएको छ। तथ्यांक कार्यालय गण्डकीका अनुसार गण्डकीमा ६५.९ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि रहेको जनाइएको छ। कास्कीमा भने ४९.२ प्रतिशतको आम्दानीको मूल श्रोत कृषि छ। त्यस्तै, कृषिबाट वर्षभरी खान पुग्ने कृषक परिवारको संख्या गण्डकीमा ३५ प्रतिशत र कास्कीमा ३९ प्रतिशत रहेको तथ्यांक कार्यालय गण्डकी प्रदेशका संयोजक बद्री कार्कीले जानकारी दिए।

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएका थिए। हरेक दश वर्षमा गरिने राष्ट्रिय कृषि गणना २०७८ सालकै भएकाले त्यसबेलाको तथ्यांकलाई अहिले सार्वजनिक गरिएको कार्यालय प्रमुख कार्कीको भनाई छ।

गण्डकीका कृषकले दोश्रो प्रमुख मागका रुपमा सिंचाई सुविधा राखेका छन्। यस्तो माग राख्नेको संख्या ४८ प्रतिशत छन् भने कृषि प्राविधिक सेवा सहज र शुलभ हुनुपर्ने तथा तालिमको व्यवस्था हुनुपर्ने माग गर्ने कृषक परिवारको संख्या २७÷२७ प्रतिशत छ। कृषि गणनाका समयमा १८ प्रतिशत कृषकले उन्नत नश्ल र उन्नत बिउ बिजन उपलब्ध गराउन माग गरेका छन् भने १२ प्रतिशतले उत्पादनको उचित बजार व्यवस्थापन हुनुपर्ने बताएका छन्।

गण्डकीमा बिमामा पहुँच रहेको कृषकको संख्या ६.८ प्रतिशत मात्र रहेको छ। कृषि र पशुमा सरकारले ७५ प्रतिशतसम्म प्रिमियम अनुदान दिने गरेपनि विमा गर्ने कृषकको संख्या अत्यन्त न्यून देखिएको हो। कास्कीमा भने विमा गर्ने कृषकको संख्या ८.३ प्रतिशत रहेको तथ्याङ्क कार्यालय गण्डकीले जनाएको छ।

देशमा परिवारको संख्या ५४ लाखबाट बढेर साढे ६६ लाख पुगेको राष्ट्रिय तथ्यांक कार्यालयका उपनिर्देशक जग्गुलाल बस्यालले जानकारी दिए। परिवार संख्या बढेपनि कृषि गर्ने परिवार भने तीन लाख मात्र थपिएको उनले बताए। उनका अनुसार कृषि गणनामा पछिल्लो १० वर्षमा हिमालमा २१.७, पहाडमा १९.७ र तराईमा ११ प्रतिशतले कृषियोग्य भूमि घटेको छ।

गण्डकीमा ट्रयाक्टरको प्रयोग गरेर कृषि गर्ने कृषकको संख्या २४ प्रतिशत, हलो प्रयोग गर्ने १५.५ प्रतिशत, पावर ट्रिलर प्रयोग गर्ने कृषकको संख्या १७.८ प्रतिशत रहेको जनाइएको छ। जबकी कास्कीमा हलो १६ प्रतिशत, ट्याक्टर ३८ प्रतिशत र पावर ट्रिलर २४.७ प्रतिशतले प्रयोग गर्नेगरेको तथ्याङ्क रहेको बस्यालले जानकारी दिए। तथ्याङ्क कार्यालयका अनुसार गण्डकीमा गोरुको संख्या साढे २ लाख, राँगाभैंसीको संख्या ४ लाख ४८ हजार, बाख्रा खसी १५ लाख ७८ हजार, सुंगुर, बंगुर १ लाख ३४ हजार रहेको जनाइएको छ।

प्रकाशित: ३ कार्तिक २०८० ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App