१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकास गर्न सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका हुन्।

इजिप्टको शार्म अल शेखमा आयोजित एसियालीपूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै मन्त्री महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएका हुँदा यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्था गर्न नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरे।

बैठकमा अर्थमन्त्री महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्यकार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र न्यून तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख चुनौती रहेको बताए। चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरे।

न्यूनआय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच बिस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपत् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमासमेत सहयोग जस्ता माध्यमबाट एआइआइबीलगायतका बहुपक्षीय विकास बैंकहरूले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने तथ्य प्रस्तुत गरे।

खासगरी विकासशील सदस्य राष्‍ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थतर्फ इङ्गित गर्दै अर्थमन्त्री महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको औंल्याए। 

प्रकाशित: ११ आश्विन २०८० ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App