१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

पथलैया-कमला सडक खण्ड

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ। तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको दुई लेनको पथलैयादेखि सिराहाको कमला नदीसम्मको सडक खण्डलाई विश्व बैंकको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउन लागिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत एक सय ३० किलो मिटर सडकलाई कमला–ढल्के र ढल्के पथलैया दुई प्याकेजमा गरेर अहिले सडकको डिपिआर निर्माण गर्ने कार्य भइरहेको कमला–ढल्के–पथलैया सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले बताएका छन्।

योजना अन्तर्गत निर्माण हुने एक सय ३० किलो मिटर सडक जंगलक्षेत्रमा २७ मिटर चौडाइ र शहरीक्षेत्रमा ५० मिटरको चौडाइ रहने पाण्डेले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजानिक सुनुवाइ गरेर स्थानीयबाट राय, सुझाव समेत लिइएको पाण्डेले बताए। बस्ती र शहरीक्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडक पेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू अगाडि बढाइएको पाण्डेले बताए।

अन्य स्थानहरूमा सडकको दुबैतर्फ सडक निर्माण गरिने छ। एउटा लेन ३.५ मिटरको हुने उनले बताए। सडकको दुबै छेउमा रुख विरुवा र फूल रोपिनेछ। दायाँबायाँ साढे दुई मिटरको अतिरिक्त पिच गर्ने योजना रहेको सार्वजनिक सुनवाई कार्यक्रममा बताइएको थियो। सडकमा गुड्दै गरेको सवारी बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्था समेत गरिने पाण्डेले बताए।

यस सडक खण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानो ठूलो गरेर ७२ वटा पुलहरू पनि निर्माण गरिने पाण्डेले बताए।

साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सबबेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने बताइएको छ । हाल सञ्चालनमा रहेको कज वे लच्का हटाइने र आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गरिने योजना पनि रहेको छ।

पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गर्ने योजना सडक विभागको रहेको छ। विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको कार्यक्रममा सहभागी विज्ञ तथा प्राविधिकले बताएका छन्। सडक सीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहितका काम सडक विभागले अगाडि बढाइसकेको छ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजानिक सुनुवाइ गरेर स्थानीयबाट राय, सुझाव समेत लिइएको पाण्डेले बताए।

सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई बन्दना आचार्यले पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तरवृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाउने प्रक्रिया सुरु गरिएको बताएकी छिन्। विश्व बैंकको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको पनि उनले बताइन्। ३० हजार ८ सय ७१ साना ठूला रुख कटान गर्ने, प्रति रुख दश वटाका दरले ३ लाख ८ हजार २ सय ७० विरुवा रोपिने विभागले जनाएको छ।

सडकसँग सरोकार राख्ने स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीको क्षमताको आधारमा सडक निर्माणको जिम्मा दिन सार्वजनिक सुनवाईमा सडक विभागको विज्ञ टोलीसँग आग्रह गरेका थिए। चार लेन सडकको रूपमा विकास गर्न लागिएको यस राजमार्गमा दैनिक हजारौ संख्यामा सवारी साधन आवत जावत हुने गरेको छ।

लगभग ६० वर्ष पहिला निर्माण गरिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग सवारी साधनको चापले साँघुरो बन्दै गएपछि र सवारी दुर्घटनाको कारणले ठूलो संख्यामा बर्सेनि भैरहेको मानवीय क्षतिमा कमी ल्याउन चार लेनको सडक बनाउन वर्षौंदेखि विज्ञहरूले सुझाव दिँदै आएका थिए। 

प्रकाशित: १३ भाद्र २०८० ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App