१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

लक्ष्य सहजै पुरा हुनेछः पर्यटन बोर्ड

आगमनको संकेत कमजोर छः व्यावसायी

सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। आठ महिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या बल्ल ६ लाख नाघेको छ। 

यो अगष्टमा नेपाल भित्रिएका ६७ हजार १ सय ५३ विदेशी पाहुना सहित नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख १ हजार ३ सय ६० पाहुना भित्रिएका छन्।

सरकारी लक्ष्य पुरा गर्न अबको चार महिनामा कम्तीमा चार लाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चार महिनामा चार लाख विदेशी पर्यटक नेपाल आउलान् त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चार महिनामा चार लाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’ पदयात्राको उपयुक्त समय पनि पर्ने भएकोले अबका महिना नेपालमा विदेशी पाहुना आगमन निकै नै उकालो लाग्ने अपेक्षा बोर्डको छ।

‘अबको चार महिनामा चार लाख विदेशी पाहुना भित्र्याउन  सकेमा मात्र सरकारी लक्ष्य पुरा हुन्छ, सरकारी लक्ष्य पुरा गर्न उत्ति सारो सकस नहोला,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘पदयात्राको मुख्य सिजन पनि यहीबेला पर्ने भएकोले पर्यटक आगमनको आकार निकै नै उकालो लाग्नेछ। बीचमा कुनै अप्ठ्यारो नआए सरकारी लक्ष्य सहजै पुरा हुनेछ।’ मुख्य पर्यटकीय सिजन सेप्टेम्बरदेखि सुरु हुने र अक्टोबर–नोभेम्बरमा झनै धेरै पाहुना आउने उनले बताए। सेप्टेम्बरदेखि बढ्ने पाहुना आगमन डिसेम्बर अन्तिममा बल्ल घट्न थाल्ने पर्यटन व्यवसायीले बताउने गरेका छन्। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान हुन थालेकोले पनि त्यसले आगमन बढाउन सघाउने अपेक्षा रहेको लामिछानेको भनाई छ।

नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा भित्रिएका थिए। सन् २०१९ मा नेपालमा सबैभन्दा बढी ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएको तथ्यांक छ। त्यसअघि सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पाहुना भित्रिएका थिए। कोरोना भाइरस संक्रमणले गर्दा २०२० मा आगमन घटेर २ लाख ३० हजार ८५ मा झरेको थियो। २०२१ मा झनै कम १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। कोरोनाले गर्दा निकै नै ओरालो लागेको आगमन उकासिने क्रममा रहेकोले सन् २०२३ मा १० लाख पाहुना भित्र्याउन सकिने अनुमान बोर्डको छ।

‘यो वर्षको सुरुवातदेखि नै पाहुना आगमनमा सुधार हुँदै आएको थियो। बोर्ड र निजी क्षेत्रले बीचबीचमा विभिन्न मुलुकमा प्रवर्द्धनात्मक कार्यक्रम पनि संचालन गरेका छन्, त्यसबाहेक काठमाडाैँसँगको अन्तर्राष्ट्रिय हवाई सञ्जाल पनि बिस्तार भईरहेको छ,’ निर्देशक लामिछानेले भने, ‘त्यसैले गर्दा पर्यटक आगमनको लक्ष्य पुरा हुनेमा आशावादी छौ।’

सरकारको लक्ष्य पुरा गर्न अब चार लाख विदेशी पर्यटक भित्रिनुपर्ने भएपनि त्यो संख्या पुरा हुने लामिछानेको दाबी छ। त्यस्तै अबको समयलाई पदयात्राको सिजन पनि मानिने भएकोले पदयात्राका लागि पर्यटक आउने उनको भनाई छ। ‘सेप्टेम्बरदेखि नोभेम्बर मुख्य सिजन हो। त्यसैले अबको समय पर्यटन क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ,’ उनले भने, ‘अबको चार महिनामा चार लाख पर्यटक पक्का आउनेछन्। अहिले हवाई कनेक्टिभिटी बढिरहेको पनि छ।’

