२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल स्टार्टअप फेस्ट: लगानीका लागि ११ कम्पनीसँग सहमति

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ ।  

हालै राजधानीमा आयोजित कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारीसमेत गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्विटी, टिम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबिएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरूसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रूपैयाँ रहेको जनाइएको छ ।  

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित पनि गरिएको छ ।

ग्रोथएक्स एभरेष्टको पहिलो ब्याचका रूपमा छानिएका आठ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो । बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो ।

तालिम प्राप्त गरेकामध्ये ६ वटा स्टार्टअप कम्पनीहरूले ती ११ वटा लगानी कम्पनीसमक्ष नवीन सोचबारे केन्द्रित प्रस्तुति गरेका छन् । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्ने भएका छन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपहरूलाई हौसला प्रदान गरेका थिए ।

नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताए ।  

स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्नुहुँदै नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरूका चुनौतीको सामना गर्न पूर्ण रूपमा सघाउन तयार रहेको उनले बताए । मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताए । 

प्रकाशित: ३० आश्विन २०८० ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App