३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारको राजस्व असुली लक्षको ५७ प्रतिशत मात्रै

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्षको करिब ५७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८०/८१ को भदौ महिनामा ५६.८१ प्रतिशत मात्रै राजस्व असुली गरेको जनाएको छ।

कार्यालयको तथ्याँक अनुसार भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको हो।

साउन महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो। चालु आर्थिक वर्षको साउन र भदौ महिनामा संकलन भएको राजस्व अघिल्लो आर्थिक वर्षको सोही महिनामा संकलन गरेको राजस्व भन्दा कम हो।

अघिल्लो आर्थिक वर्ष ०७९/८० को साउन महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ९५ करोड १४ लाख १७ हजार रुपैयाँ राजस्व असुली गरेको थियो। यस्तै भदौ महिनामा ३ अर्ब ११ करोड १ लाख रुपैयाँ असुली गरेको थियो।

विराटनगर भन्सार कार्यालयको राजस्व घट्नुमा देश भित्रको आर्थिक गतिविधि सुस्त हुनु नै मुख्य कारण रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए। उनले अन्तर्राष्ट्रिय बजारमा बस्तुको मूल्य वृद्धि भएका कारण नेपाली उपभोक्ताले उपभोग घटाएका छन्। जसका कारण बजारमा माग नै कम हुँदा आयात निरन्तर घट्दै गएको छ। यस्तै विराटनगर नाकाबाट आयात गर्ने केही ठूला आयातकर्ता अन्य नाकातर्फ सरेका कारण पनि विराटनगर नाकाको आयात प्रभावित भइरहेको दाहालले बताए।

प्रकाशित: ७ आश्विन २०८० ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App