१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

‘अर्गानिक’ आलु भित्र्याउँदै मुस्ताङ

मुस्ताङको लोमान्थाङस्थित ठिंगारमा गरिएको आलु खन्दै किसान। तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिका–३,ठिङगारको ठिंगार कृषि समूहका सदस्य यतिबेला आलु खन्न व्यस्त छन। गत जेठ पहिलोसाता रोपेको आलु अहिले खन्ने बेला भएको छ। आलु खनेर अहिले किसानले धमाधम बोरामा थुप्रो लगाएका छन्।

खुकुलो माटोमा कुनैपनि रासायनिक मल प्रयोग नगरि फलाएको यो आलु पोखरा लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ। किसानका अनुसार आलुलाई बजारको अभाव छैन। समूहका अध्यक्ष कर्मा छेन्डु गुरुङका अनुसार १३ जना किसान यो समूहमा सदस्य छन्। तिनै सदस्यहरुले १३० रोपनी जग्गामा सामुहिक रुपमा आलु रोपेका हुन। आलुखेती गरिएको जग्गामध्ये केही व्यक्तिको हो भने केही जग्गा भाडामा लिइएको हो। ४० रोपनी जग्गा भाडामा छ।  

‘स्थानीयले खेती नगरी बाँझो रहेको जग्गा पनि यसैमा छ। केही भाडामा लिएका हौ, कृषक समूहका कतिपय सदस्यको जग्गा पनि यसैमा छ,’ अध्यक्ष गुरुङले भने, ‘योपटक राम्रो फलेको छ। यो वर्ष ४५ टन आलुृ फलेको अनुमान छ। अहिले धमाधम खनिरहेका छौ। बिक्री गर्न समस्या छैन।’ चिसो हावापानीमा फलेको आलु निकै नै स्वादिलो हुने समेत उनले बताए। खनेको आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने उनले बताए।

जेठमा रोपेको आलु अहिले बल्ल खन्ने बेला भएको उनले बताए। बाख्राको मल हालेर गरेको खेती भएकोले यो आलु शुद्ध अर्गानिक उत्पादन भएको उनले बताए। उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा अहिले उत्पादन भएको आलुले माथिल्लो क्षेत्रको परिचय समेत बदल्न सघाएको उनले बताए। उनका अनुसार अहिले सामुहिक रुपमा आलु खनेको ठाउँ समुन्द्री सतहदेखि ३९ सय मिटर उचाईमा पर्छ।  

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार लोमान्थाङका धेरै ठाउँमा आलुखेती हुन्छ। स्थानीयले पुरानो र स्थानीय जातको बिउ रोप्ने गर्छन। गाउँपालिकाले गाउँपालिकाकाले ३ मा पर्ने ठिंगर क्षेत्रलाई आलुका लागि विशेष पकेट क्षेत्र तोकेर खेती गर्न किसानलाई सघाउने गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। ‘हुन त आलु सिंगो गाउँपालिकामा फल्छ। यो बेला किसान उत्पादन भिœयाउने चटारोमा छन्। चिसो मौसमको उत्पादन भएकोले यो निकै स्वादिलो पनि छ,’ उनले भने, ‘बजार अभाव छैन।’  

मुस्ताङका अगुवा इन्द्रधारा विष्टका अनुसार अहिले माथिल्लो क्षेत्रमा आलु खन्ने काम चलिरहेको छ। तल्लो खण्डमा भने खनिसकिएको छ। तल्लो भेगमा बढि तातो हुने भएकोले केही अगाडि नै आलु खन्न मिल्ने हुन्छ। माथिल्लो भेगमा भने चिसो मौसमका कारण खन्न ढिला हुने गरेको उनले बताए। माथि र तलको समय करिब एकमहिना फरक हुन्छ। ‘अहिले लोमान्थाङ र लो घेकर दामोदरकुण्ड गाउँपालिकाका किसानले धमाधम आलु खनिरहेका छन,’ गण्डकी प्रदेशसभाका पूर्व सदस्य समेत रहेका विष्टले भने ।खउनका अनुसार अहिले आलु खनेको बारीमा अब बैशाख अन्तिममा फेरि आलु नै रोप्ने हो।  

कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी हरिप्रसाद न्यौपानेका अनुसार तल्लो मुस्ताङमा आलु खन्ने काम सकिएको छ। माथिल्लो क्षेत्रको लोमान्थाङ र लो घेकर दामोदरकुण्ड गाउँपालिकामा आलु खन्ने काम चलिरहेको उनले बताए। जिल्लामा सबैगरि ३१२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ। गतवर्ष ९ हजार ६ सय मेट्रिक टन आलु फलेको उनले बताए। यो वर्ष केही पानी परेकोले पोहोर भन्दा उत्पादन घट्ने अनुमान रहेको उनले बताए।  

न्यौपानेका अनुसार चारदशक पहिले देखिको बिउ किसानले रोपिरहेका छन्। यहीको वातावरणमा भईरहेको स्थानीय जातको एउटै बिउ प्रयोग भईरहेको उनले बताए। ‘आलु यहाँका मुख्य उत्पादन हो। बिक्रीको समस्या खासै हुँदैन। परार प्रतिकिलो ६०, पोहोर ५० र अहिले पनि ६० रुपैयाँमा बिक्री भईरहेको छ,’ उनले भने, ‘पोहोर अन्यत्र पनि उत्पादन धेरै भएकोले बजारमा माग कम भएकोले केही मूल्य कम भयो। तर, यो पटक ६० रुपैयाँमा बारिबाटै बिक्री भएको छ।’ शुद्ध प्रांगारिक उत्पादन भएकोले मुस्ताङको आलुको लागि बजार अभाव नभएको उनले बताए।

प्रकाशित: २ आश्विन २०८० ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App