१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

उदयपुरको विद्युत् महसुल ४४ करोड, बक्यौता झण्डै ४१ करोड

६ महिनायता बन्द भएको उदयपुर सिमेन्ट उद्योग। तस्बिर: महेश्वर।

उदयपुरमा झण्डै ४१ करोड विद्युत् महसुल उठ्न बाँकी छ। गत आर्थिक वर्ष ०७९/८० को बक्यौता ४० करोड ८५ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटले जनाएको छ।

सो बक्यौता सदरमुकाम गाईघाट र मातहतका विभिन्न उपशाखाबाट उठ्न बाँकी रकम हो। जस मध्य ठुलो परिमाणको बक्यौता ३६ करोड उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले तिर्न बाँकी रहेको वितरण केन्द्र प्रमुख विजयबाबु खत्रीले बताए। खत्रीका अनुसार गत असार २९ गते उद्योगले १ करोड बुझाएर बाँकी रहेको ३६ करोड अहिलेसम्म बुझाएको छैन। उद्योगले बुझाउन बाँकी सो बक्यौतामध्ये केही अंश भने ‘डेडिकेटेड फिडर’ लाइनको महसुल हो।

केही वर्षअघि लोडसेडिङको मारबाट उद्योगलाई बचाउन सरकारले ‘डेडिकेटेड फिडर’ लाइनको व्यवस्था गरेको थियो। राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने नीति अनुरूप उद्योगहरुलाई ‘डेडिकेटेड फिडर’ को सुविधा उपलब्ध गराएकोमा अहिलेसम्म सुविधाबापत दिएको महसुल सरकारले मिलान नगर्दा महसुल हर्जाना र व्याजले दोब्बर तेब्बर थपिँदै गएको छ।

प्राधिकरणको नियम अनुसार विद्युत् महसुल ६ महिनासम्म नबुझाए बक्यौता परिमाणको २५ मासिक प्रतिशतका दरले हर्जाना र व्याज जोडिँदै जाने प्रावधान छ। साउन र भदौमा नबुझाउँदा ३६ करोडको हर्जाना र व्याज मासिक ९ करोडका दरले थपिँदै जाने खत्रीले बताए।

प्राधिकरणले वितरण केन्द्र गाईघाटसँगै बेलटार र कटारी उपशाखामार्फत पनि करोडौँ बक्यौता उठ्न बाँकी छ। चौदण्डीगढीको बेलटार उपशाखामार्फत १ करोड ४५ लाख ४० हजार ९ सय ५५ बक्यौता उठ्न बाँकी छ भने कटारी उपशाखामार्फत १ करोड १९ लाख ६३ हजार ६ सय ७३ बक्यौता रहेको खत्रीले बताए। 

जसमध्ये कोभिड कहरमा सरकारले दिने घोषणा गरेको छुट सुविधाबापतको रकम पनि मिलान गर्न बाँकी छ। कोभिड सुविधाबापत गाईघाट वितरण केन्द्रको १ करोड ६९ लाख, कटारीको ५८ लाख १८ हजार र बेलटारको ६५ लाख ५४ हजार ७२ रुपैयाँ मिलान गर्न बाँकी रहेको छ। सो मिलानका लागि प्राधिकरण संघीय कार्यालयले ऊर्जा मन्त्रालयसँग समन्वय गरिरहेको खत्रीले बताए।

प्राधिकरणको सडक बत्तीको महसुल पनि उठ्न बाँकी छ। सडक बत्तीतर्फ त्रियुगा नगरपालिकाले मात्र १ करोड ८६ लाख महसुल बुझाउन बाँकी छ। नगरपालिकाले नियमित महसुल नबुझाएकाले बक्यौता बढ्दै गएपछि पत्राचार गरेर ताकेता गरिरहेको खत्रीले बताए। उनका अनुसार उदयपुरमा १ सय ६७ वटा सडक बत्तीमध्ये त्रियुगामा मात्र १ सय ३० वटा जडान भएका छन्। उपशाखा बेलटारमातहत चौदण्डीगढी नगरपालिका ३१ वटा सडक बत्ती छन् भने कटारी नगरपालिकामा ५ वटा मात्र रहेको खत्रीले सुनाए।

बेलका नगरपालिकामा भने उपभोक्ताले प्राधिकरणमातहत नभएर एकीकृत ग्रामीण ऊर्जा विकास केन्द्र (संस्था) रामपुरमार्फत विद्युत् वितरण गरेर उपभोग गरिरहेका छन्। बेलकामा ६ हजार ५ सय ग्राहक रहेको र सबै उपभोक्तालाई केन्द्र आफैले विद्युत् वितरण र नियमन गर्दै आएको छ।

गत वर्ष ४४ करोड महसुल

प्राधिकरणले आर्थिक वर्ष ०७९/८० मा ४४ करोड २७ लाख ९ हजार ८१ महसुल संकलन गरेको छ। यो परिमाण आर्थिक वर्ष ०७८/७९ को दाँजोमा ८ करोड ९ लाख ७ हजार ५ सय ८७ रुपैयाँले कमी हो।

अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ५२ करोड ३६ लाख १६ हजार ६ सय ६८ रुपैयाँ संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष महसुल घट्नुमा उदयपुर सिमेन्ट उद्योग धराशायी भएर हो।

प्राधिकरणका लेखापाल राजन राईका अनुसार उदयपुरमा रहेका उपभोक्तामध्ये उसिउलि सबभन्दा बढी विद्युत् खपत गर्ने र महसुल बुझाउने संस्था हो। जिल्लामा संस्थागत, सामुदायिक र निजी गरी जम्मा ग्राहक संख्या ६० हजार ६३ रहेकोमा उसिउलि एउटैले मासिक १ करोड हाराहारीको विद्युत् खपत गर्दै आएको छ। तर, झण्डै १ वर्षदेखि पटक पटक उद्योग बन्द हुँदै खुल्दै गरेकोमा लगभग ६ महिनायता ठप्प भएपछि विद्युत् खपत घट्दा प्राधिकरणको महसुल संकलनमा पनि गिरावट आएको राईले बताए।

लेखा अधिकृत राईका अनुसार गाईघाट वितरण केन्द्र अन्तर्गत २९ हजार २ सय ९५ ग्राहक रहेका छन्। त्यस्तै कटारी उपशाखामातहत १६ हजार ३ सय ३५ र बेलटारमातहत १४ हजार ४ सय ३३ ग्राहक संख्या रहेका छन्।

बेलका एकीकृत ग्रामीण ऊर्जा विकास केन्द्रमातहत ६ हजार ५ सय ग्राहक रहेका छन्। यो सङ्ख्याभित्र सरकारी, सामुदायिक, संस्थागत र व्यक्तिगत सबै खाले ग्राहक समेटिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष ११ हजार १ सय २८ ग्राहक बढेका छन्। आर्थिक वर्ष ०७८/७९ मा ४८ हजार ९ सय ३५ ग्राहक रहेका थिए।

प्रकाशित: १४ भाद्र २०८० ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App