गौतमबुद्धमा उडान हुँदा लुम्बिनीका लागि पर्यटक बढ्ने अपेक्षा रहेको उनले बताए। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उडान गर्दा लुम्बिनी आउने बुद्धिष्ट पर्यटक बढाउन सकिन्छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनात्मक गतिविधिमा निजी क्षेत्र र बोर्ड सक्रिय रहेकोले बजारीकरण भएको छ, जसले पाहुना भित्र्याउन सघाउनेछ।’ बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण २०२० देखि पर्यटक आगमन ओरालो लाग्न थालेको थियो।

पर्यटन व्यावसायी भने पर्यटकीय सिजन सुरु हुनै लाग्दा पनि पर्यटक आगमनमा सुधार हुने संकेत नदेखिएकोले सरकारी लक्ष्य पुरा गर्न सहज नभएको बताउँछन्। पोखरामा अहिले विदेशी पाहुनाको आगमन निकै नै कमजोर रहेको उनीहरुको भनाई छ। पोखराको आगमन कमजोर हुनु भनेको नेपालकै आगमनमा पनि प्रभाव पर्ने व्यावसायीको धारणा छ। ‘पोखराको तथ्यांक निकै नै कमजोर छ, तर, राष्ट्रिय आँकडा केही राम्रो हुनसक्छ। तर, अपेक्षाकृत नहुन सक्छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘सिजनको सुरुवातको अवस्था भने पोखराका लागि निकै नै कमजोर छ। सोधपुछ पनि कमजोर छ। पोखरा कमजोर हुनु भनेको समग्र नेपालकै पर्यटन कमजोर हुनु हो।’

पोखराको आउजाउ सहज नभएकोले केही कम भएपनि यसले समग्र नेपालको पर्यटनमा प्रभाव पार्ने भएकोले अबको चार महिनामा चार लाख पर्यटक भित्रिनेमा आशंका गर्न सकिने उनले बताए। ‘नेपालसम्मको  हवाई भाडा अधिक महँगो भयो। नेपालसम्म आउने भाडाले युरोपका धेरै मुलुकसम्मको हवाई भाडा पुग्छ,’ श्रेष्ठले भने, ‘हवाई भाडा महँगो भएकोले पनि नेपाल आउने विदेशी पाहुना अन्यत्र डाइभर्ट भएका छन्। भाडा महँगो भएकोले पनि पर्यटक अन्यत्र गए।’

व्यवसायीले बढी अपेक्षा गरेको चिनियाँ पाहुनाको आकार पनि सोचे जति नआएको उनले बताए। ‘चिनियाँ पाहुना पर्याप्त नआउनुमा पनि हवाई भाडा महँगो भएरै हो। चिनियाँप्रति हाम्रो अपेक्षा राम्रो थियो, तर, सोचेजति आएनन्,’ उनले भने। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम बलियो नहुँदा विदेशी हवाई कम्पनीले मनलाग्दी भाडा तोकेर उडान गर्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।

‘विदेशी कम्पनीले आफू अनुकूल भाडा राखेर उडान गरेका छन्। नेपाल वायुसेवा अब्बल भएर राम्रा गन्तव्यमा उडान गर्न पाए बल्ल प्रतिस्पर्धा बढ्न गई पर्यटकलाई भाडा सस्तो पर्दथ्यो, तर, नेपाल वायुसेवा कमजोर हुँदा मारमा हामी परेका छौं,’ उनले भने, ‘राष्ट्रिय ध्वजाबाहकले धेरै ठाउँमा उडानको पहुँच नराख्ने र विदेशी हवाई कम्पनीका भरमा पर्यटक चलाउन खोज्दा सहज छैन।’

प्रकाशित: १६ भाद्र २०८० ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App