१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैंका लागि पोखरा झरेका च्यांग्रा। तस्बिरः उमेश पुन/नागरिक

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्र र आसपासका क्षेत्रका उपभोक्ता पनि यो बेला च्यांग्रा किन्न हेम्जा क्षेत्रमा पुगेका छन।  

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट मात्र च्यांग्रा पोखरा झारिएका छन्। निकै नै थोरै संख्यामा मात्र डोल्पाका च्यांग्रा पोखरा झारिएका छन्। ती बाहेक दार्चुलाबाट समेत च्यांग्रा पोखरा ल्याइएको छ। बढी मूल्य पर्ने भन्दै दार्चुलादेखि च्यांग्रा बेच्न पोखरासम्म आएको व्यावसायीले बताएका छन्।  

अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो। भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख ऋषिराम पोखरेलले यो पटक दसैंमा मुस्ताङबाट झर्ने च्यांग्राको संख्या करिब ५ हजार ८ सय मात्र रहेको बताए। आठहजार च्यांग्रा झर्ने अनुमान रहेपनि त्यो आकारमा नझरेको उनले बताए। अहिलेसम्म ५ हजार ८ सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिडिसकेको उनले बताए। दसैंको दिन नजिक आइसकेकोले अब थप च्यांग्रा नआउने उनले बताए।  

पशुसेवा विज्ञ केन्द्रले स्वास्थ्य परीक्षण गरेर ती च्यांग्रा पोखराका लागि हिडेको उनले बताए। ‘कोरोना संक्रमण सुरु भएपछि तिब्बतबाट च्यांग्रा ल्याउन नपाएको र डोल्पाबाट समेत नआएपछि यो पटक च्यांग्रा कम संख्यामा झरेको हो,’ पोखरेलले भने, ‘कोरोना संक्रमण अघि तिब्बत र डोल्पाबाट पर्याप्त आउँदा केही वर्ष अघिका दसैंमा झन्डै २० हजार च्यांग्रा पोखरा झर्ने गरेका थिए।’

कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात समेत हुन पाएको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सिमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो। मेला नलाग्दा नाका हुँदै वर्षेनी भित्रिने हजारौं भेडाच्यांग्राको आयात योवर्ष पनि रोकिएको छ। त्यसले गर्दा अहिले स्वदेशी च्यांग्रा मात्र तल झर्ने गरेका छन्। कोरला नाकामा वर्षमा दुइपटक मेला लाग्थ्यो। असार–साउनमा एकपटक र भदौ–असोजमा अर्काेपटक गरेर वर्षमा १० देखि १५ दिनसम्मका लागि व्यापार मेला लाग्ने गरेको थियो।  

पोखरामा च्यांग्राको मूल्य बढी पर्ने भन्दै अहिले दार्चुलादेखि पनि च्यांग्रा बेच्न व्यावसायी पोखरा आएका छन्। दार्चुलादेखि ८० वटा च्यांग्रा लिएर बेच्नका लागि पोखरा आएका व्यावसायी करणसिंह कुँवरले योपटक मूल्य पनि बढी नै रहेको बताए। उनका अनुसार अहिले हेम्जामा आइपुगेका च्यांग्राको बजार मूल्य एउटैको २५ देखि ५० हजार रुपैयाँसम्म पर्छ।  

‘सबैतिर महंगी बढेको छ। मैले दार्चुलादेखि गाडीमा राखेर पोखरासम्म च्यांग्रा ल्याएको हुँ। ढुवानी खर्च पनि पर्ने नै भयो,’ कुँवरले भने, ‘मुस्ताङबाट ल्याइएका च्यांग्राको पनि भाउ महंगो नै छ। किनकी अब त ढुवानी खर्च पनि अधिक पर्न थाल्यो। बजारतिर सबैचिज महंगो पर्ने भएकोले च्यांग्राको मूल्य पनि अकाशिएको हो। किसानले पनि भाउ बढाएका छन्।’  

केही बढी मूल्य पाउने भनेर दार्चुलादेखि पोखरासम्म च्यांग्रा ल्याएको उनले बताए। ‘आफ्नै क्षेत्रमा पनि बिक्री नहुने त होइन, तर, मूल्य बढी पर्ने भएकोले पोखरासम्म ल्याएका हौं,’ उनले भने, ‘अधिक महंगो परेकोले उपभोक्ताले किनिहाल्ने आँट गर्न पनि सकेका छैनन।’ मूल्य बढी परेपछि उपभोक्ता नै च्यांग्रा किन्न हच्किन थालेको व्यावसायीले बताए।  

मुस्ताङमा भने मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन। तिनै च्यांग्रा किसानसँग किनेर अरु व्यवासायीले पोखरामा बेच्नका लागि झाछर्न। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।  

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्यांग्राको मासु बढि स्वादिलो हुने भन्दै चितवन, रुपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन।  

पोखरासम्म ल्याइएको ती च्यांग्राको अहिले मेला नै लागेको छ । हेम्जा क्षेत्रमा पुगेर उपभोक्ताले रोजीरोजी च्यांग्रा किन्न पाउँछन। योपटक पोखरा महानगरपालिका–२५ ले फेँदीबाट हिडाएर झार्न रोक लगाएपछि व्यावसायीले फँेदीसम्म हिडाएर ल्याएका च्यांग्रालाई गाडीमा चढाएर याम्दी र सिम्पानीसम्म ल्याउने गरेका छन्।  पोखरा–बागलुङ राजमार्गको हेम्जा खण्डमा बनेको नयाँ सडकको डिभाइडरमा रोपेका फूल र विरुवा खाइदिने भन्दै च्यांग्रा हिडाएर ल्याउन महानगरले रोक लगाएको छ।  

प्रकाशित: २ कार्तिक २०८० ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App