इलाम– भारत पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण पूर्वी सीमावर्ती बजारहरूमा खाद्यान्नको भाउ आकाशिएको छ । ७३ दिनयताको आमहड्तालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न ओसार्न थालेपछि मूल्य ह्वात्तै बढेको हो।
भारतमा आमहड्ताल सुरु हुनुअघि सामान्य रहेको चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको स्थानीय उपभोक्ताले बताएका छन् । ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन् । उपभोक्ताका अनुसार खाद्यान्नमा अहिले १० प्रतिशतसम्म मूल्य बढेको छ ।
स्थानीय उपभोक्ता कमल गदालले पश्चिमबंगालको आमहड्ताल सुरु हुनुअघि २५ किलो चामलको मूल्य २ हजार ६ सय रुपैयाँ रहेकामा अहिले त्यो मूल्य बढेर ३ हजार रुपैयाँसम्म पुगेको बताए । दालमा प्रतिकिलो ५ देखि १०, खानेतेलमा प्रतिलिटर १० देखि २०, आँटामा प्रतिकिलो ५ रुपैयाँ र मरमसालामा पनि साविकभन्दा भाउ बढेको उनले जनाए । ‘भारतबाट आउने सबै खाद्यान्नको मूल्य बढेको छ,’ उनले भने, ‘भारतमा बन्द जारी रहे यो मूल्य अझै चुलिएला भन्ने डर छ।’
पश्चिमबंगालको लामो आमहड्तालका कारण भारतीय उपभोक्ता सीमावर्ती क्षेत्रमा खाद्यान्न लिन आइरहेका छन् । उपभोक्ताको चाप र खाद्यान्न ढुवानीमा लगानी बढेकाले उपभोक्ताले तिर्नुपर्ने मूल्य पनि प्रभावित भएको हो । पशुपतिनगरलगायत सीमावर्ती बजारहरूमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो । अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको व्यापारी बताउँछन् ।
एक व्यापारीका अनुसार दार्जिलिङ र मिरिकमा सवारी चल्दा भारतबाट नाका छलेरसमेत सामान ल्याउन सकिन्थ्यो । ‘उता गाडी चल्दा कहिले भन्सारलाई थोरै शुल्क तिरेर त कहिले शुल्कै नतिरी पनि दोकानका सामान ल्याउन पाइन्थ्यो । सस्तोमा बेच्न पनि सकिन्थ्यो,’ ती व्यापारी भन्छन्, ‘अहिले सबै सामान काँकडभिट्टाबाट झिकाउनुपर्छ, लागत बढेपछि मूल्य त बढ्ने नै भयो नि !’ ती व्यापारीले सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको बताए । तर, उपभोक्ता भने नेपालमै उत्पादन भएका खाद्यान्नसमेतको मूल्य बढेको गुनासो गर्छन् ।
दार्जिलिङको आमहड्तालका कारण पशुपतिनगरसहितका सीमावर्ती बजार चाहिँ ठप्प नै छन् । भारतीय ग्राहक नआउँदा सबैजसो पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै देखिन्छन् । तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ता किनमेलका लागि आइरहेका छन् । आमहड्तालका कारण गाडी नचल्ने भएकाले भारतीय ग्राहक घन्टौं धाएर पशुपतिनगरबाट खाद्यान्न ओसार्न बाध्य छन् । कतिपय ग्राहक आन्दोलनरत दलको ‘सिफारिस’सहित गाडी नै लिएर आउने गरेका छन् भने कतिपय सर्वसाधारणले पिठ्युँमै भारी बोकेर खाद्यान्न लैजाने गरेका छन् ।
