१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उत्साहजनक छैन सिजनको होटल बुकिङ

व्यावसायी भन्छनः बुकिङ आउनको साटो रद्द हुन थाल्यो

पोखरा घुम्न आएका विदेशी पाहुना। आगामि सिजनका लागि उत्साहजनक बुकिङ नआएको पर्यटन व्यावसायीले बताएका छन्। फाइल तस्बिरः नागरिक

आगामि महिना (सेप्टेम्बर) मध्य देखि पर्यटन क्षेत्रमा मुख्य सिजन सुरु हुन्छ। पाहुना कम हुने भएकोले अहिलेको समयलाई व्यावसायीले अफसिजन भन्ने गरेका छन्। व्यवसायीका अनुभवमा कोरोना भाइरस संक्रमण अघिको यो बेलासम्म सिजनको होटल बुकिङ सतप्रतिशत माथि पुगिसकेको हुन्थ्यो। सतप्रतिशत माथि पुगेको बुकिङले व्यावसायीलाई ढुक्क बनाउने गरेको थियो।  

तर, अहिले भने सिजनका लागि होटल बुकिङ अझै आईसकेको छैन। सिजनको बुकिङको आकार निकै नै कमजोर रहेको व्यावसायीको भनाई छ। लामो समयदेखि पाहुना नपाएका व्यावसायीले आगामि सिजनसँग निकै नै राम्रो अपेक्षा राखेका थिए। तर अपेक्षा अनुसारको अग्रिम बुकिङ आउन नसकेको उनीहरुको भनाई छ। सिमित बुकिङ पनि कुन महिना रद्द हुने भन्ने यकिन नहुने उनीहरुको भनाई छ।

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय मुख्य सिजन अक्टोवर–नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको थियो। डिसेम्बरदेखि केही कम हुने पाहुना आगमन फेब्रुअरीपछि पनि उकालो लाग्ने गरेको थियो। तर, कोभिडका कारण ओरालो लागेको पर्यटन क्षेत्र सोचे अनुरुप अझै उकासिन नसकेको व्यावसायीको भनाई छ। सिजनको बुकिङको आकार निकै नै कमजोर रहेको उनीहरुको भनाई छ।

मझेरी रिजोर्ट एण्ड स्पाका महाप्रबन्धक गुप्त गिरी भन्छन, ‘सिजनको बुकिङको अवस्था साह्रै कमजोर रहेको छ। अहिले बढीमा ४० प्रतिशत मात्र अग्रिम बुकिङ होला, नत्र पाहुना आउने छाँटकाँट छैन।’ उनका अनुसार पोखराको तुलनामा काठमाडौंका होटलको सिजनको अग्रिम बुकिङको अवस्था राम्रो छ। ‘नेपालमा पाहुना नै नआएका होइनन, तर, स्थलमार्गको झन्झटिलो यात्राले गर्दा पाहुनाहरु पोखरा आउनै चाहेनन,’ गिरीले भने, ‘सिजनमै पाहुना नआए पर्यटन क्षेत्र झनै मर्कामा पर्नेछ।’  

उनका अनुसार अहिले काठमाडौं ओर्लेका पर्यटक पोखरा आउन रुचाउँदैनन। स्थलमार्ग निकै नै खराब रहेको र हवाई मार्गप्रति विदेशी पाहुनाको उत्तिसारो विश्वास छैन। त्यसबाहेक आन्तरिक पाहुनाको हिडडुल पनि निकै नै कमजोर रहेको छ।

‘कोरोना अघिको यो समयमा हामी सतप्रतिशत भन्दा बढी बुकिङ लिएर बस्दथ्यौं, केही पाहुनाले यात्रा रद्द गरिहाले पनि सतप्रतिशत नाघेको बुकिङले खासै अप्ठ्यारो पार्दैनथ्यो, तर,अहिले भने निकै नै तल्लो तहमा बुकिङ छ,’ उनले भने।

‘आन्तरिक पाहुना पनि अत्यावश्यक बाहेकका कामले हिडडुल गर्दैनन,’ उनले भने, ‘हवाई भाडाले गर्दा आन्तरिक पाहुनालाई पनि असर पारेको छ।’ गिरीका अनुभवमा यो बेला स्पेनिस पाहुना आउनुपर्ने हो, तर, आएका छैनन। त्यसबाहेक भारतीय पाहुना पनि आएका छैनन, चिनियाँ पनि आएनन। ‘यो बेलासम्म सिजनको बुकिङ राम्रो हुनुपर्ने हो। अक्टोवर–नोभेम्बरका लागि १ सय ३० प्रतिशतसम्मको बुकिङ आइसक्थ्यो, तर, आएकै छैन,’ उनले भने।  

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार भारतीय पाहुनाले त अहिले नेपालको यात्रा नै रद्द गर्न थालेका छन्। ‘भारतीय पाहुनालाई नेपालको स्थलमार्गबारे जानकारी छ। त्यसैले उनीहरु नेपाल आउन चाहँदैनन। आउने तयारीका रहेका पाहुनाले पनि यात्रा रद्द गर्न थालेका छन,’ केसीले भने,‘सिजनको मुखको पर्यटन व्यवसाय सुनसान जस्तै छ।’  पर्यटकीय सिजन मध्य सेप्टेम्बरबाट सुरु हुने भएपनि अहिलेसम्मको अवस्था हेर्दा पाहुना आउने संकेत उत्तिसारो नदेखिएको उनले बताए।

