१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रपतिसँग महिला उद्यमी महासंघको भेट

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ। भेटमा राष्ट्रपतिले महासंघको उपस्थितिका निम्ति आभार व्यक्त गरे।

उनले विगतमा सरकारले शिक्षा, स्वास्थ्य, सडक आदिलाई जोड दिए धेरै उत्पादकत्व बढाउन नसकेको बताए। ‘अहिले जिल्ला र प्रदेशका उद्यमी तयार भएका छन्,’ पौडेललाई उद्धृत गर्दै एक उद्यमीले भनिन्, ‘तपाईंहरूले गाउँगाउँमा उद्यमशीलता फैलाउनुभएको छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ।’

राष्ट्रपति पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले महिला उद्यमी महासंघलाई आफ्नै भवनमा सार्ने धोको रहेको बताइन्। ‘महिला उद्यमीहरूका उत्पादनहरूलाई सङ्ग्रह गरी बजारीकरण गर्नका लागि हामीलाई अलि धेरै क्षेत्रफलसहितको जग्गा चाहिएको छ। त्यसका लागि महासंघले सरकारसँग पटक–पटक सहयोग मागिरहेको छ’, उनले नागरिकन्यूजसँग भनिन्। 

अध्यक्ष ज्ञवालीले सरकारले काठमाडौँका कुनै पनि स्थानमा जग्गा उपलब्ध गराइदिएमा आफूहरूले त्यसमा प्रदर्शनी कक्षलगायत सुविधा सम्पन्न भवन बनाउन पहल गर्ने पनि बताइन । उनले भनिन,  ‘महिला उद्यमीको उत्पादनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सजिलो हुन्छ। यति मात्र नभई महिलाहरूलाई विभिन्न सिपमूलक तालिमहरू दिन पनि सकिन्थ्यो र सजिलाे हुन्थ्याे।’

अध्यक्ष ज्ञवालीका अनुसार महासंघले यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो। ‘हामीले तत्कालीन प्रधानमन्त्री देउवालाई भेटेर महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन आग्रह गरेर ज्ञापनपत्र पनि बुझाएका थियौँ। उहाँले हामीसँग प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो’, उनले भनिन्। 

महासंघले हालसम्म महिलाको सामाजिक एवं आर्थिक सशक्तीकरणका लागि बहस तथा पैरवी गर्दै आएको छ। साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीका हकअधिकार सुनिश्चितताप्रति सशक्त ढंगबाट महासंघले वकालतसमेत गर्दै आएको छ।

महिला उद्यमी महासंघको बिसौं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनले शुक्रबार ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको थियो। राजधानीमा सम्पन्न महाधिवेशनले ज्ञवालीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको थियो।

महाधिवेशनले महासंघको प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुनीता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्षमा वसन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठलाई निर्वाचित गरेको थियो।

राष्ट्रपतिसँगको भेटमा संस्थापक अध्यक्ष शान्ति चढ्ढा र निवर्तमान अध्यक्ष निरु रायमाझी खत्री, उपाध्यक्षहरुसमेतको सहभागिता थियो। यसैगरी भेटमा नवनिर्वाचित प्रदेश प्रतिनिधी र सदस्यहरूको पनि सहभागिता थियो। अध्यक्ष ज्ञवालीले राष्ट्रपतिसमक्ष ज्ञापनपत्रसमेत पढेर सुनाएकी थिइन्।

प्रकाशित: २५ भाद्र २०८० ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App