९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

इजरायल द्वन्द्व: हिँड्दा हिँड्दै मोडियो इजरायलीको पाइला

पदयात्रामा रहेका २५० जना भन्दा बढी इजरायली पाहुना फर्किसके: पर्यटन व्यवसायी

गण्डकी प्रदेशको विभिन्न पदमार्गमा पदयात्रामा जानेगरि भित्रिएका इजरायली पर्यटक। अहिले इजरायलमा द्वन्द्व बढेपछि इजरायली पर्यटकहरु धमाधम स्वदेश फर्किन थालेका छन्। तस्बिर सौजन्य: स्वीसा एडभेन्चर ट्राभल

पर्यटकीय क्षेत्र लेकसाइडमा स्वीसा माउन्टेन ट्रेकिङ कम्पनी चलाइरहेका अर्जुन दाहाल मंगलबार निकै नै व्यस्त थिए। कारण–इजरायली पर्यटकलाई विभिन्न क्षेत्रको पदयात्रा गराउँदै आएका दाहाललाई उनै इजरायली पर्यटकको फिर्ति टिकट व्यवस्थापनमा भ्याई न भ्याई थियो।

पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण क्षेत्रको पदयात्रामा जानेगरि पोखरा आएका इजरायली पर्यटकहरु अहिले धमाधम स्वदेश फर्किन थालेका छन्। प्यालेस्टाइनस्थित हमास समूहले शनिबार बिहान इजरायलमा आक्रमण गरेसँगै इजरायल द्वन्द्वमा फसेको छ। एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्। पदयात्रा अवधि नै पूरा नगरी पाहुनाहरु धमाधम स्वदेश फर्किन थालेको दाहालले बताए।

‘बीचैमा पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका इजरायली पर्यटक धेरै छन्। अहिलेसम्म मेरै सम्पर्कमा रहेका करिब एक सय जना जति इजरायली पर्यटक स्वदेश फर्किसकेका छन्,’ दाहालले भने, ‘अरु त्यत्तिकै संख्यामा तत्कालै फर्किने तयारीमा छन्। हामी पदयात्रा व्यावसायी उनै इजरायली पर्यटकलाई स्वदेश फर्काउने क्रममा हवाई टिकट व्यवस्थापन गरिरहेका छौं।’ 

पदयात्रामा रहेका ती पाहुना आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै पदयात्रा अवधि नै पूरा नगरी स्वदेश फर्किरहेको उनले बताए। पदयात्रा तालिका अनुसारको फर्किने टिकट लिएर भित्रिएका ती पाहुना बीचैमा फर्किनुपरेपछि उनीहरुलाई व्यवस्थापनमा समस्या भएको समेत दाहालले बताए।

‘देशले फर्किन भनेको छ भन्दै विभिन्न गन्तव्यमा रहेका पाहुनाहरु अहिले पोखरा झरिरहेका छन्, कतिपय स्वदेश फर्किसकेका छन्, केही फर्किने क्रममै छन्,’ उनले भने, ‘इजरायलमा द्वन्द्व चर्किदा त्यसको मार नेपालका पदयात्रा क्षेत्रमा पनि परेको छ। 

समग्र पर्यटन क्षेत्रले मार खेपेको छ।’ उनका अनुसार इजरायली पर्यटकहरु सामान्यतया ४ देखि १५ दिनको पदयात्रामा रमाउने गरी नेपाल भित्रिने गरेका थिए। उनीहरु धेरैजसो पदयात्रामा जाने गरेका थिए। अहिले इजरायलमा द्वन्द्व बढेपछि पदयात्रा नै रद्द गरेर पाहुना धमाधम फर्किएको उनले बताए।

अर्को पदयात्रा कम्पनी स्वीसा एडभेन्चर ट्राभलका संचालक मिलन तिवारीले पनि आफूले अन्नपूर्ण फेरोको पदयात्रामा पठाएका २० जना इजरायली पर्यटक सोमबार पदमार्गमा पर्ने स्याँगेबाट फर्किएको बताए। 

उनका अनुसार केही इजरायली पर्यटक चामे, केही मनाङ त कतिपय पदयात्रा थाल्दै गर्दा बीचबाटै फर्किएका छन्।

‘परिवारसहित आएका र केही पाको उमेरका पाहुना यतै छन्। नत्र भर्खरका युवालाई दूतावासमार्फत स्वदेश फर्किन भनिएको छ। त्यसपछि धमाधम अहिले इजरायलीहरु स्वदेश फर्केका छन्,’ तिवारीले भने, ‘दूतावासमार्फत हवाई उडानको चाँजो मिलाइएको छ। पदयात्रा अवधि नै पुरा नभएपछि पाहुना भारी मन लिएर स्वदेश फर्केका छन्।’

इजरायली पर्यटकलाई नेपालका विभिन्न भागमा पदयात्रा गराउँदै आएका गाइड शिवहरी सुवेदीले पनि अन्नपूर्ण क्षेत्रबाट मात्र कम्तीमा २ सय जना इजरायली पर्यटक स्वदेश फर्किसकेको बताए। ‘इजरायलमा जतिखेर घटना भयो, त्यो थाहा पाउनासाथ इजरायली पाहुनाले झोला बोकेर स्वदेश फर्किने निर्णय गरेका थिए। 

