१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट-१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ। भिरालो र नांगो जमिन अहिले सुन्तालाको बगैंचाले हरियाली मात्र भएको छैन, भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयार समेत हुँदैछ।

चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैंचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ। टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उनले २०७५ सालबाट व्यावासायिक रूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका छन्।

‘चौध रोपनीबाट सुरु गर्नुभएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौं’, उनले भने।

एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती-१ लगाउन धेरैले सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावसायिक रूपमा फलफूल खेती सुरु गरेको किसान रेग्मीले बताए।

‘सुन्तला बगैंचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती-१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिची लगायत फलफूल रहेका छन्’, उनले भने, ‘यो सिजनमा सुन्तला र सुनकागती-१ को बिक्रीबाट १० लाख रुपैयाँ आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ।’

सुन्तला बगैंचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मंसिरको १५ देखि पुससम्मका लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताए।

‘जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छु’, उनले भने, ‘अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैंचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन्।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिंचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराबारे सहजै सल्लाह-सुझाव पाउँदा व्यावसायिक खेती बढाउन र पेसामा टिक्न ऊर्जा मिलेको उनले बताए।

पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चालन भएसँगै स्थानीयले रोजगारी समेत पाएका छन्। ‘पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ’, उनले भने, ‘कामदार प्रयोग गर्दा सबै यहीं गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छौं।’

कोदो र मकै मात्र लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तला खेती हुन्छ भन्ने विश्वास नै थिएन।

‘रेग्मी सरको टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो’, स्थानीय युवबहादुर सारुले भने।

बसेनीमा सुन्तलाको बोट सप्रिंदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह-सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैंचा बनेको सारुले बताए। यहाँको दोडेटोलका किसान पनि मकै र कोदो छोडेर सुन्तला लगाउन थालेका छन्।

‘बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु’, सारुले भने, ‘पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैं दंग परिरहेको छु।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तलाको बगैंचा अवलोकनमा जाँदा यहीं माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताए।

परियोजनाले जिल्लामा २०७५ सालबाट सुन्तला जातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो। सुरुमा तीन सय ३१ हेक्टरमा हुँदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए।

‘जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैंचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ’, उनले भने।

जिल्लामा सुन्तलाको सबैभन्दा धेरै बगैंचा भएको क्षेत्र नै गैंडाकोट-१८ रहेको उनले बताए।

‘यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्’, उनले भने। जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैंडाकोट-१८, देवचुली-६, हुप्सेकोट-५ र मध्यविन्दु-८ र १५ मा सुन्तला जात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ। कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App