विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ को तुलनामा आव २०७९/८० मा पामतेलको निर्यातमा ५०.१ प्रतिशतले ह्रास आएर २० अर्ब ५१ करोड रूपैयाँमा सीमित भएको छ।
केन्द्रका अनुसार आव २०७८/७९मा भने नेपालले ४१ अर्ब ६ करोड रूपैयाँ बराबरको पालतेल भारत निर्यात गरेको थियो। एकै वर्षभित्र पामतेलको निर्यात स्वाट्टै आधा घटेको हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले छिमेकी मुलुक भारतले अन्य मुलुकबाट पनि पामतेलको आयात खुला गरिदिएसँगै नेपालबाट भारतमा निर्यात हुने पामतेलको मात्रा स्वाट्टै घटेको बताए।
‘भारतले अन्य मुलुकबाट पनि पामतेलको आयात गर्न खुला गरेसँगै नेपालबाट निर्यात हुने पामतेलको हिस्सा घटेको हो,’ उनले भने, ‘हाम्रो मुलुकबाट निर्यात हुने पामतेलको बजार हिस्सा गुम्दै गइरहेको छ।’
नेपालले विशेष गरी पामतेल इन्डोनेसिया र मलेसिया लगायतका मुलुकबाट आयात गर्ने गर्छ। सो मुलुकबाट आयात गरेको तेललाई प्रशोधन गरेर छिमेकी मुलुक भारतमा निर्यात गर्दै आइरहेको छ।
केन्द्रका अनुसार गत आवमा मात्रै तीनवटा खाद्य तेल (पाम, भटमास र सूर्यमुखीको तेल) मा ६४ अर्ब २७ करोड बराबरको निकासी मूल्यमा ह्रास आएको हुँदा कुल निर्यातमा ह्रासको अवस्था देखिएको हो।
आव २०७९/८० मा प्रशोधित खाद्य तेलको निर्यातले नेपालको कुल निर्यातमा १९.७३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा कायम रहेको छ। यस अवधिमा यी वस्तुको कुल निर्यात २९ अर्ब ४३ करोड रहेको छ।
प्रशोधित खाद्य तेल निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः पामतेल १३.१, भटमास ५.४ र सूर्यमुखीको तेल ०.३ प्रतिशत रहेको छ। प्रशोधित खाद्य तेलबाहेक अन्य वस्तुहरूको समग्र निर्यातमा २०.१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
गत आवमा भटमासको तेलको निर्यातमा ८२.४ प्रतिशतले ह्रास आई आठ अर्ब ४८ करोडमा सीमित भएको छ। त्यसैगरी सोही अवधिमा यार्नको निर्यातमा २.९ प्रतिशतले ह्रास आइ १२ अर्ब २० करोड पुगेको छ।
गत आवमा मात्रै होइन, चालु आवको साउन–भदौ महिनामा पनि पाम तेलको निर्यात घटेको छ। केन्द्रका अनुसार आव २०७९/८० को प्रथम दुई महिनामा खाद्य तीन वटै तेलको निर्यातको हिस्सा २७.१ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको प्रथम दुई महिनामा भने त्यसको हिस्सा ३.१ प्रतिशतले खुम्चिएर ८३ करोड रूपैयाँमा मात्रै सीमित भएको छ।
केन्द्रका अनुसार नेपालबाट वस्तुगत तथा देशगत रूपमा निर्यात भएका मालवस्तुहरूको विश्लेषण गर्ने हो भने प्रमुख वस्तुहरूमा पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादनहरू, भटमासको तेल, अलैंची, जुट तथा जुटका सामान, तयारी पोशाक तथा एक्सेसरिज, जुस, ऊनी फेल्ट उत्पादन, चिया, कुकुर, बिरालाका आहारा, पश्मिना शल, कपडा, चाउचाऊ, रोजिन एण्ड रेजिन एसिड, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ताचप्पल प्रमुख रूपमा रहेका छन्। केन्द्रका अनुसार गत आवमा ऊनी गलैंचाको निर्यातमा २०.३ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड पुगेको छ।
फलाम तथा तिनका उत्पादनको निर्यातमा १७९.१ प्रतिशतले वृद्धि भई १० अर्ब ८२ करोड रूपैयाँ पुग्न गएको छ। तयारी पोशाक तथा एक्सेसरिजको निर्यात समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई आठ अर्ब ६२ करोड पुगेको छ।
जुट तथा जुटका उत्पादनको निर्यातमामा ४.१ प्रतिशतले ह्रास आइ सात अर्ब ६४ करोडमा सीमित भएको छ। यसै गरी अर्काे प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टका उत्पादनको निकासी समीक्षा अवधिमा ५.८ प्रतिशतले वृद्धि भई पाँच अर्ब २३ करोड रूपैयाँ पुगेको छ।
जुसको निकासीमा ९.२ प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड पुगेको छ। यसैगरी प्लाइउडको निर्यातमा ५०९ प्रतिशतले वृद्धि भई दुई अर्ब १५ करोड पुगेको छ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ७१.९ प्रतिशतले वृद्धि भई आठ अर्ब २८ करोड पुगेको छ।
यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्काे उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा १४.६ प्रतिशतले वृद्धि भई तीन अर्ब ९४ करोड पुगेको छ।
केन्द्रका अनुसार चालु आवको दुई महिनाको अवधिमा कुल वैदेशिक व्यापार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ५.३ प्रतिशतले ह्रास भई २८६ अर्बमा झरेको छ। चालु आवको दुई महिनाको अवधिमा आयातको हिस्सा ९०.८ प्रतिशत र निर्यातको हिस्सा ९.२ प्रतिशत रहेको छ।
चालु आवको दुई महिनाको अवधिमा नेपालको निर्यात ७.८ प्रतिशतले ह्रास आएर २६.४५ अर्बमा सीमित भएको छ। त्यसैगरी चालु आवको दुई महिनाको अवधिमा विदेशी वस्तु तथा सामानको आयात पनि ५.१ प्रतिशतले घटेर २५९ अर्बमा झरेको छ।
चालु आवको दुई महिनामा निर्यात हुने प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, अलैंची, जुस जुट तथा जुटका सामानहरू, प्लाइउड, उनी फेल्टका उत्पादन, चिया, पामतेल, जडीबुटी, कुुकुर, बिरालाका आहारा, पश्मिना शल, पिना, कपडा, अदुवा, तामा तथा तामाका उत्पादन, चाउचाउ प्रमुख रहेका छन्।
केन्द्रका अनुसार फलाम तथा तिनका उत्पादनको निर्यातमा ८१.६६ प्रतिशतले वृद्धि भई दुई अर्ब ७६ करोड पुगेको छ। त्यसैगरी यार्नको निर्यातमा ६.९८ प्रतिशतले वृद्धि भई दुई अर्ब १० करोड पुगेको छ। त्यसैगरी ऊनी गलैंचा भने ११.२० प्रतिशले ह्रास भएर एक अर्ब ९० करोड रूपैयाँमा झरेको छ।
प्रकाशित: २४ आश्विन २०८० ०१:२९ बुधबार