२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चिनीको हाहाकार, कहाँ छ सरकार ?

काठमाडौं नेपालटारका प्रमोद ढुंगेलले बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय कालीमाटीमा करिब डेढ घण्टा लाम बसेर दुई किलो चिनी पाए । चियाका पारखी ढुंगेल सहुलियतको चिनी खोज्दै १५ किलोमिटर टाढा कालीमाटी पुगेका भने होइनन् । ‘बजारमा चिनी नपाएपछि नेपालटारबाट गाडी चढेर कालीमाटी आएको हुँ,’ ढुंगेलले भने, ‘घण्टौं लाममा बसेपछि दुई किलो मात्र किन्न पाएँ ।’

ढुंगेल मात्र होइन, वनस्थली बस्ने सुमित्रा थापाले पनि घण्टौं लाममा बसेर दुई किलो चिनी पाइन् । पैसा हालेर चिनी किन्छु भन्दा पनि बजारमा नपाइने उनले बताइन् । बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ । दसैं, तिहार, छठलगायत चाडपर्वमा रोटी तथा मिठाइका परिकार बनाउन चिनीको माग उच्च हुन्छ । सरकारले समयमा चिनी ल्याएर बिक्रीको व्यवस्था नमिलाउँदा अभाव भएको हो ।

नेपालमा वार्षिक करिब तीन लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि गत वर्ष करिब एक लाख ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष चिनी क्रसिङ सिजन सुरु भएको छैन । मागको ५० प्रतिशत मात्र आन्तरिक उत्पादनले धान्छ । नपुग चिनी बाहिरबाट ल्याउन सरकारले समयमै पहल नगर्दा चाडपर्वका बेला अभाव भएको हो । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाएको छ । त्यसको असर पनि नेपाली बजारमा परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्ष नै करिब ५० हजार मेट्रिक टन चिनी आयातका लागि सरकारसँग अनुमति मागेको थियो ।  

तर सरकारले अनुमति नदिँदा अहिले बजारमा अभाव भएको हो । ‘सरकारले समयमै अनुमति दिएको भए बजारमा चिनीको यस्तो अभाव हुने थिएन,’ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले भने, ‘अहिले बजार हाम्रो नियन्त्रणमा छैन ।’ सरकारले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत पनि चिनी ल्याउन पहल गरेन ।  

कर्पोरेसनले एकजनालाई दुई किलोका दरले चिनी बेचिरहेको छ । कर्पोरेसनले प्रतिकिलो ९७ रूपैयाँमा चिनी बिक्री गरेको छ । बजार अनुगमनका क्रममा सरकारले जफत गरेको सात सय क्विन्टल चिनी कर्पोरेसनले बिक्री गरिरहेको छ । उपत्यकाका विभिन्न सुपथ मूल्य पसलबाट ४५ हजार उपभोक्तालाई दुई किलोका दरले चिनी बिक्री गरेको कर्पोरेसनका विभागीय प्रबन्धक झाले बताए । ‘कर्पोरेसनसँग पनि अब धेरै चिनी स्टक छैन,’ झाले भने, ‘चिनी ल्याउन प्रयास गरे पनि सफलता मिलेको छैन ।’  

सरकारले गत भदौ २७ गते साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको छ । सरकारले ढिला अनुमति दिएकाले ल्याउन कठिनाइ भएको झाले बताए । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण पनि समस्या भएको हो । ‘भारतले निर्यातमा रोक लगाएको छ,’ झाले भने, ‘छोटो समय भएकाले टेन्डर गरेर अन्य मुलुकबाट ल्याउन सकिएको छैन ।’ तिहारसम्म चिनी ल्याउने प्रयास भैरहेको उनले बताए ।  

खुला बजारमा चिनी कालोबजारीमा बिक्री भइरहेको छ । व्यापारीले एक किलो चिनी १ सय ५० देखि १ सय ६० रूपैयाँमा बिक्री गरिरहेका छन् । कतिपय उपभोक्ताले कालोबजारीको चिनी पनि नपाएको गुनासो गरेका छन् । व्यापारीले अन्य सामान लगे मात्र एक÷दुई किलो चिनी दिने गरेको उपभोक्ता चूडामणि शर्माले बताए । ‘चिनी लिन गएको त साहुले अन्य सामान लगेमात्र दिन्छु भने,’ नयाँ बजार बस्ने शर्माले भने, ‘व्यापारीले मनपरी गर्दा पनि सरकार चुप लागेर बसेको छ ।’

बजारमा चिनी कम भएकाले कालोबजारी भएको हुन सक्ने नेपाल खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले बताए । ‘मागका आधारमा चिनी छैन,’ उनले भने, ‘अभाव भएपछि चलखेल हुन्छ ।’ १ सय १५ रूपैयाँमा एक किलो चिनी दिन संघले पहल गरिरहेको उनले बताए । बिहीबार बजारमा ५० किलोका ३ सय ८० बोरा चिनी पठाएको श्रेष्ठले बताए । ‘एभरेस्ट चिनी मिलसँग समन्वय गरेर बजारमा चिनी पठाउने प्रयास गरेका छौं,’ श्रेष्ठले भने, ‘यसले मूल्य नियन्त्रण गर्न टेवा पुग्ने विश्वास छ ।’ काठमाडौं उपत्यकामा दैनिक हजारौं बोरा चिनीको माग भइरहेको अवस्थामा तीन÷चार सय बोरा बजारमा पठाएर कालोबजारी नियन्त्रण हुँदैन ।

नेपाल चिनी उद्योग संघले कुनै पनि बेला बजार मागअनुसार चिनी उपलब्ध गराउन सकिने भनेर सरकारी अधिकारीलाई विश्वास दिलाएको तर चाहिएका बेला नदिएकाले अहिले अभाव भएको व्यापारी बताउँछन् । विदेशबाट चिनी नल्याउँदासम्म नेपाली उद्योगमा रहेको चिनी बिक्री गर्ने सरकारी अधिकारीले बताए । उद्योगी र व्यवसायीका गोदाममा १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी रहेको भनिए पनि उपभोक्ताले सहज रूपमा पाउन सकेका छैनन् । बजारमा चिनी अभाव हुन नदिन उद्योगी, व्यवसायीलाई बोलाएर छलफल गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

प्रकाशित: ३ कार्तिक २०८० ००:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App