२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आयात र निर्यात दुवैमा गिरावट

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा साउनमा वस्तु आयात तथा निर्यात दुवैमा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९-८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा आयात १.५६ प्रतिशत र निर्यातमा ८.६५ प्रतिशतले गिरावट आएको हो।  

भन्सार विभागका अनुसार गत आवको साउन महिनामा भने एक खर्ब ३१ अर्ब २८ करोड रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो। चालु आवको पहिलो महिना साउनमा भने एक खर्ब २९ अर्ब २३ करोडको वस्तु तथा सामान आयात भएको छ। गत आवको तुलनामा चालु आवमा १.५६ प्रतिशतले गिरावट आएको हो।  

चालु आवको पहिलो महिनामा निर्यातमा पनि कमी आएको छ। गत आवको साउनमा १४ अर्ब ८० करोड रूपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो। चालु आवको साउन महिनामा भने १३ अर्ब ५२ करोड ८६ लाख रूपैयाँको वस्तु तथा सामान निर्यात भएको छ। गत आवको तुलनामा चालु आवमा निर्यातमा ८.६५ प्रतिशले गिरावट आएको छ। गत आर्थिक वर्षको साउन महिनामा वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड रूपैयाँ रहेको थियो।  

चालु आवको साउन महिनामा वैदेशिक व्यापार घाटा भने एक खर्ब १५ अर्ब ७१ करोड रूपैयाँ पुगेको छ। गत आवको साउन महिनाको तुलनामा चालु आवको पहिलो महिनामा भने व्यापार घाटा ०.६६ प्रतिशतले घटेको छ। गत आवको साउन महिनामा कुल वैदेशिक व्यापार एक खर्ब ४६ अर्ब रूपैयाँको भएको थियो भने चालु आवको साउन महिनामा एक खर्ब ४२ अर्ब रूपैयाको भएको छ।  

गत आवको साउन महिनाको तुलनामा चालु आवमा कुल वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ। गत आवको साउन महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.१४ प्रतिशत र आयातको हिस्सा ८९.८६ प्रतिशत रहेको थियो। चालु आवको साउन महिनामा भने आयातको हिस्सा ९०.५२ प्रतिशत र निर्यातको हिस्सा ९.४८ प्रतिशत रहेको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा समग्रमा मुलुकको वैदेशिक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको हो। गत आवमा मुलुकको वैदेशिक व्यापार साढे तीन खर्ब रूपैयाँले खस्किएको छ। आर्थिक २०७८-७९ मा मुलुकको कुल वैदेशिक व्यापारमा २१ खर्ब २० अर्ब रूपैयाँ रहेकोमा गत आव २०७९-८० मा तीन खर्ब ५२ अर्ब खुम्चिएर १७ खर्ब ६८ अर्बमा सीमित भएको छ। कुल वैदेशिक व्यापार १६.५८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट आएको छ। भन्सार विभागका अनुसार गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँको वस्तु तथा सामान आयात हुँदा नेपालबाट एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको थियो  ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विदेशी डलर सञ्चितिको अभाव भएको भन्दै सुविधा सम्पन्न सवारी साधन र अन्य बहुमूल्य धातुमा प्रतिबन्ध लगाएको थियो। जसको कारणले गत आर्थिक वर्षमा विदेशी मुलुकबाट हुने आयातमा पनि केही कमी आएको हो। पोहोरको तुलनामा गत आर्थिक वर्षमा आयात तीन खर्ब नौ अर्ब रूपैयाँले खुम्चिएको छ।

आर्थिक वर्ष २०७८-७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो तर गत आर्थिक वर्ष २०७९-८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ। गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत रहेको छ भने आयातको हिस्सा भने ९१.१२ प्रतिशत रहेको छ। अघिल्लो आवमा भने निर्यातको हिस्सा भने ९.४३ प्रतिशत र आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको थियो। गत आर्थिक वर्षमा आयात मात्रै होइन, निर्यात पनि धेरै खस्किएको छ।  

अघिल्लो आर्थिक वर्षमा दुई खर्ब रूपैयाँको निर्यात भएको थियो। सोही आवको तुलनामा गत आवमा भने निर्यातको हिस्सा २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्ब रूपैयाँको नेपाली वस्तु तथा सामान विदेशमा निर्यात भएको हो। गत आर्थिक वर्षमा आयातको हिस्सा ९०.५७ प्रतिशत र निर्यातको हिस्सा भने ९.४७ प्रतिशत रहेको छ।  

आव २०७८-७९ मा नेपालको विदेशी मुलुकहरूसँगको व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी मुलुकसँगको व्यापार घाटा पनि १५.४५ प्रतिशत अर्थात् २ खर्ब ६६ अर्ब रूपैयाँ घटेको छ। गत आर्थिक वर्षमा विदेशी मुलुकसँगको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रूपैयाँमा खुम्चिएको छ।

प्रकाशित: ७ भाद्र २०८० ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App