‘विदेशी पाहुनाले पनि नेपालको यात्रा रुचाएनन। भारतीले त यात्रा नै रद्द गरेका छन,’ उनले भने, ‘स्थलमार्ग यतिसम्म अप्ठ्यारो छ की आएका पाहुना पनि ‘इरिटेट’ हुन थालेका छन।  जसोतसो आएका पाहुना होटलमा बसेर बाटोमा खेपेको दुखेसो पोख्छन।’ पोखरासम्मको यात्रा साह्रै कठिनपूर्ण बन्दै गएको उनले बताए।  

‘पोखरा–मुग्लिन राजमार्ग बिस्तारमा भएको ढिलाई र लाग्ने समयले गर्दा अहिले भारतीय पर्यटन बजार नै नेपालको यात्रासँग तर्सेको छ,’ उनले भने, ‘भारतीय पाहुना नेपाल आउन नचाहनुमा अर्काे कारण मुद्राको झन्झटले पनि हो।’ उनका अनुसार कोरोना अघिको अवस्थामा त कुनै बेला नेपालको मुख्य सिजनका लागि पर्यटकले डेढ–दुइवर्ष अघि नै बुकिङ गर्दथे। तर, अहिले सिजनको मुखमै पनि उत्साहजनक अवस्था नरहेको केसीले बताए।  

‘अहिले त अक्टोबर अगाडि विदेशी पाहुना आउने अवस्था देखिन्न। अक्टोबरसम्म कुर्नुपर्ने अवस्था छ। सिजन पनि ढुक्कको हुन सकेन,’ उनले भने, ‘पहिलो पहिलो सिजनको बुकिङ अब्बल हुन्थ्यो र हामीलाई पाहुना आउनेमा ढुक्क लाग्थ्यो। तर, अहिले त पर्याप्त पाहुना आउने गरि बुकिङ नै छैन। कमजोर बुकिङले पर्यटन क्षेत्र निराश छ।’  

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष समेत रहेका माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि पर्यटन क्षेत्र सिजनसँग उत्तिसारो आशावादी नरहेको बताउँछन। ‘सेप्टेम्बर आधासम्म त खासै पाहुना आउने संकेत नै छैन। त्यसपछि अक्टोवरमा केही पाहुना आउने अपेक्षा हो। अक्टोवरका लागि केही बुकिङ आएको पनि छ,’ उनले भने, ‘तर, त्यो बुकिङको आकार पनि उत्साहजनक होईन।’ 

उनका अनुसार अपेक्षा अनुसार चिनियाँ पाहुना पनि यो बेला आएनन। भारतीय पाहुनाको आगमन पनि उत्साहजनक देखिएको छैन। ‘बाटोका कारण भारतीय पाहुना आएनन। आन्तरिक पनि बाटोकै कारण हिड्न रुचाएनन,’ भट्टराईले भने, ‘विदेशी पनि सोचेजति आएका छैनन। काठमाडौं आएका पाहुना पनि पोखरासम्म आउन रुचाएनन।’  

भट्टराईका अनुसार २०१९ भन्दा अगाडि सिजनको बेलाको बुकिङ राम्रो आउने गरेको थियो। कोभिडका कारण २०१९ पछि ओरालो लागेको पर्यटन क्षेत्र उकासिनै नसकेको उनले बताए। कोभिड अघि यो बेलासम्म सिजनका लागि राम्रो बुकिङ आउँदा पर्यटन क्षेत्र ढुक्कले बस्ने गरेकोमा अहिले त्यो हुन नसकेको उनले बताए।

 ‘सिजनको बुकिङ सतप्रतिशत कट्ने अवस्था नै रहन्न। पाहुना आउने त परैको कुरा, बुकिङ पनि आएन,’ उनले भने । आर्थिक मन्दीले गर्दा पनि पाहुना हिडन नसकेको भट्टराईको भनाई छ। केहीगरि आइहालेका पाहुनाले पनि पर्याप्त खर्च गर्न नसकेको उनले बताए।  

पर्यटन क्षेत्र उकास्नेगरि योजना नै बन्न नसक्दा समस्या परेको उनले बताए। ‘पाहुना कसरी आकर्षण गर्ने भन्ने योजना नै बन्न सकेन। गण्डकी प्रदेशमा किन घुम्न जाने भनेर पर्यटकलाई बुझाउने प्रयास नै भएन,’ उनले भने, ‘गण्डकी प्रदेशमा घुम्न आउनेगरि आकर्षक प्याकेज पनि कतै केही भएन, सरकारले पनि त्यो खालको गृहकार्य गर्न सकेन।’ केही सहुलियत दिएर भएपनि पर्यटक आकर्षण गर्न योजना बनाउनुको विकल्प नरहेको उनले बताए।  

प्रकाशित: १० भाद्र २०८० १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App