८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भदौ २३ मा पोखरा आउँदै ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्ने भएको छ। आगामि सेप्टेम्बर ९ (भदौ २३) मा जहाज पोखरा आउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ। पोखरामा ड्रुकको जहाज अवतरणपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दोश्रो अवतरण हुनेछ।  

यसअघि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सिचुआनको जहाजपछि ड्रुक आउन थालेको हो। सिचुआनको पनि चार्टर्ड उडान थियो। ड्रुकले उडान गरेपनि यो चार्टर्ड हुनेछ। नियमित उडानको भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द भुलले ड्रुकले चार्टर्ड उडान गर्न थालेको जानकारी दिए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्नका लागि प्राधिकरणबाट ड्रुकले स्वीकृत पाएको छ। भुलका अनुसार पारोबाट पोखरा आएको जहाज त्यहिदिन पोखराबाट सिधै पारोका लागि उडान भर्नेछ। न्यारोबडी जहाजले यहाँ उडान भर्ने उनले बताए। पोखरामा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको गुनासो आइरहँदा ड्रुकले गर्ने यो चार्टर्ड उडानले आगामि दिनमा थप उडानका लागि बाटो खुल्ने प्राधिकरणको भनाई छ।

अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। उद्घाटनपछि नियमित अन्तर्राष्ट्रिय उडानको अपेक्षा पोखरेलीले गरेको भएपनि अहिलेसम्म नियमित हुन सकेको छैन। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटनले लाभ पाउन नसकेको पोखरेलीको भनाई छ। अहिलेसम्म आन्तरिक उडानमा मात्र यो विमानस्थल सिमित रहेको छ। जतिसक्दो छिटो पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोड्नेगरि उडान थाल्ने पहल गर्न व्यावसायीले सरकारलाई अनुरोध पनि गरिरहेका छन्।

पोखराका पर्यटन व्यावसायीले भुटानबाट हुने यो चार्टर्ड उडानले पर्यटन क्षेत्रमा उत्साह थपेको बताएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भुटानको चार्टर्ड उडानले अरु अन्तर्राष्ट्रिय उडानका लागि पनि बाटो खुल्ने बताए।

‘पोखराले अन्तर्राष्ट्रिय उडानको माग गरेको लामो समय भईसक्यो। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमै सिमित थियो। व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान गर्नुपर्ने माग राख्दै आएका थिए,’ उनले भने, ‘यस्तौ चार्टर्ड उडानबाटै नियमित उडानको बाटो खुल्ने हो। अरु मुलुकका हवाई कम्पनिलेपनि पोखरासम्म चार्टर्ड उडान गर्न सक्नेछन।’ व्यावसायीले नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरासम्म आउने पर्यटकलाई सकस भईरहेको गुनासो सुनाईरहेका छन्।  

प्रकाशित: १३ भाद्र २०८० ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App