स्थानीय व्यापारी निमा लामाले केही सातायता पसलमा भारतीय ग्राहकको भीड घटेको बताए । ‘भारतमा उताकै व्यापारीले राति–राति गाडी चलाएर खाद्यान्न ओसार्न थालिपछि ग्राहकको संख्या घटेको छ,’ उनले भने, ‘ग्राहक बढेर होइन, लागत बढेकाले खाद्यान्नको भाउ बढेको हो ।’ तर, उनले खाद्यान्नको भाउ केही बढेपनि बजारमा हल्ला भएजसरी धेरै चाहिँ नबढेको बताए । ‘चामल र गहँुमा मूल्य बढेको छ, अन्य खाद्यान्नमा धेरै बढेको छैन,’ उनले भने । किसानले धान नबेचेका कारण बजारमा चामल नै कम आएकाले मूल्य बढेको व्यापारीबाट सूचना पाएको उनले जनाए ।
पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक ४० लाख रुपैयाँसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्यजस्तै छ । खाद्यान्नबाहेक अन्य वस्तुको कारोबार ठप्प रहेको संघ अध्यक्ष प्रमोद राईले जानकारी दिए । ‘भारतमा जति दिनदेखि बन्द छ, पशुपतिनगर पनि त्यसै दिनदेखि उस्तै छ,’ उनले भने, ‘यहाँको बजारको भर नै भारतीय पर्यटक थिए, उनीहरू नै नआउँदा कारोबार शून्य भएको हो ।’ पशुपतिनगरसहित सन्दकपुर, जोगमाई, मानेभञ्ज्याङ, श्रीअन्तु, समालबुङलगायतका बजारमा अहिले खाद्यान्नबाहेक लुगाकपडा, भाँडाकुँडा, जुत्ता–चप्पल र खेलौनाजस्ता उपभोग्य वस्तुको कारोबार ठप्प छ ।
नष्ट हुँदै तरकारी
दार्जिलिङसहित मिरिक, कालिम्पोङ र खर्साङमा आमहड्ताल कायम रहँदा पूर्वी क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिँदैछ । बिक्रीका लागि भारतीय बजारमा भर पर्ने किसानले अढाई महिनायता आफूले उत्पादन गरेको तरकारी बेच्न पाएका छैनन् ।
जिल्लाका पशुपतिनगर, कन्याम, जोगमाई, गोर्खे, श्रीअन्तु, समालबुङलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी भारतीय बजारमा जाने गरेको थियो । तर, भारतमा गाडी नचल्दा किसानले उत्पादन बेच्न नपाएका हुन् । उनीहरूले उत्पादन गरेको अकबरे, इस्कुस, बन्दा, टमाटर, मुला, काउली, सिमी, सागजस्ता तरकारीको बिक्री ठप्प रहेको पशुपतिनगरका किसान शेरबहादुर तामाङले बताए । ‘बारीभरी तरकारी कुहिन थालिसक्यो, बेच्न लैजान पाएको छैन,’ उनले भने, ‘तरकारी त भण्डारण गरेर पछि बेचौंला भन्दा पनि सकिँदैन, स्थानीय बजारले पनि सबै उत्पादन खपत गर्दैन ।’ तामाङका अनुसार गाउँका सयौं किसान तरकारी बेच्न नपाएर चिन्तित छन् ।
पशुपतिनगरबाट दिनहुँ ५ ट्रकसम्म तरकारी भारतीय बजार जाने गरेको उद्योग वाणिज्य संघले जनाएको छ । ‘यहाँका किसानको मुख्य आम्दानीको स्रोत तरकारी नै थियो,’ संघ अध्यक्ष राईले भने, ‘तर, उताको बन्दले तरकारी नबिक्दा दिनहुँ लाखौं रुपैयाँको क्षति भइरहेको छ ।’ राईले तरकारीको व्यावसायिक खेती गर्ने किसान भारतको बन्दले प्रत्यक्ष प्रभावित भएको बताए । उनका अनुसार यहाँका एकै किसानले वर्षमा १२–१५ लाख रुपैयाँको तरकारी भारतीय बजारमा बेच्ने गरेका थिए ।
गोर्खाल्यान्ड राज्य माग गर्दै पश्चिमबंगालका नेपालीभाषीले त्यहाँका बजार, पसल, स्कुल, उद्योग कलकारखाना, सवारी साधनलगायत सबै क्षेत्र ठप्प बनाएको शनिबार ७३औं दिन बितेको छ । बन्द खुल्ने छाँट नदेखिँदा जनजीवन उकुसमुकुस छ । विश्वमै नामी ‘दार्जिलिङको चिया’ उत्पादन र बिक्री नहुँदा दिनहुँ अर्बाैं रुपैयाँको नोक्सान भइरहेको छ ।
प्रकाशित: १० भाद्र २०७४ १३:२२ शनिबार