२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मध्यपहाडी सडक अझै एक तिहाइ बाँकी

पूर्वपश्चिम राजमार्गको विकल्पस्वरूप अघि सारिएको पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माणको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। सरकारले स्वदेशी पुँजीमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइफलाइनको रूपमा अघि सारेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणको काम साह्रै सुस्त छ।

सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको थियो। निर्माण सुरु गरेको चार वर्ष लगत्तै आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिएको थियो। स्वदेशी लगानी र धेरै प्रतिफल प्राप्त गर्ने उद्देश्यले निर्माण अघि सारेको योजनाको प्रगति भने बिर्सनलायक छ। आयोजनाको कुल लम्बाइ १८७९ किलोमिटर रहेको छ।

सडक विभागको वार्षिक प्रतिवेदन २०७९/८० अनुसार आयोजनाबाट ९४० किलोमिटर र अन्य निकायबाट ४६२ किलोमिटर गरेर कुल १४०२ किलोमिटर सडक कालोपत्रे भएको छ। अर्थात् राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएपछि निर्माण सुरु भएको पनि १२ वर्ष बितिसक्यो।

सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको थियो। निर्माण सुरु गरेको चार वर्ष लगत्तै आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिएको थियो।

आयोजनाको समष्टित भौतिक प्रगति  ७२.७० प्रतिशत र वित्तीय प्रगति ७६.८० प्रतिशत छ। यो आयोजना अन्तर्गत १३७ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। अहिलेसम्म १०२ वटा पुल निर्माण सम्पन्न भएको छ। आयोजनाको सुरुवाती लक्ष्य अनुसार काम सम्पन्न भएको भए यो आयोजना २०६४/६५ मा सुरु भएर आव २०७३/७४ भित्रै सम्पन्न हुनुपर्ने थियो।

बजेट अभाव, ठेकेदार कम्पनीको ढिलासुस्ती र सडकको अधिग्रहण र मुआब्जा जस्ता समस्याले काम अघि बढ्न सकेन्। सरकारले दोस्रो पटक आयोजनाको निर्माण सम्पन्न हुने समयसीमा आव २०७९/८० लाई तोक्यो। त्यो आवमा पनि आयोजना निर्माण सम्पन्न हुन सकेन्।

बजेट अभाव, ठेकेदार कम्पनीको ढिलासुस्ती र सडकको अधिग्रहण र मुआब्जा जस्ता समस्याले काम अघि बढ्न सकेन्।

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले गत आवमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग वार्षिक लक्ष्यको ७३.६८ प्रतिशत भौतिक प्रगति हासिल गरेको बताए। ‘मुलुकको समग्र पुँजीगत खर्चभन्दा मध्यपहाडी राजमार्गको प्रगति सन्तोषजनक देखिन्छ,’ उनले भने।

त आर्थिक वर्षमा वार्षिक लक्ष्य ३५७ किलोमिटर सडक कालोपत्रे र १८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सो अवधिमा भने १४३ किलोमिटर सडक र  ९ वटा पुल निर्माण सम्पन्न भएको छ। आयोजनका लागि गत आवमा ७ अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो अवधिमा ५ अर्ब ९१ करोड रूपैयाँ खर्च भएको छ।

आयोजनाका अनुसार पाँचथर खण्डमा ३५ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरी धुलिखेल खण्डमा १२ किलोमिटर, गोरखा खण्डमा ४४ किलोमिटर, पर्वत खण्डमा ८ किलोमिटर र दैलेख खण्डमा ४४ किलोमिटर खण्ड सडक कालोपत्रे भयो। आयोजनाका अनुसार मध्यपहाडी राजमार्गमा ३६१ किलोमिटर सडक कालोपत्रे र २० वटा पुलनिर्माण गर्न अझै बाँकी छ।

३५७ किलोमिटर सडक कालोपत्रे र १८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सो अवधिमा भने १४३ किलोमिटर सडक र  ९ वटा पुल निर्माण सम्पन्न भएको छ।

त्यसैगरी ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन गर्न पनि बाँकी छ। सरकारले चालु आवमा तीन अर्ब ८६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। सो अवधिमा एक सय किलोमिटर सडक कालोपत्रे र १८ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ।

 ‘आयोजनाको सडक सीमा यकिन नभएकाले सडक विस्तार गर्न समस्या भइरहेको छ,’ सडक विभागको वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘जलाशययुक्त आयोजनाको प्रभाव र सडकको क्षेत्राधिकार क्षेत्रमा पर्ने जग्गाको अधिग्रहण, मुआब्जा र क्षतिपूर्तिको काम चलिरहेकै छ।’

आयोजनाका अनुसार रुख कटान, विद्युतीय पोल, खानेपानी पाइप लगायतका स्थानान्तरण प्रक्रिया जटिल तथा झन्झटिलो भएका कारणले पनि समस्या भइरहेको छ। आयोजनाका अनुसार सडक रेखाङ्कनको विवादबारे स्थानीयहरूसँग समन्वय गर्दै आइरहेको छ। सडक विभागको वार्षिक प्रतिवेदनमा आयोजनाले रेखाङ्कन विवादमा देखिएका क्षेत्रहरूको रेखाङ्कन प्रक्रिया अघि बढाउन आवश्यक काम गर्दै आइरहेको उल्लेख छ।

लागत तेब्बर बढ्यो

सरकारले आर्थिक वर्ष २०६४/६५ देखि मध्यपहाडी लोकमार्गको अवधारणा ल्यायो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेका पालामा यो आयोजना निर्माण सुरु गरिएको हो। यो आयोजना सुरु गर्दा प्रारम्भिक चरणमा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो।

सुरुवाती चरणमा यो आयोजना आव २०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो तर समयमै निर्माण सम्पन्न नहुँदा अहिले समय र लागत वृद्धि भएर झण्डै तीन गुणा हाराहारी अर्थात् ८४ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। 

प्रकाशित: १५ भाद्र २०८० ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App