पाँचथर – फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ।
एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल तिवारीले जानकारी दिए।
यहाँका करिब १५० परिवारको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । संकलन गरिएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय र कृषि विभागमा पठाइएको छ। विभागबाट क्षतिपूर्ति आए बाढीपीडितलाई राहत उपलब्ध गराइने तिवारीले बताए। पहिरो झर्ने क्रम नरोकिएको स्थानीयवासी दीपसन पौडेलले बताए। सो क्षेत्रमा पहिरोका कारण ११४ परिवार विस्थापित बनेका छन् भने दुईजना बेपत्ता तथा एकजनाको मृत्यु भएको छ । रासस
प्रकाशित: १९ भाद्र २०७४ ०९:१२ सोमबार