२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

फाइल तस्बिर

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरूलाई एक कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकहरूले पाँच अर्ब ४० करोड नौ लाख रूपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ।

मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट दुई अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले भने, ‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, सेयर भर्ने स्थानहरूमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रूपमै रकम सङ्कलन हुने देखिएको छ।’

हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ।

१० अर्ब ५९ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर रहेको छ।

सेयर स्वामित्वअनुसार, प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रूपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले एक अर्ब पाँच करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रूपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रूपैयाँ पुग्ने छ।

प्रकाशित: १९ आश्विन २०८० ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App