२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

किन खुम्चियो वैदेशिक व्यापार?

अर्थतन्त्रमा देखिएका समस्याका कारण मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ। चालु आर्थिक वर्ष (आव) मा आर्थिक गतिविधि बढेर व्यापार वृद्धि हुने अपेक्षा गरिएको भए पनि पहिलो दुई महिनामा आयात, निर्यात दुवै खुम्चिएको छ। कुल वैदेशिक व्यापारमा १६ अर्ब रूपैयाँले कमी आएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आव २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) मा आयात ५.०६ प्रतिशत, निर्यात ७.७९ प्रतिशत र कुल वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ। व्यापार घाटा ४.४७ प्रतिशतले घटेको छ। व्यापार घाटा घट्नुलाई राम्रो मानिए पनि निर्यात घट्नुलाई राम्रो मानिँदैन। बजारमा उत्पादन र उपभोग घटेकाले आयातमा गिरावट आएको अर्थ क्षेत्रका जानकार बताउँछन्। यसले अर्थतन्त्रमा समस्या रहेको  संकेत गर्छ।

आयात, निर्यात घट्नु अर्थतन्त्र चलायमान नभएको संकेत भएको पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाले बताए। ‘अर्थतन्त्रमा संकुचन आएका कारण वैदेशिक व्यापार प्रभावित भएको देखिन्छ,’ ढुंगानाले भने, ‘रेमिटेन्स बढ्दा खपत बढ्नुपर्ने भए पनि बढेन।’

आयात निर्यात प्रभावित हुँदा त्यसको असर राजस्वमा पर्ने ढुंगानाले बताए। ‘वैदेशिक व्यापारको संकुचनले बहुक्षेत्रमा प्रभाव पर्छ,’ उनले भने, ‘राजस्व घट्दा खर्च चलाउन समस्या पर्छ।’

गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ अर्ब रूपैयाँबराबरको वस्तु तथा सामान कम आयात भएको छ। गत आवमा सरकारले विलासितामा पर्ने सवारीसाधन तथा मोबाइल फोनलगायतका सामानमा प्रतिबन्ध लगाएको अवस्थामा भन्दा पनि अहिले आयात खुम्चिएको छ।

विभागका अनुसार गत आवको साउन र भदौ महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड रूपैयाँबराबरको वस्तु र सामान आयात भएको थियो। चालु आवको सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले आयातमा गिरावट भएर दुई खर्ब ५९ अर्ब ७४ करोड रूपैयाँबराबरको वस्तु तथा सामान आयात भएको छ।

विदेशी मुलुकबाट आयातित वस्तु र सामानको हिस्सा घटेसँगै वैदेशिक व्यापार घाटा पनि कम भएको छ। भन्सार विभागका अनुसार गत आवको दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रूपैयाँ बराबर थियो। चालु आवको दुई महिनामा आयात ह्वातै घटेपछि व्यापार घाटाको अंश पनि ४.७४ प्रतिशतले घटेर दुई खर्ब ३३ अर्ब ३० करोड रूपैयाँमा सीमित भएको छ।

विभागका अनुसार चालु आवको दुई महिनामा कुल वैदेशिक व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रूपैयाँको भएको छ। जबकि गत आवको सोही अवधिमा तीन खर्ब दुई अर्ब २८ करोड रूपैयाँको कुल वैदेशिक व्यापार भएको थियो। गत आवको तुलनामा चालु आवमा कुल वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ। चालु आवको दुई महिनामा कुल वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९०.७६ प्रतिशत र निर्यातको हिस्सा ९.२४ प्रतिशत छ। गत आवको सोही अवधिमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत थियो।

विभागका अनुसार चालु आवको दुई महिनामा २६ अर्ब ४४ करोड रूपैयाँबराबरका वस्तु विदेशी मुलुकमा निर्यात भएका छन्। जबकि गत आवको सोही अवधिमा नेपालबाट २८ अर्ब ६८ करोड रूपैयाँबराबरका वस्तु तथा सेवा निर्यात गरिएको थियो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनाको निर्यात ७.७९ प्रतिशतले घटेको छ।

विभागका अनुसार गत आवमा समग्रमा वैदेशिक व्यापारमा तीव्रतापूर्वक गिरावट आएको थियो। आव २०७९/८० मा मुलुकको आयात, निर्यात दुवैमा उच्च गिरावट आएको थियो। गत आवमा वैदेशिक व्यापार साढे तीन खर्ब रूपैयाँले खुम्चिएको थियो। आव २०७८/७९ मा मुलुकको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रूपैयाँ रहेकोमा आव २०७९/८० मा खुम्चिएर १७ खर्ब ६८ अर्बमा झरेको थियो।

कुल वैदेशिक व्यापारमा १६.५८ प्रतिशतले कमी आएको विभागले जनाएको छ। आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट आएको छ। विभागका अनुसार गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँको वस्तु तथा सामान आयात हुँदा एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको थियो। नेपाल राष्ट्र बैंकले गत आवमा विदेशी डलर सञ्चिति कम भएको भन्दै सुविधासम्पन्न सवारीसाधन र अन्य बहुमूल्य धातु आयातमा प्रतिबन्ध लगाएको थियो। जसका कारण गत अवामा विदेशी मुलुकबाट हुने आयातमा पनि केही कमी आएको हो।

आव २०७८/७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो। आव २०७९/८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ। गत आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत र आयातको हिस्सा ९१.१२ प्रतिशत थियो। अघिल्लो आवमा भने निर्यातको हिस्सा ९.४३ प्रतिशत र आयातको हिस्सा ९०.५७ प्रतिशत थियो। गत आवमा आयात मात्रै होइन, निर्यात पनि धेरै खस्किएको छ।

अघिल्लो आवमा दुई खर्ब रूपैयाँको निर्यात भएको थियो। सोही आवको तुलनामा गत आवमा भने निर्यातको हिस्सा २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्ब रूपैयाँको नेपाली वस्तु तथा सामान विदेशमा निर्यात भएको हो।

गत आव आयातको हिस्सा ९०.५७ प्रतिशत र निर्यातको हिस्सा भने ९.४७ प्रतिशत थियो। आव २०७८/७९ मा नेपालको विदेशी मुलुकहरूसँगको व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ थियो। अघिल्लो आवको तुलनामा गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा पनि १५.४५ प्रतिशत अर्थात् २ खर्ब ६६ अर्ब रूपैयाँले घटेको छ। गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रूपैयाँमा खुम्चिएको छ।

प्रकाशित: ८ आश्विन २०८० ००:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App