दूतावासबाट बोलावट हुनुअघि नै पाहुनाले स्वदेश फर्किनुपर्ने मनस्थिति बनाई सकेका थिए। ठाउँको ठाउँ उनीहरु स्वदेश फिर्तिमा लागे,’ सुवेदीले भने, ‘जुन सहरमा सहजै भेला भईन्छ, त्यही जम्मा भएर उनीहरु स्वदेश फर्किने क्रममा छन्।’ पोखरा क्षेत्रको पदयात्रामा रहेका इजरायली जतिसक्दो छिटो पोखरा झरेका छन् भने केही काठमाडौंमा भेला भएर फर्किएको उनले बताए। 

उनका अनुसार  यति बेला धेरै इजरायली पर्यटकहरु नेपालका विभिन्न गन्तव्यको पदयात्रामा थिए। अन्नपूर्ण, एभरेष्ट, मनासलु, लाङटाङ लगायतका गन्तव्यको पदयात्रामा रहेका इजरायली नागरिकहरु स्वदेशमा घटना घटेको थाहा पाउनासाथ तनाव अवस्थामा रहेको सुवेदीले बताए।

उनका अनुसार अहिले अन्नपूर्ण क्षेत्रका होटलमा इजरायली पाहुनाको संख्या ठूलो थियो।जसले गर्दा होटल र पदयात्रा कम्पनीलाई पनि सहज भएको थियो। तर, इजरायलमा अचानक घटेको घटनापछि ती पाहुनाले बीचमै यात्रा रोकेको उनले बताए। 

सुवेदीका अनुसार इजरायली पर्यटक पदयात्रा रुचाउँछन्। इजरायली पर्यटक फर्किनुपर्दा त्यसको मार पदयात्राका सामान बेच्ने व्यवसायमा समेत परेको उनले बताए।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले पनि गण्डकीका विभिन्न पदयात्रामा रहेका इजरायली पर्यटकहरु अहिले धमाधम स्वदेश फर्किने क्रममा रहेको बताए। 

उनले पनि करिब २ सय ५० जना इजरायली पर्यटकले गण्डकीको पदयात्रा त्यागिसकेको जानकारी दिए। ‘पदयात्रामा रहेका पर्यटकहरु बीचैमा यात्रा रोकेर स्वदेश फर्केका छन्,’ उनले भने, ‘सिजनको पदयात्रामा इजरायली पाहुनाको ठूलो योगदान थियो। तर, बीचमै यात्रा रोक्न ती पाहुना बाध्य छन्।’

पदयात्रामा रहेका बेला सरकारले फिर्ता बोलाएको भन्दै उनीहरुले धमाधम यात्रा रद्द गरेको अध्यक्ष पन्थीले जानकारी दिए। उनका अनुसार अहिले फर्किने मात्र नभई पदयात्राका लागि आउने तयारीमा रहेका इजरायली पाहुनाले पनि यात्रा रोकेका छन्। 

‘१५ जनाको दरले तीन वटा समूहमा आउने तयारीमा रहेका ४५ जना इजरायली पर्यटकले नेपालको यात्रा रोकेको जानकारी गराएको भन्ने एक जना व्यवसायीको गुनासो थियो,’ उनले भने, ‘सिजनको बेलाको पदयात्रालाई समेत यसले मार पारेको छ।’

पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण क्षेत्रको पदयात्रामा जानेगरि पोखरा आएका इजरायली पर्यटकहरु अहिले धमाधम स्वदेश फर्किन थालेका छन्। एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्। 

पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को अहिलेसम्म नेपाल भित्रिने इजरायली पाहुनाको संख्या झन्डै ५४ सय छ। सबैभन्दा बढी यही सेप्टेम्बरमा हवाई मार्गबाट मात्र १७ सय ३४ जना इजरायली पाहुना नेपाल भित्रिएका थिए। 

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बरमा नेपाल भित्रिने विदेशी पाहुनामध्ये संख्यात्मक हिसाबले १० नम्बरमा इजरायली पाहुना थिए। यसअघि गत मार्च र अप्रिलमा नेपाल भित्रिने इजरायली पाहुनाको संख्या एक हजार माथि रहेको उनले बताए।  

‘इजरायल मात्र नभई मध्य–पूर्व भएर आउजाउ गर्ने अन्य मुलुकका पाहुनालाई पनि यो द्वन्द्वले प्रभाव पार्नेछ,’ बोर्डका निर्देशक लामिछाने भन्छन्, ‘पर्यटन मात्र नभई समग्र अर्थतन्त्रमा यसको प्रभाव पर्छ।’ उनका अनुसार इजरायलसँगै टर्की, जोर्डन लगायतबाट मूलूकबाट आउने पाहुना बढी प्रभावित हुनेछन।’  

पर्यटकको आउजाउ मात्र नभई यो द्वन्द्वले विश्वकै अर्थतन्त्रलाई समेत संकटमा पार्नेछ। मध्य–पूर्व विश्वको झन्डै ३२ प्रतिशत कच्चा तेलको श्रोत हो। 

‘इन्धनको श्रोत भएकोले भाउ बढ्नासाथ हवाई भाडा बढ्नेछ। त्यसको असर पर्यटनमा स्वतः पर्छ,’ लामिछानेले भने। उनका अनुसार इजरायली पर्यटकहरु पदयात्रा गर्न रुचाउँछन्। साहसिक गतिविधिमा उनहिरुको चाहना हुन्छ। ‘सिजनको पर्यटन व्यवसायलाई यो द्वन्द्वले पुन समस्या निम्त्याउनेछ,’ उनले भने। 

प्रकाशित: २३ आश्विन २०८० १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App